१५ असाेज, तनहुँ ।
सहिद कमल अधिकारी क्षेत्रीकाे २२ औ स्मृति दिवसकाे सन्दर्भमा मंगलबार जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कृत गरिएकाे छ । तनहुँकाे भानु नगरपालिका वडा नं. १२ घलेछापका कमल अधिकारी जनयुद्धका सहिद हुन् । घलेछाप स्थित सहिद स्मृति पर्यटन पार्क व्यवस्थापन समितिले आयाेजना गरेकाे स्मृति सभामा वडामा रहेका विद्यालयहरूमा अध्ययनरत उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएकाे हाे । सहिद कमलका बुवा रामबहादुर अधिकारीले छाेराकाे स्मृतिमा जेहेन्दार विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरेका हुन् । साे अवसरमा सहिद पिता अधिकारीले आफ्नाे छाेरा पनि विद्यालय उमेरमा निकै मेहनती विद्यार्थी भएकाे सम्झना गरे ।
सहिद स्मृति सभामा गण्डकी प्रदेश सभाका सदस्य हरि बहादुर चुमान, नेकपा माओवादी केन्द्रका तनहुँ जिल्ला ईन्चार्ज आशा काेइराला, क्षेत्रीय ईन्चार्ज ओमकुमारी पाैडेल, अनेमसंघ क्रान्तिकारीका गण्डकी प्रदेश अध्यक्ष गिता शाही, नेपाली काङ्ग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेताहरू, जनप्रतिनिधि, सहिद तथा बेपत्ता परिवार, शिक्षक, विद्यार्थी लगायतकाे सहभागिता थियाे ।
कार्यक्रममा सहभागीहरूले सहिदहरूले देश र जनताकाे लागि गरेकाे बलिदानीकाे कदर गर्न राजनीतिक नेतृत्व इमान्दार र उत्तरदायी हुनुपर्ने बताए । सहिदकाे सपना पूरा गर्न जनताकाे अवस्थामा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएकाेमा सहभागीकाे एकमत थियाे ।