पोखरा।
स्वस्थकर एंव् गुणस्तरीय कफी उत्पादनका लागि जैविक खेतीमा किसानलाई प्रोत्साहित गर्ने उदेश्यले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा बुधबार बायोडायनामिक प्रविधिमा आधारित कफी बगैचा व्यवस्थापन सम्बन्धी १ दिने प्रयोगात्मक तालिम सञ्चालन गरिएको छ ।
कफी खेतीमा जैविक मल, औषधी तथा पद्वतीको प्रयोगका लागि किसानलाई बायोडायनामिक प्रविधिमा आधारित सीप प्रदान गर्न तालिम आयोजना गरिएको कार्यालयले जनाएको छ ।
बायोडायनामिक खेती प्रशिक्षक महेन्द्र कुमार श्रेष्ठले जैविक प्रविधिबाट कफी बगैचा व्यवस्थापन, रोगकिरा व्यवस्थापन, चिसो मौषममा कफी बगैचाको हेरचाह लगायतका विषयमा सहजीकरण गरे । उनले बायोडायनामिक मल तथा औषधीहरु तयार पार्ने तरिका बारे किसानलाई सैद्वान्तिक एंव् प्रयोगात्मक ज्ञान प्रदान गरे । स्थानीयस्तरमा नै उपलब्ध हुने गोबर, ढ्ुङ्गा, माटो, जडीबुटीजन्य वनस्पति जस्ता प्रकृतिमा उपलब्ध कच्चापदार्थहरुको मिश्रणबाट लाभदायक मल तथा औषधीहरु तयार पार्न सकिने श्रेष्ठले बताए ।
कार्याक्रममा अष्ट्रेलियामा बायोडायानामिक खेती गर्दै आएका बगैंचा प्रशिक्षक पिटर कारनीले वातावरणमैत्री कृषिबारे आफ्ना अनुभवहरु सुनाए । तालिममा कास्की, तनहुँ, स्याङ्जा, गुल्मी लगायतका जिल्लाबाट कफी खेती गर्ने कृषकहरु सहभागी थिए । तालिममा सिकेको सिपले किसान र उपभोक्ता देखि सिंगो पर्यावरणलाई नै लाभदायक हुने गरि कफी उत्पादन गर्ने तर्फ उत्सुकता बढाएको सहभागीहरुले प्रतिक्रिया दिए ।
कास्कीको मोदी गाउँपालिका वडा नं ५ का अमर बहादुर कुँवरले रासायिनिक मल तथा विषादी प्रयोग गरेर फलाईएका खानेकुराहरु स्वास्थ्यका लागि हानिकारक हुने हुदाँ किसान सचेत हुनुपर्ने बताए । कुँवरले भने– ‘बजारमा नापजाँच गर्दा बिषदीयुक्त देखियो भने किसानलाई नै घाटा हुने हुदाँ हामीले गाईवस्तु पालेर, वायोडायनामिक मल प्रयोग गरियो भने हामीलाई नै फाईदा हो ।’
अन्तराष्ट्रिय बजारमा स्वस्थ तथा गुणस्तरीय कफीको माग उच्च भएकाले जैविक पद्वतीमा आधारित तालिम सञ्चालन गरिएको कार्यालयका सूचना अधिकारी नगेन्द्र सुवेदीले जानकारी दिए । ‘कफी भनेको तेस्रो मुलुकहरुमा निर्यात हुने र विदेशी मुद्रा आर्जन गर्ने बाली हो, ती देशहरुले खाद्यवस्तुको गुणस्तरमा निकै ध्यान दिन्छन्, आयातमा कडाई गर्दछन्, त्यसैले अर्गानिक भयो भने बेच्न र मुल्य पाउन सजिलो हुन्छ’ सुवेदीले भने ‘पृथ्वीकै भलो हुने भनेको स्वस्थ खेती प्रणालीबाट हो, शुद्व खाना खायो भने स्वस्थ विचार आउँछ, स्वस्थ विचारले शान्ति कायम गर्छ, त्यसैले यो कार्यक्रम जोडिएको हो’ ।