पोखरा, २२ असोज
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारत गएका छन् । उनी आइतबार आफ्नो र पत्नीको उपचारका लागि भारत गएको उनको सचिवालयले जनाएको छ । मुख्यमन्त्री पाण्डे साउन १३ गते पनि भारत गएका थिए । उनको घुँडामा समस्या छ । उपचारका लागि भारत पुगेका मुख्यमन्त्री पाण्डेले दसैं पनि उतै मनाउने छन् । छोरा अध्ययनका लागि भारतमा रहेकाले मुख्यमन्त्रीले उतै दसैं मनाएर फर्किने छन् ।आफ्नो अनुपस्थितिमा पाण्डेले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई कार्यवाहक दिएका छन् ।
मुख्यमन्त्रीपछि पहिलो वरियतामा रहेकाले पद्मालाई कार्यवाहक दिइएको हो । पद्मा गण्डकीमा एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी भएकी हुन् । पद्मालाई कार्यवाहक दिएको बारे कांग्रसकै मन्त्री र सरकारका प्रवक्ताले समेत अनभिज्ञता जनाएका छन् ।