खुल्ला रक्तदानमा ८८ युनिट रगत संकलन

सेयर गर्नुहोस

पोखरा, ६ कात्तिक
नेपाल रेडक्रस सोसाईटी पोखरा १७ उपशाखा र डेभिजफल युवा क्लवद्धारा संयुत्त रुपमा छोरेपाटनमा आयोजित आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन भएको छ ।
बढ्दो डेङगु रोगको प्रकोपको कारण रगतको माग बढ्नु र चार्डपर्वमा रगत संकलन कम हुँदा पोखरामा यतिखेर रगतको अभाव हुँदै गएपछि नेपाल रेडक्रस सोसाईटी कास्कीको आव्हानमा तुरुन्तै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्मा पौडेलले पहिलो रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्दै कास्की जिल्लामा बार्षिक ४० हजार भन्दा बढी युनिट रगतको आवश्यकता रहने गरेको जानकारी दिनुभयो ।
शाखाले पोखरा ८ श्रृजनाचोकमा ६ करोडको लागतमा अत्याधुनिक सुविधा सम्पन्न भौतिक संरचना तयार गरि रगत प्रशोधन र सुरक्षाका लागि आवश्यक प्रविधि समेतको व्यवस्थामा जुटेको बताउँदै पुण्य कार्यका लागि सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नंं १७ का वडाअध्यक्ष राधिका शाही योगीले पछिल्लो समय रक्तदानको महत्व बढ्दा नयाँ रक्तदातामा समेत उत्साह थपिएको बताउँदै विपदका समयमा मानविय सेवामा जुट्न सम्पूर्णमा आव्हान गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति एवम् विपद् व्यवस्थापन समितिका सयोजक उर्मिला खड्काले रक्तदान जिवनदान, जिवनदान महादान भन्ने रेडक्रसको मुल नाराको महत्व माथि प्रकाश पार्दै महेन्द्रपुलमा आयोजित आकम्मिक रक्तदान कार्यक्रममा १३१ युनिट रगत संकलन भएको जानकारी दिनुभयो ।
रगतको अभावमा अस्पतालको वेडमा छटपटाई रहेका विरामीको पुर्नरजिवनको लागि एक दिन अगाडि मात्र तय गरिएको कार्यक्रममा सवै क्षेत्रको सहयोग र रक्तदाताको सहभागिताले उत्साहित तुल्याएको पोखरा १७ उपशाखा सभापति हरिप्रसाद श्रेष्ठको भनाई छ । प्रादेशिक रक्त संचार केन्द्र कास्कीका प्रमुख अर्जुन ज्ञवाली लगायतको टिमको कार्यक्रममा प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा पोखरा १७ का जनप्रतिनिधि, पूर्व वडाअध्यक्ष तिर्थराज अधिकारी, सञ्चारकर्मी हरि बास्तोला, रेडक्रस सोसाईटी र युवा क्लवका पदाधिकारी तथा सदस्यहरु, प्रहरी चौकी छोरेपाटनका प्रमुख प्रहरी निरीक्षक सुर्यबहादुर थापा, गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला लगायत सामाजिक व्यक्तित्वले रक्तदातालाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


सेयर गर्नुहोस