स्याङ्गजा,
”आर्थिक समृद्धिको आधार, लघुउद्यम मार्फत स्वरोजगार” भन्ने नाराका साथ ३० दिन सम्म सञ्चालन भएको बाँस तथा निगालोको चोयाबाट सजावटका सामाग्रीहरु निर्माण गर्ने तालिम सोमबार सम्पन्न भएको छ । फेदिखोला गा पा वडा नं. १ मट्टीखानमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि फेदिखोला गाउपािलका अध्यक्ष घनश्याम सुवेदीले समुदायमा यस्ता कार्यक्रम सञ्चालन हुँदा स्वरोजगार वृद्धि हुने र स्थानियलाई आर्थिक रुपमा सबल बन्न सहयोग पुग्ने बताउनुभएको थियो । यहाँबाट निर्मित जतिपनि सामग्री हुन्छन् तिनको बजार व्यवस्थापनको जिम्मा गाउँपालिकाले लिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा वत्ताहरुले आफ्नो ठाउँमा उत्पादित बाँस–निगालोको प्रयोगले थप आम्दानी बढ्नुका साथै आर्थिक समृद्धिमा टेवा पुग्ने विस्वास व्यक्त गरेका थिए ।
२१ जना सहभागि तालिममा फेदिखोला गाउपालिका वरपरका विद्यालयबाट विद्यार्थीहरुलाई अवलोकनका लागि ल्याईएको थियो । धेरैजसो ठाउँमा तालिम लिएपछि सिकेको सिपले निरन्तरता पाउन मुस्किल रहेको अवस्थामा मट्टीखानमा प्राप्त गरिएको सिपलाई निरन्तरता दिन स्थानिय सामाजिक अगुवा भुवन पोख्रेल र खेमराज पोख्रेलले वैधानिक रुपमा संस्था दर्ता गरेर व्यवस्थित तरिकाले संचालन गर्न लागेको बताउनुभएको छ ।
फेदिखोला गाउपालिका उपाध्यक्ष देउ कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि वार्ड न १ का अध्यक्ष अमृत क्षेत्री, वार्ड न २ का अध्यक्ष अबिलास गुरुङ , त्यसैगरि अन्य अतिथिहरुमा वार्ड न १ र २ का वार्ड सदस्यहरु, कार्यपालिका सदस्य साथै राजश्री एग्रो प्रा लि. का युवराज गैरेको उपस्थिती रहेको थियो। कार्यक्रममा खेमराज पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने चण्डीकालिका आमा समुहले गित मार्फत तालिम प्रदान गरेकोमा सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेको थियो ।