सरकार भष्ट्रचारीकाे रक्षा गर्न लागेकाे छ – पूर्वगृहमन्त्री श्रेष्ठ

सेयर गर्नुहोस

१८ मंसिर, दुलेगाैंडा ।

पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भष्ट्रचारीको रक्षामा लागेको बताएका छन् । माओवादी केन्द्रले तनहुँकाे शुक्लागण्डकी नगरपालिकामा आयाेजना गरेकाे खबरदारी सभालाई सम्बाेधन गर्दै श्रेष्ठले माओवादी नेतृत्वको पूर्व सरकारले पक्राउ गरेका भ्रष्टचारीलाई रक्षा गर्न कांग्रेस एमाले गठबन्धनको सरकार लागिरहेको घटनाक्रमले पुष्टि गरेको टिप्पणी गरे ।


‘हामीले ललिता निवास काण्डमा मुद्वा चलाएर विशेष अदालतले दुई बर्ष कैद सजाय गरेर बिगो जरिवाना गरेको मान्छे जो अहिले सर्वोच्च अदालतमा मुद्वा छ । त्यही मान्छेसँग दान भनेर अरबौंको जग्गा आफ्नो पार्टीलाई घडेरी लिने । घर पनि उसैले बनाइदिने । यही त हो भ्रष्टाचारको नयाँ तरिका भनेको’, नेकपा एमालेप्रति लक्षित गर्दै नारायणकाजीले भने ।
संगठित गिरोहको योजनामा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई सफाइ दिएर वर्तमान सरकारले भ्रष्टाचारको अर्को नमुना पेश गरेको श्रेष्ठको आरोप छ । श्रेष्ठले अहिलेको सरकार भन्दा गएगुज्रेको नालायक सरकार पनि हुन्छ? भन्दै प्रश्न गरे ।
यसैगरि, सहकारी काण्डमा रवि लामिछानेलाई पक्राऊ गर्नु तर एमाले काङ्ग्रेस भित्रका प्रमाणित सहकारी ठगहरुलाई उन्मुक्ति दिनुले सरकारले भ्रष्टाचारीलाई रक्षा गरिरहेको व्यवहारबाटै पुष्टि भएको श्रेष्ठले दावी गरे ।
देश फड्को मार्ने गरेर सुशासनको पक्षमा काम गर्दा माओवादीलाई सरकारबाट हटाएर वर्तमान गठबन्धन बनेको उनको आरोप छ ।
माओवादीका वरिष्ठ उपाध्यक्ष समेत रहेका पूर्व गृहमन्त्री श्रेष्ठले भने माओवादी केन्द्र सरकार ढाल्ने र बनाउने खेलमा नलागेको जिकिर गरे । ‘झन्डा हल्लाउन मात्रै सरकारमा जाने हाम्रो नीति छैन’ श्रेष्ठले भने ‘देश र जनताको पक्षमा काम गर्न सकिने अवस्थामा मात्रै माओवादी सरकारमा जाने उनको भनाई छ ।’


सेयर गर्नुहोस