२३ मङ्सिर, पाेखरा ।
जलवायु परिवर्तनले पारेका असर न्युनीकरण गर्न मानवीय क्रियाकलापमा सुधार ल्याउनुपर्नेमा जाेड दिइएकाे छ । पोखरामा आइतबार शुरू भएकाे नवाैं अन्तराष्ट्रिय पर्वतीय महोत्सवमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिले जलवायु परिवर्तन बारे सबै सजग हुनुपर्ने साझा धारणा प्रस्तुत गरे ।
पर्वतीय संग्रहालयमा महाेत्सवकाे उद्घाटन सत्रलाई सम्बाेधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वका धनी मुलुकमा भएकाे तीव्र कार्वन उत्सर्जनकाे असर नेपालले भाेग्नुपरेकाे भन्दै याे बिषय अन्तराष्ट्रिय अदालतमा समेत पुगेको जानकारी दिए । पछिल्ला बर्षहरूमा हिमालमा हिउँ नदेखिनु चिन्ताकाे बिषय भएकाे भन्दै मुख्यमन्त्री पाण्डेले पर्वतीय क्षेत्रकाे संरक्षणको लागि प्रदेश सरकार गम्भीर रहेकाे बताए ।
गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ्गले जलवायु परिवर्तन बारे जनचेतनाकाे खाचाेँ औल्याइन् । “हामीले हिमाल नाङ्गिदै गएकाे मात्रै देखेका छाै र जलवायु परिवर्तन बारे धेरै बुझेका छैनाै, यसकाे असर, कारण र समाधानका उपाय बारे सबैले जानकारी लिनुपर्छ” उनले भनिन् ।
कृषि भुमि व्यवस्था, सहकारी मन्त्रालयका सचिव टंक प्रसाद प्रसाइले गण्डकी प्रदेशमा ६७.२% पर्वतिय क्षेत्रले ओगटेको जनाउँदै पर्वतीय क्षेत्रकाे आर्थिक वृद्धिको लागि रैथाने बालिको प्रवर्द्धनमा मन्त्रालयको विशेष पहल रहेको बताए ।
जलवायु परिवर्तन विशेषज्ञ डा. सालु अधिकारीले जलवायु परिवर्तनले कृषि उत्पादनमा नकारात्मक असर पारिरहेकाे बताईन् । खेतीमा नयाँ नयाँ राेगहरू र नयाँ नयाँ किराहरू देखिन थालेकाे भन्दै अधिकारीले पर्वतीय क्षेत्रका बासिन्दाले भाेगेका समस्या समाधानमा सबै सचेत हुनुपर्ने राय राखिन् । विश्व वन्यजन्तु काेषका प्रतिनिधि राजेन्द्र सुवालले पर्वतीय क्षेत्रलाई फोहोर हुन दिन नहुने विचार राखे ।
नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष ठाकुरराम पाण्डेले पर्वतीय पर्यटन प्रवर्दन र वातावरण संरक्षणबारे जनचेतना फैलाउन महाेत्सव प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
महाेत्सवमा आयाेजना गरिएकाे पहाडकाे दिगाे भविष्य विषयक अन्तरक्रियामा रूपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरूङले दिगाे कृषिका लागि माैरीपालन संगै चिउरी, सितलचिनी जस्ता बाेट बिरूवा लगाउन पालिकाले लगानी गरेकाे सुनाइन् । पानीका मुलहरू सुक्न थालेकाे, खाेलाखाेल्साहरू हराउँदै गएकाे भन्दै गुरूङले चिन्ता व्यक्त गरिन् ।
बरिष्ठ कृषि अधिकृत मिना चाैधरीले जलवायु परिवर्तनकाे असरका वावजुद पाेषणयुक्त कृषि उत्पादनका लागि कृषकलाई प्राेत्साहित गरिरहेकाे बताइन् ।
युवा उद्यमी सुनिल पाैडेलले रैथाने बाली र स्थानीय उत्पादन प्रयाेग गरिरहदाका अनुभव सुनाए ।
महाेत्सवमा आइतबार पन्छि संरक्षण संघले पोखरा बन क्याम्पसका विद्यार्थीसंगकाे सहकार्यमा “हिमालयको कठिन यात्रा-पन्छिको पुकार” नामक नाटक प्रदर्शन गर्याे । खेतीमा प्रयाेग गरिएका बिषादी, जथाभावी बनाईएका भाैतिक निर्माण, प्लाष्टिकजन्य फाेहाेर जस्ता वातावरण प्रतिकुलका मानवीय गतिविधिले चराचुरुङ्गीले खेपेकाे समस्या चित्रण गरिएकाे थियाे ।
मंसिर २७ गतेसम्म चल्ने महाेत्सवमा आर्चरी, छेलाे, जिपलाइनिङ, बाेल्डरिङ लगायतका साहसिक खेलकुद, पर्वतीय वातावरण बारे सचेतनामूलक अन्तरक्रिया, आराेही संवाद, हिमाली परिवेशबारे प्रदर्शनी, आराेही संवाद लगायतका कार्यक्रम हुने सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन् । महाेत्सव अवलाेकनका लागि अन्तरास्ट्रिय पर्वतीय सङ्ग्रहालय पाेखरामा नि:शुल्क प्रवेशकाे व्यवस्था छ ।