लेखनाथ, १४ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव ११ करोड बढिको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सव अन्तिम दिन सोमबार सम्म आईपुग्दा ११ करोड २० लाखको कारोबार गर्न सफल भएको र ३ लाख ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको मेलाका प्रचार प्रसार संयोजक ध्रुववावु भटृराईले जानकारी दिए ।
सोमबार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा आसपासमा सञ्चालन हुने महोत्सवलाई नजुधाउने गरी महानगरले सहजिकरण गर्दै आएको उल्लेख गर्दै साविक लेखनाथ क्षेत्रको विकासका लागि बेगनासतालमा वाटर स्पोर्टस सञ्चालन गर्ने योजनालाई अगाडि वढाउनका लागि स्थानीयहरुको साथ सहयोगको अपेक्षा गरे ।
कार्यक्रमा रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राखेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले साविक लेखनाथ क्षेत्रको विकासका लागि यहाँ रहेका सामाजिक संघ सस्था र उद्योग ब्यवसायि वसेर एकिकृत विकासका योजना वनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताउँदै सम्पूर्ण लेखनाथभित्रका संघ संस्था, व्यवसायीहरु, विभिन्न जात जातिहरु, आमा/महिला समूहहरू र समग्रमा सम्पुर्ण लेखनाथवासीहरुको एकताका कारण महोत्सव सफल भएको बताईन ।
कार्यक्रममा विभिन्न विधामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने व्यवसायी, दर्शक एवं कलाकारलाई सम्मान गरिएको थियो । संघका अध्यक्ष जानुका अधिकारीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले गरेका थिए ।