पोखरा, १४ मंसिर ।
पोखराको खानेपानी सुधार आयोजनाको आज एक कार्यक्रमबिच उद्धघाटन गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ४ अर्ब ८१ करोड रुपैयाँको अनुदानमा ०७६ देखिसुरु भएको आयोजनाको खानेपानी मन्त्री प्रदीप यादव, नेपालका लागी जाइका प्रतिनिधि तानाका तुक्मो र पोखराका मेयर धनराज आचार्यले संयुक्त रुपमा उद्घघाटन गरेका हुन । सो कार्यक्रममा बोल्दा मन्त्री यादवले पोखरेलीले अब शुद्ध पानी पिउन पाउने बताए । यो आयोजनाबाट अब वर्षातमा हिलो मिसिएको पानी खानुपर्ने बाध्यता हटेको मन्त्री यादवले बताए । मेलम्ची पछिको ठूलो परियोजना भएको बताउदै आगामी दिनमा पोखराबासीको घरमा सुद्द पिउने पानी बितरण हुने बताए । उनले अब पोखरामा सुद्द पिउने पानीको अभाव नहुने बताए ।
उनले भने “सरकार पोखराबासीलाई शुद्ध खानेपानी खुवाउन तयार छ, हामीले मेलम्चीपछिको ठूलो आयोजना सम्पन्न गरी पोखराबासीलाई शुद्ध पानी खुवाउन सफल भएका छौँ । अब पोखराबासीले हिलो मिसिएको पानी खानुपर्ने अवस्था आउने छैन ।”नेपालका लागी जाइका प्रतिनिधि तानाको तोमोले सो परियोजना सम्पन्न गरि नेपाललाई हस्तान्तरण गर्न पाएकोमा खुशी ब्यक्त गरिन । परियोजनाको माध्यमबाट दुई देश बिचको सम्बन्ध बलियो हुने भन्दै दुई देशका नागरीक बिच सद्भाव बढ्ने उनको भनाई थियो । यो आयोजना निर्माण भएसँगै अब पाँच लाख जनसंख्याले धाराबाट सिधै पिउन सक्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।यो आयोजनाअन्तर्गत ११० किलोमिटर पाइप बिच्छ्याएर पानी वितरण हुनेछ । मर्दीखोलाको धमिलो पानी प्रयोग गर्दै आएका पोखरेलीका लागि मुहानदेखि नै शुद्धीकरण गरेर धाराबाट सिधै पिउन सकिने पानी पुर्याउने आयोजनाको लक्ष्य रहेको छ । जाइकाको अनुदानबाट मर्दीको मुहान नजिकै ४ करोड २० लाख लिटर क्षमताका ४ वाटा बालुवा हटाउने ट्यांकी (ग्रिट च्याम्बर) र ४ वटा पानी थिग्र्याउने ट्यांकी (सेडिमेन्टेसन ट्यांक) निर्माण गरिएको छ । पोखराको पुरुन्चौरमा दैनिक ४ करोड १० लाख लिटर क्षमताका ६ वटा पानी छान्ने फिल्टर (स्लो स्यान्ड फिल्टर) र ९ सय ३० घन मिटरका २ वटा सफा पानी संकलन ट्यांकी निर्माण गरिएको छ । क्लोरिनेसन प्लान्ट पनि सो स्थानमा रहेको छ । खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशिष कार्कीका अनुसार हाल पोखराका सहरी भेगका १ देखि १९ वडामा पानीको माग दैनिक ८ करोड ७० लाख लिटर रहेको बताए । उत्पादन भने ६ करोड ७७ लाख लिटर रहेको छ । त्यसमध्ये माछापुच्छ्रे गाउँपालिकाको मर्दीबाट संकलित ४ करोड ६० लाख लिटर पानी सिधैं विन्ध्यवासिनीमा रहेको ४० लाख लिटर क्षमताको ट्यांकीबाट वितरण हुनेछ ।