रंगशालामा हुने प्रथम अन्नपूर्ण अध्यक्ष कपको तयारी पूरा

सेयर गर्नुहोस

पोखरा, २४ मंसिर ।

पोखराको रंगशालास्थित बास्केटबल कोर्टमा मंगलबार (भोलि) देखि सुरु हुने गण्डकी प्रदेश पालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा हुने ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए ।
उनका अनुसार यही २५ गतेदेखि २९ गतेसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा बेनी नगरपालिका र मादी गाउँपालिका भिड्नेछन् । उनले पुरुषतर्फ कुल १२ टिमको सहभागिता रहेको बताए ।
अध्यक्ष गुरुङका अनुसार लमजुङ बेसीशहर, अन्नपूर्ण म्याग्दी ‘ओरेन्ज’, रघुगंगा ‘ग्रे’, अन्नपूर्ण कास्की ‘ब्ल्याक’, रघुगंगा‘ह्वाइट’, मोदी गाउँपालिका पर्वत, अन्नपूर्ण कास्की ‘ह्वाइट’, अन्नपूर्ण म्याग्दी ‘ह्वाइट’, पोखरा महानगरपालिका, बेनी नगरपालिका, मादी गाउँपालिका कास्की र जलजला पर्वत गरि कुल १२ टिमको सहभागिता रहेको छ ।
यस्तै महिलातर्फ कुल ६ टिमको सहभागिता रहेको सहसचिव विश्वास गुरुङले जानकारी दिए ।
उनका अनुसार ललितपुर, अन्नपूर्ण, ग्राण्डी, मर्दीखोला ‘ए’ र ‘बी’ तथा प्रतिभा गरि कुल ६ टिमको सहभागिता रहेको छ ।
लिक कम नकआउटको आधारमा सञ्चालन हुने महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद १ लाख १५ हजार १ सय ११, उपविजेताले नगद ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै महिलातर्फको विजेताले नगद ३० र उपविजेताले नगद१५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५-१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५ -१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ ।
गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष बास्केटबल प्रतियोगिता ५×५ हुनेछ भने महिलातर्फ ३×३ हुनेछ ।
प्रतियोगिताको उद्घाटन बिहान ११ बजे अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णु बहादुर क्षेत्रीले गर्ने आयोजकले जनाएको छ ।


सेयर गर्नुहोस