जिल्ला प्रहरी कार्यालय कास्की मातहत रहेका प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा विगत लामो समयदेखि स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । वि.सं. २०८०असोज २१ गते देखि अभियानकै रुपमा कार्यक्रम संचालन गरी स्वरूप परिवर्तन गरिएका २२ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरिएको थियो । त्यसैगरी २०८० फागुन १७ गते देखि २० गतेसम्म पुनः त्यस्ता ५९ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरिएको हो । पटके कारबाहीमा परेकाहरूलाई यातायात व्यवस्था कार्यालयमा समेत पठाइएको जनाइएको छ । सोही समयमा स्वरुप परिवर्तन गर्ने ८ जना वर्कसप संचालकहरूलाई समेत पक्राउ गरी स्वरुप परिवर्तन नगर्ने शर्तमा छाडिएको र सचेतनामुलक कार्यक्रम गरी स्टिकर समेत टाँस गरिएको थियो।
यसै क्रममा हाल मिति २०८१ साल श्रावण ३० गते देखि भदौ २ गतेसम्म १४९ थान मोटरसाइकल नियन्त्रणमा लिई कारवाही प्रक्रियामा रहेको छ । यसमा पहिलो पटके देखि चौथो पटकेसम्म पक्राउ परेका छन् । यसवाट करिव वाइस लाख राजस्व उठ्ने अनुमान रहेको प्रहरीले जनाएको छ । अभियान संचालन गरेदेखि हालसम्म स्वरूप परिवर्तन गर्ने, ध्वनी प्रदुषण गर्ने जम्मा २०३५ थान मोटरसाइकललाई कारवाही गरी रू. २९ लाख ८ सय जरिवाना गरी सकिएको छ । कानूनी कारवाही स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, सिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ वमोजिम १५ हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ। यस कार्यमा संलग्न सवारी धनी र वर्कसप संचालकहरूलाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाउने बताएको छ । स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, ध्वनी प्रदुषण हुने, विरामी, वृद्दवृद्दा, वालवालिका तथा संवेदनशील क्षेत्र (अस्पताल स्कुल) मा प्रत्यक्ष असर पर्दै आयको छ ।
कोही कसैले स्वरुप परिवर्तन, ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको पाइएमा वा स्वरुप परिवर्तन गरेको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि प्रहरीले अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्र.ना.उ. बसन्त कुमार शर्माले जारि गरेको विज्ञप्तीमा उल्लेख छ ।