१५ मंसिर, पाेखरा ।
पाेखरा याम्दीमा जेब्राकसिङबाट बाटाे काट्ने क्रममा ट्रकले ठक्कर दिदा एक पैदलयात्रुकाे मत्यु भएकाे छ। ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा ५५ वर्षीया धनकुमारी बुढाको मृत्यु भएको हो ।
मृतक बुढा मगर सामाजिक सञ्जालमा चर्चित गिभिना मगरकी आमा हुन् । ट्रकको ठक्करले गम्भीर घाइते भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । जेब्रा क्रस गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियाे ।
यसैबिच, आमाको निधनपछि विक्षिप्त बनेका गिभिनाका भाइ २६ वर्षीया छोरा रामकुमार बुढाले आत्महत्या गरेका छन् । आमालाई अस्पताल लगेपछि रामकुमारलाई सम्पर्क गर्दा फोन नउठेको र खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेका पोखरा २५ का अध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए । ‘दुर्घटना भएपछि सबैलाई सम्हालेर सुत्न पठाएका रहेछन् । अरू गएपछि सुसाइड गरेका रहेछन्,’ उनले भने, ‘एकपछि अर्को घटना भयो । पीडादायी अवस्था बन्यो ।’
गिभिना आर्थिक सहयोग जुटाएर असहाय र विपन्नलाई सहयोग गर्दै आएकी थिइन् । पूर्वी रुकुम घर भएका गिभिनाको परिवार अहिले पोखरा २५ याम्दीमा बस्दै आएका थिए ।