बाढीपहिरोले पुर्याएको क्षतिप्रति होटल संघ पोखराद्धारा दुःख व्यक्त

सेयर गर्नुहोस

पोखरा, असोज १३

अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आइपरेको विपदमा परी ज्यान गुमाएकाहरुप्रति संघले श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका आफन्त, घाइते र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।‘विपदमा परी घाइते भएकाहरुको उचित उपचारको व्यवस्था गर्न र बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यलाई तीव्रता प्रदान गर्न समेत सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छौं । मृतकका परिवार र विपदका पीडितहरुलाई उचित राहात र आबश्यक परे आवासको समेत व्यवस्था गर्न होटल संघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।,’ संघका अध्यक्ष लक्ष्मण सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मौसम विभागले जारी गर्ने बर्षा र बाढीको पूर्वअनुमानलाई ख्याल गर्दै सजग रहन र विपदको यस घडिमा आपसी सद्भाव र सहकार्य गरेर अगाडि बढ्न समेत आम नागरिकप्रति संघले अपिल गरेको छ । यसका साथै बन्द भएका राजमार्ग तथा सडक मार्गहरु छिटोभन्दा छिटो खुलाई आवागमनलाई पूर्ववत् बनाउन र भत्किएका पुल तथा संरचनाको पुनः निर्माणतर्फ ध्यान दिन समेत सरकार र सम्वन्धित निकायसँग आग्रह गरिएको छ ।बाढी र पहिरोका कारण थुप्रै सडक मार्गहरु समेत अबरुद्ध भएको यस्तो अवस्थामा हवाई सेवाको थप महत्व बढेर जान्छ नै । अतः यो दुःखद र विपदको घडिमा यात्रुहरुका लागि सकेसम्म सहुलियत दरमा टिकट उपलब्ध गराउन समेत वायुसेवा कम्पनीहरुलाई संघले अनुरोध गरेको छ । यसैगरी बाढी, पहिरो लगायतका विपतको सामना गर्नका लागि आबश्यक संयन्त्र, पूर्व तयारी र चुष्त सूचना प्रणालीको व्यवस्था गर्न तिनै तहका सरकारसँग विज्ञप्तिमा ध्यानाकर्षण गराइएको छ ।


सेयर गर्नुहोस