तनहुँ ।
बजारमा स्थानीय स्वस्थकर खाजा उपलब्ध गराउने उद्देश्यले तनहुँको दुलेगौडामा सातु उद्योग सञ्चालन भएको छ । महिला उद्यमी संघ नेपाल, शुक्लागण्डकी इकाईले 'शुक्लागण्डकी सातु उद्योग' सञ्चालनमा ल्याएको हो ।
संघमा आवद्ध १३ जना महिलाले करिब ३ लाख ५० हजार रुपैयाँ लागतमा उद्योग स्थापना गरी उत्पादन सुरु गरेको अध्यक्ष तुलसी शाहले जानकारी दिइन्।
उद्योगमा मकै, भट्टमास, चना जस्ता अन्न तथा दलहन बाट बनेका सातु, फापर-कोदो लगायतको पिठो तथा चिउरा लगायतका स्थानीय खाजाका परिकार उत्पादन हुन्छन् ।
उद्योगको सोमबार शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले उद्घाटन गरे । सो अवसरमा मेयर पण्डितले हानिकारक फास्ट फुडले रोग बढाइरहेको भन्दै मकै, सातु जस्ता खाजा खाने बानी लगाउनुपर्ने विचार राखे ।
उपमेयर खुम बहादुर विश्वकर्मा 'राजु' ले विद्यालयहरूमा सातु लाई खाजाका रूपमा प्रयोग गर्न प्रोत्साहित गरिने बताए । उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, उद्योगी - व्यवसायी, नागरिक समाजका प्रतिनिधि लगाएको उपस्थिति थियो ।
विधिवत रूपमा दर्ता गरेर सातु उद्योग सुरु गरिएको संयोजक सरस्वती गौतमले जानकारी दिइन् । उनका अनुसार उद्योगमा आबस्यक कच्चापदार्थ स्थानीय कृषकहरुबाट खरिद गरिन्छ । शुक्लागण्डकी नगरपालिका ४ नं . वडा कार्यालय नजिकै रहेको सातु उद्योगले हाल उद्योग बाट नै बिक्री गर्ने गौतमले जानकारी दिईन्। उनका अनुसार छिट्टै स्थानीय पसलहरु मार्फत पनि सातु बिक्री गर्ने तयारी गरिएको छ।