१८ मंसिर, दुलेगौंडा ।
नेकपा माओवादी केन्द, शुक्लागण्डकी नगर समितिले जनयुद्वमा योगदान गर्ने जनयोद्घाहरुलाई सम्मान गरेको छ । मंगलबार दुलेगौंडामा आयोजित माओवादीको शुक्लागण्डकी नगर समितिको अधिवेशन तथा खबरदारी सभामा जनयुद्वमा योगदान गर्नेहरुलाई सम्मान गरिएको हो । सभामा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शुक्लागण्डकी नगरपालिका भित्र बसोबास गर्ने जनयुद्वका सहिद तथा बेपत्ता पारिएका नागरिकका परिवार, घाईते, जेल तथा हिरासत परेका, यातनापीडित तथा जनयुद्वका पूर्णकालीन कार्यकर्ताहरुलाई सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा माओवादी नेता श्रेष्ठले १० वर्षे जनयुद्वमा जनयोेद्घाहरुले गरेको बलिदानीपूर्ण संघर्षले नेपाली जनता र नेपाली क्रान्तिको लागि लगाएको गुन अतुलनीय भएको बताए । श्रेष्ठले नेपालमा भएको युगान्तकारी राजनीतिक परिवर्तनको रक्षा र विकासका लागि माओवादी प्रतिवद्व भएको उल्लेख गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अधिकारसंगै जनतालाई अनुभुति हुने गरि जनजीविकाका सम्पूर्ण समस्या समाधान गर्दै सामाजिक आर्थिक रुपान्तरण गर्न माओवादीले सडक, सदन र सरकार सबै मोर्चाबाट शान्तिपूर्ण संघर्षलाई जारी राख्ने उनको भनाई छ ।