पोखरा, २२ असोज ।
चाडपर्वको अवसरमा पोखराका होटलहरुले विभिन्न प्याकेज तथा छुट अफर ल्याएका छन् । बडादशैं देखि तिहारसम्म पोखराका होटलहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई ३० प्रतिशतसम्म छुट दिने भएको हो ।बिहिबार पत्रकार सम्मेलनमा बोल्दै होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले संघ अन्तर्गतका होटलहरुमा विभिन्न प्याकेज अफर सहित तोकिएको दररेटमा ३० प्रतिशत सम्म छुट दिने जानकारी दिए । सुवेदीले केही दिन पहिले आएकाे बाढी पहिरोकोका कारण व्यवसाय प्रभावित बनेको भन्दै सुस्ताएकाे पर्यटन क्षेत्र उकास्नका लागि होटल संघले चाडपर्वलाई लक्षित गर्दै छुट दिने निर्णय गरेको जानकारी दिए । अध्यक्ष सुवेदीले अहिले होटलको अकुपेन्सी ४० प्रतिशत रहेको र दशैं पछि अकुपेन्सी ८० प्रतिशतसम्म पुग्ने अपेक्षा व्यक्त गरे । पोहोर यहि समयमा होटल अकुपेन्सी ६० प्रतिशत थियो भने कोभिड अगाडि ९० प्रतिशत सम्म अकुपेन्सी थियो ।
होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरि गैरेले पोखरा पर्यटनका लागि सुरक्षित रहेको बताउँदै चाडपर्वकै अवसरमा विभिन्न महोत्सवको आयोजना समेत गरिएको बताए । कार्यक्रममा उपाध्यक्ष गणेशराज पहारी र महासचिव राजेन्द्र ढकाल लगायतले बोलेका थिए ।