३० वर्ष बाझिएको खेतमा सामुहिक कफी खेती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अस्मिता खनाल, पोखरा । 

पारीपट्टी बाह्रैमास पलाइरहने नौधारे मूल, वारिपट्टी तरेली परेका गह्रा । ३ दशक अघिसम्म लहलह धान झुल्ने ‘टौजे’ र ‘छोगोले’ का यी उर्वर गह्रामा ४ वर्ष यता कफीका विरुवा हुर्कदैछन् । ‘३० वर्ष बाझोँ बसेको खेत हो यो, एकदमै खेतीयोग्य जग्गा थियो, पहिले मुरी–मुरी धान लैजान्थ्यौ, अब मुरी–मुरी कफी लैजाने योजनामा छौं ।’ पोखरा महानगरपालिका वडा नं. १६ स्थित नौधारे रिंजे कफी कृषक समूहका अध्यक्ष लक्षु बहादुर गुरुङले सुनाए । उनका अनुसार, गाउँलेहरु सुख–सुविधा र रोजगारको खोजीमा विदेश जाने, बजार झर्ने लहर चलेपछि रिजें गाउँ सुनसान बन्दै गयो । रिजें गाउँका २० घर गुरुङ्ले अर्मपर्म गर्दै धान, मकै, भट्टमास फलाउने टौजे र छोगोलेका गह्राहरु झाडीले पुरिन थाले । पहिले खेतका डिल र कान्लाहरुमा घाँसका रुख मात्र थिए, अब खेतैमा रुख हुर्कन थाले, खेत विस्तारै जंगल जस्तोे देखिन थाल्यो । 

खेत बाझोँ भएको ३० वर्षपछि राजकुमार गुरुङ र उनका साथीहरुलाई बाझोँ खेतलाई फेरि हराभरा बनाउने विचार आयो । गाउँ, शहर हुदैं विदेशसम्म छरिएका गाउँलेलाई एकीकृत गर्ने प्रयास थाले । राजकुमारले भने ‘अहिले त रिजें गाउँमा ८ घर मात्रै छ । गाउँमा मान्छे थोरै भएपनि बजारमा झरेर बसेका मान्छेलाई समेत खबर गर्यौ । विदेशबाट फर्किएका, पोखरामा पेशा/व्यवसाय गरिरहेका सबै दाजुभाईलाई समेटेर छलफल गर्दा कफी लगाउने भनेर एकजुट भैयों ।’ राजकुमार गुरुङ्ले सुनाए ‘गाउँलेको नम्बरी जग्गा, तर कसको जग्गा कति छ भनेर हिसाब गर्ने भन्दा पनि फालिएको जग्गा, सदुपयोग हुने भयो भनेर सबै खुशी भए’।

तर कफीको खेती उनीहरुका लागि नयाँ खेती थियो । सुरुवात गर्नुभन्दा पहिला कफी विकास बोर्डमा गएर सल्लाह लिए । माटो परीक्षण गरी कफी खेतीका लागि जमिन योग्य भएको थाहा पाएपछि ०७८ सालमा नौधारे रिजें कफी कृषक समूह स्थापना गरी २० घरको १०० रोपनी जग्गामा सामुहिक कफी खेतीको लागि काम शुरु भयो । 

‘कसैले झाडीँ फाड्यौ, कसैले खाल्डो खन्यौ, कसैले खाजा बनायौं, कोही त गीत बजाएर नाच्यौ पनि, सबै मिलेर काम गर्दा थकाई भन्दा वढि रमाईलो भयो।’ समूहका सचिव सन्तोष गुरुङ्ले सम्झिए । ‘धान लगाउँदा सम्म कान्लामा अलिअलि घाँसका रुखहरु मात्रै थिए । वन भन्ने कुरा त माथि माथि मात्रै थियो नि, बाझोँ बसेपछि यहाँपनि वन जस्तै भयो । कफीलाई छहारी कति चाहिने, घाम कति चाहिने ? प्राविधिकको सल्लाह अनुसार आवश्यक रुखहरु जोगायौं र छहारीमा कफी रोप्यौ ।’

सचिव गुरुङका अनुसार अहिलेसम्म ४ चरणमा गरेर पाकस, पाकामारा, एल्लो कटुरा जातका करिब ५ हजार कफीका विरुवा लगाइएको छ। ती मध्ये सबै भन्दा पहिले रोपिएका विरुवाहरुले गतवर्ष देखि फल दिन थालेका छन् । हालसम्म श्रम बाहेक करिब १५ लाख आर्थिक लगानी गरेको कृषक समूहलाई कृषि विकास निर्देशनालय पोखरा र चिया तथा कफी विकास बोर्ड पोखराले पनि सघाएको छ । कफी लगाएको ३ वर्षमा गतवर्षको आम्दानीबाट प्रत्येक सदस्यलाई १०/१० हजार रुपैयाँ बाँडेको सचिव गुरुङ्ले जानकारी दिए।  ‘पहिलोपटक आम्दानी लिदाँ खुशी भयौं, पहिले गोजीको पैसा लगानी ग¥थ्यौ भने पोहोर सालदेखि कफीकै आम्दानीले कफीमै लगानी थप्न पुगेको छ ।’ गुरुङ्ले भने । 


माटोदेखि कपसम्म पुग्ने लक्ष्य सहित रिजें कृषक समूहले कफी बगान संगै नर्सरी र प्रशोधन केन्द्र पनि सञ्चालन गर्न थालेको छ । नर्सरीमा १५ हजार बेर्ना सार्नका लागि योग्य भएर बसेका छन् । आगामी वर्ष बगान लाई अझै विस्तार गर्ने योजनामा समूह छ । ‘कफीको नर्सरी, बगान र प्रशोधन केन्द्रमा सबै मिलेर काम गर्दा दुःख सुख साटिन्छ, फुर्तिलो भईन्छ’ रिंजे कृषक समूहकी सदस्य योगमायाँ गुरुङले सुनाईन् ।

जल, बल र मल मिलाए फस्टाउँछ खेती 

‘बुढापाकाको अनुभव लिदाँ खेरि कृषिलाई मुख्य जरुरत चिज भनेको जल, बल र मलको आवश्यकता छ । बल छैन खन्नै सकिन्न, मल छैन विरुवा सप्रिन्न, जल छैन विरुवा हुर्कदै हुर्किदैन । यो तीन चिज परिपक्व गर्न सक्दैन भने कुनै पनि मान्छेले खेती गर्न नआँटे पनि हुन्छ ।’ अध्यक्ष लक्षु गुरुङ कफीमा तीनै चीजको सन्तुलन मिलाउन प्रयासरत रहेको बताउँछन् । उनका अनुसार बलको समस्या छैन । समूहमा आवद्व मध्ये १३ जना हप्ताको कम्तीमा ४ दिन सक्रिय रुपमा श्रममा नै खटिन्छन् । ‘खेतीले मान्छे खोज्छ, कामै नभएको बेलामा पनि हामी बगैचाँँमा आईरहन्छौ’ लक्षुले भने ‘मलका लागि गोबर, गहुँत ल्याउँछौ। जलका लागि गह्रा गह्रामा पाईपको धारो राखिएको छ।’ 

नजिकै पानीको स्रोत भएपनि सिञ्चाईको लागि व्यवस्थित गर्न नसकेको समूहका सचिव सन्तोष गुरुङ बताउँछन् । ‘पल्लोपट्टी पाखामा पहराबाट निस्किएको कहिल्यै नसुक्ने पानीको मुल छ, हामी नौधारे मुल भन्छौ । गाउँमा त्यहीबाट लगेर खानेपानीको व्यवस्था गरिएको छ, हामीले चाहिँ त्यही खानेपानीको ट्याङ्कीमा पाईप जोडेर जेनतेन सिञ्चाई गरिरहेका छौं ।’ गुरुङ्ले दिर्घकालसम्मका लागि छुट्टै सिञ्चाई योजना आवश्यक भएको बताए । ‘गाउँमा पातलो वस्ती र आफ्नै गाउँ, आफ्नै जग्गा भएकाले मात्र खानेपानीको प्रयोग गर्न पाईएको हो ।’ 

नौधारे पानीको मु्लमा सिद्व बराह देवताको बास भएको स्थानीयको विश्वास छ । रिजें गाउँका गाउँले सिद्व बराह देवता र नौधारे मुलको संरक्षण प्रति सचेत छन् । रिंजे कृषक समूहका अध्यक्ष लक्षु बहादुर गुरुङ्ले आफ्ना बाबुबाजेले सुनाएको कहानी सुनाए ‘नौधारेमा सिद्वबराहको बास छ, पानी माग्दा पानी झ¥थ्यो, पानीको मुहान वरिपरि फोहोर गरे तोडफोड गरे असिना बर्षिन्थ्यो रे,’ लक्षुले थपे ‘भगवानलाई खेलाचीँ गर्ने कुरा भएन, बाह्रैमहिना छङछङ कञ्चन पानी बग्ने नौधारे मुल सफा राख्नुपर्छ, हामी कहिल्यै फोहोर गर्दैनौ तर जुन किसिमबाट यसको प्रचार प्रसार र संरक्षण हुनुपर्थ्यो, त्यो भएको छैन, सरकारले बजेट व्यवस्था गरेर संरक्षण र सदुपयोगको  काम गर्नुपर्छ ।’ नौधारे मुल यस क्षेत्रको खेतीपातीका लागि महत्वपूर्ण छ । 

अर्गानिक कफी गाउँ बनाउने लक्ष्य 

रिंजे गाउँलाई अर्गानिक कफी गाउँ बनाउने लक्ष्य समूहको रहेको अध्यक्ष गुरुङ बताउँछन् । ‘बेलाबेला गवारो र सिन्दुरेले सताउँछ, नियन्त्रणका लागि सकेसम्म प्राङ्गारिक उपचार पद्धति अपनाउँछौ । गोबर, माटो र बालुवाको मिश्रण बनाएर विरुवाको काण्डमा पोत्ने गरिरहेका छौं,’ उनले भने । शत प्रतिशत अर्गानिक कफी प्रमाणित गरी त्यहीअनुसारको मूल्यमा बेच्ने सपना समूहको रहेको गुरुङले बताए । ‘पछिको हाम्रो लक्ष्य हाम्रो गाउँमा नै कफी महोत्सव गर्ने छ । कफी हेर्न रिंजे आउने भावना फैलियोस् भन्ने चाहना हो,’ उनले भने । कफी लगाएसंगै मानवीय उपस्थिति बढ्दा वरपरका वनमा डढेलो घटेको उनी दावी गर्छन् । ‘डढेलोको समस्या थियो, कफी लगाएपछि हामीले चोकमा बसेर चेतना फैलाउने देखि डढेलो लागिहाले निभाउन तत्काल जुटेर डढेलो नियन्त्रण गर्छौ’ गुरुङ्ले सुनाए ।

विकल्पको खेती बन्दै कफी 

रिजेंमा मात्रै होईन कफी खेती प्रति देशैभरका किसानको आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाउँछ । अन्य खेतीको तुलनामा बाँदरले कम क्षति गर्ने र बजारमा उच्च माग रहेको नगदे बाली भएकाले पनि कफी खेती विस्तार भैरहेको चिया तथा कफी विकास बोर्ड, पोखराका सूचना अधिकारी कृषि प्राविधिक नगेन्द्र सुवेदीले जानकारी दिए । 

आर्थिक बर्ष २०७१/७२ देखि २०८१/८२ सम्मको १० वर्षको तथ्याङ्कले कफी खेतीको क्षेत्र र उत्पादन दुवै बढेको देखाउँछ । आर्थिक बर्ष २०७१/७२ मा २ हजार ३८१ हेक्टर क्षेत्रफलमा कफी खेती भई ४६३.५८ मेट्रिक टन ग्रीन विन कफी उत्पादन भएकोमा  २०८१/८२ मा ५ हजार ५०१ हेक्टर क्षेत्रफलमा विस्तार भई ६४१.९ मेट्रिक टन कफी उत्पादन भएको कफी बोर्डको तथ्याङ्कमा उल्लेख छ । 
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको आ.व. २०८०/८१ को तथ्यांकअनुसार गण्डकी प्रदेशमा कफी खेती १ हजार ९९ हेक्टरभन्दा बढी क्षेत्रफल मा फैलिएको छ । गण्डकी प्रदेशका स्याङ्गजा, कास्की, पर्वत र गोरखा कफी उत्पादनका महत्वपूर्ण जिल्ला हुन् । 
अर्थिक वर्ष २०८१/८२ मा नेपालबाट ६३ हजार ९ सय ९८ केजी कफी निर्यात भएको छ । जसबाट १ अर्ब १४ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको बोर्डले उल्लेख गरेको छ । १० वर्ष अघि २०७१/७२ मा नेपालले ९९.५९ मेट्रिक टन कफी निर्यात गरी करिब ९ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
तर तथ्याङ्कले निर्यातको तुलनामा आयात बढी हुने गरेको देखाएको छ । २०८१/८२ मा ११ करोड ४३ लाख रुपैयाँ बराबरको कफी निर्यात हुदाँ आयात भने १४ करोड ४१ लाख रुपैयाँ बराबरको भएको देखिन्छ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।