काठमाडौं ।
अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवस, ३ डिसेम्बर २०२३ को उपलक्ष्यमा अपाङ्गताप्रति समाजको विद्यमान नकारात्मक, विभेदपूर्ण र पूर्वाग्रही धारणा अनि सोचमा परिवर्तन ल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ २०८० सालका लागि तीन विधामा प्रदान गर्ने घोषणा गरिएको छ । देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीहरूको सर्वेक्षणको आधारमा अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार तथा अन्तर्दृष्टि हातेमालो पुरस्कारका लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो । अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार अन्तर्गत शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार गण्डकी प्रदेशस्थित गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक किशोरकुमार श्रेष्ठलाई प्रदान गरिने जनाइएको छ । त्यसैगरी अन्तर्दृष्टि हातेमालो पुरस्कार अन्तर्गत दृष्टिविहीन विद्यार्थीहरूले आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीहरूको सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदानलगायतलाई आधार मानी सोही विद्यालयकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी समीर गुरुङलाई प्रदान गरिनेछ भने अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाजको अंग बनाउन भूमिका खेल्ने पत्रकारहरूमध्ये यस वर्षको अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार अच्युत घिमिरेलाई प्रदान गरिने अन्तर्दृष्टि पुरस्कार समिति संयोजक होमनाथ अर्यालले जानकारी दिनुभयको छ ।