परिच्छेद–६
गुठी सम्बन्धी व्यवस्था
३१४. गुठी स्थापना भएको मानिनेः कसैले आफ्नो हक, भोग र स्वामित्वको सम्पत्ति हितग्राहीको लागि अरु कसैबाट सञ्चालन र व्यवस्थापन गर्ने गरी आवश्यक बन्दोबस्त गरेकोमा गुठी स्थापना भएको मानिनेछ
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “हितग्राही” भन्नाले गुठीको सम्पत्तिबाट लाभ पाउने व्यक्ति, समूह, सर्वसाधारण, असङ्गठित वा सङ्गठित संस्था वा समुदाय सम्झनु पर्छ ।
३१५. गुठी सार्वजनिक वा निजी हुन सक्नेः (१) गुठी सार्वजनिक वा निजी हुन सक्नेछ ।
(२) देहायको उद्देश्य पूरा गर्नको लागि राखिएको गुठी सार्वजनिक गुठी मानिनेछ :-
(क) आर्थिक विकासका पूर्वाधार वा अन्य विकास सम्बन्धी कामको लागि प्रयोग हुने कोषको स्थापना, सञ्चालन तथा प्रयोग गर्ने,
(ख) निम्न आय भएका व्यक्तिहरूको सीप विकास तथा रोजगारीको अवसरको सिर्जना तथा विकासको कार्य गर्न आवश्यक कोषको स्थापना तथा सञ्चालन गर्ने,
(ग) सामाजिक कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने,
(घ) विद्यालय, महाविद्यालय, विश्वविद्यालय जस्ता सर्वसाधारणको लागि उपयोगी हुने शैक्षिक तथा प्राज्ञिक संस्थाहरू स्थापना गरी सञ्चालन गर्ने,
(ङ) अस्पताल वा स्वास्थ्य चौकी जस्ता सार्वजनिक प्रयोजनको लागि चिकित्सालय स्थापना गरी सञ्चालन गर्ने,
(च) प्राकृतिक, ऐतिहासिक वा साँस्कृतिक सम्पदाको संरक्षण वा त्यस्तो कार्यको प्रवद्र्धन गर्ने,
(छ) वन्य जन्तु, जलचर वा वातावरणीय संरक्षणका कार्यक्रम सञ्चालन गर्ने,
(ज) विभिन्न वर्ग, समूह वा समुदायको हित संरक्षण, कल्याण वा उत्थानको लागि कार्यक्रम सञ्चालन गर्ने,
(झ) खेलकुद सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने,
(ञ) सेवामुखी कल्याणकारी कार्य गर्ने,
(ट) उद्दार कार्य सञ्चालन गर्ने,
(ठ) मठ, मन्दिर, गुम्बा, चैत्य, मस्जिद, गिर्जाघर वा त्यस्तै अन्य धार्मिक कृत्य गर्ने,
(ड) सार्वजनिक हितको लागि अन्य सार्वजनिक कार्यक्रमहरू सञ्चालन गर्ने ।
(३) कुनै खास व्यक्ति वा समूह विशेषलाई हित, लाभ वा सुविधा पु¥याउने उद्देश्यले राखिएको गुठी निजी गुठी मानिनेछ ।
(४) सार्वजनिक र निजी दुवै उद्देश्य पूरा गर्नको लागि कुनै गुठी स्थापना भएकोमा त्यस्तो गुठी सार्वजनिक गुठी मानिनेछ ।
३१६. गुठी स्थापना गर्न निवेदन दिनु पर्ने : (१) कुनै गुठी स्थापना गर्न चाहने व्यक्तिले देहायका विवरणहरू खुलाई पञ्जिकाधिकारी समक्ष निवेदन दिनु पर्नेछ :–
(क) गुठीको लागि राखिएको सम्पत्तिको मूल्य र त्यसको विवरण,
(ख) हितग्राही र निजले पाउने लाभ, सुविधा, त्यसको शर्त र हदको विवरण,
(ग) कुनै खास समयावधिको लागि गुठी स्थापना गरिने भए त्यस सम्बन्धी कुरा,
(घ) अन्य आवश्यक विवरण ।
(२) उपदफा (१) बमोजिम निवेदन दिँदा निवेदनसाथ देहायका कागजात समेत पेश गर्नु पर्नेछ :–
(क) गुठीको संस्थापनापत्र,
(ख) गुठी सञ्चालकको नाम र निजको मञ्जुरी सम्बन्धी लिखतको प्रतिलिपि,
(ग) गुठी स्थापना गर्न कुनै लिखत भएको रहेछ भने त्यस्तो लिखतको प्रतिलिपि,
(घ) गुठी संस्थापकको पहिचान सम्बन्धी विश्वसनीय लिखत र कुनै सङ्गठित संस्था गुठीको संस्थापक भए त्यस्तो सङ्गठित संस्थाको संस्थापना सम्बन्धी लिखतको प्रमाणित प्रतिलिपि र गुठी संस्थापना
सम्बन्धमा त्यस्तो सङ्गठित संस्थाको निर्णयको प्रमाणित प्रतिलिपि,
(ङ) गुठी दर्ता गर्न कानून बमोजिम लाग्ने दस्तुर तिरेको रसिद ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि,–
(१) “पञ्जिकाधिकारी” भन्नाले गुठीको दर्ता, सुपरीवेक्षण र खारेजीका लागि कानून बमोजिम व्यवस्था भएको अधिकारी सम्झनु पर्छ र सो शब्दले त्यसरी व्यवस्था नभएकोमा सम्बन्धित जिल्लाको मालपोत अधिकृतलाई जनाउँछ ।
(२) “गुठी सञ्चालक (ट्रष्ट)” भन्नाले गुठी सम्पत्ति सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी पाएको व्यक्ति सम्झनु पर्छ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले आफ्नो हक, भोग र स्वामित्वको सम्पत्ति निजको मौखिक व्यवहार, आचरण वा निजको शेष पछि प्रभावकारी हुने गरी दान बमोजिम गुठीको रूपमा सञ्चालन तथा व्यवस्थापन हुने व्यवस्था गरेको रहेछ भने त्यस्तो व्यवहार, आचरण वा दान बमोजिम नै गुठी स्थापना भएको मानिनेछ ।
तर कानून बमोजिम हक हस्तान्तरण हुन रजिष्ट्रेशन पारित गर्नु पर्ने सम्पत्तिको हकमा तत्सम्बन्धी लिखत पारित भएको हुनु पर्नेछ ।
(४) कुनै विदेशी व्यक्तिले गुठी स्थापना गर्न चाहेमा उपदफा (१) र (२) बमोजिमको प्रकृया पूरा गरी निवेदन दिनु पर्नेछ । त्यसरी स्थापना गर्ने गुठीमा विदेशी व्यक्ति संस्थापक हुन सक्नेछ ।
तर दफा ३१५ को उपदफा (२) को खण्ड (ठ) बमोजिमको उद्देश्य पूरा गर्न विदेशी व्यक्तिले गुठी स्थापना गर्न सक्ने छैन ।
(५) उपदफा (४) बमोजिम स्थापना भएको गुठीको सञ्चालकमध्ये कम्तीमा एक तिहाई सञ्चालक नेपालमा स्थायी बसोबास गरेको नेपाली नागरिक हुनु पर्नेछ ।
३१७. संस्थापनापत्रमा खुलाउनु पर्ने विवरण : गुठीको संस्थापनापत्रमा देहायका विवरण खुलाउनु पर्नेछ :–
(क) गुठी संस्थापकको नाम, थर, वतन र सङ्गठित संस्था संस्थापक भए त्यस्तो संस्थाका सञ्चालकहरूको नाम, थर र वतन,
(ख) गुठीको उद्देश्य र प्रकृति,
(ग) गुठी सञ्चालकको नाम, थर, वतन र निजले गर्नु पर्ने कामको विवरण र सङ्गठित संस्था गुठी सञ्चालक हुने भए त्यस्तो संस्थाले गुठी सञ्चालकको काम गर्न तोकेको व्यक्तिको नाम, थर र वतन,
(घ) हितग्राहीको विवरण,
(ङ) गुठी सम्पत्तिको प्रयोग गर्ने विधि,
(च) गुठी सञ्चालकको पदावधि तोकिएको भए त्यसको विवरण,
(छ) गुठी सञ्चालकले पारिश्रमिक वा अन्य कुनै सुविधा पाउने भए त्यसको विवरण र हद,
(ज) कुनै निश्चित अवधिको लागि गुठी स्थापना गर्न चाहेको भए त्यस्तो अवधि,
(झ) गुठीको अन्त्य भएमा सोको परिणाम,
(ञ) गुठीको सम्पत्ति सञ्चालन, व्यवस्थापन तथा अनुगमन सम्बन्धी व्यवस्था,
(ट) अन्य आवश्यक कुराहरू ।
३१८. गुठी दर्ता गर्नु पर्ने : (१) दफा ३१६ बमोजिम गुठी स्थापना गर्न निवेदन पर्न आएमा पञ्जिकाधिकारीले गुठीको उद्देश्य र गुठी स्थापना गर्न प्रस्ताव गरिएको सम्पत्तिको विवरण सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा गुठी दर्ता गर्न मनासिब देखिएमा त्यसरी निवेदन परेको पैँतीस दिनभित्र गुठी दर्ता गरी गुठी दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम गुठी दर्ता भएमा गुठी स्थापना भएको मानिनेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निजी गुठी दर्ता बिना पनि सञ्चालन गर्न सकिनेछ ।
तर कसैले त्यसरी निजी गुठी सञ्चालन गरेमा त्यसको जानकारी सम्बन्धित पञ्जिकाधिकारीलाई दिनु पर्नेछ ।
३१९. गुठी दर्ता गर्न इन्कार गर्न सकिने : (१) दफा ३१८ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा पञ्जिकाधिकारीले गुठी दर्ता गर्न इन्कार गर्न सक्नेछ :–
(क) दफा ३१६ बमोजिमको विवरण, कागजात तथा दस्तुर उल्लेख वा दाखिला नभएमा,
(ख) गुठीको नाम त्यस्तो गुठी दर्ता हुनुभन्दा अगाडि नै दर्ता भइसकेको अन्य कुनै गुठीको नामसँग मिल्ने भएमा,
(ग) गुठीको उद्देश्य वा शर्त सार्वजनिक हित, सदाचार, शिष्टाचार वा सार्वजनिक व्यवस्था (पव्लिक अर्डर) को कारणले अनुपयुक्त वा अवाञ्छित देखिएमा, कानूनसम्मत नभएमा वा अनिश्चित वा
अस्पष्ट भई कार्यान्वयन गर्न सम्भव नहुने भएमा ।
(२) उपदफा (१) बमोजिम कुनै गुठी दर्ता नहुने भएमा पञ्जिकाधिकारीले त्यसको कारण खुलाई पैँतीस दिनभित्र निवेदकलाई जानकारी दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम जानकारी प्राप्त भएपछि निवेदकले आवश्यक कुरा सच्याई पुनः गुठी दर्ता गर्न निवेदन गरेमा त्यसरी निवेदन परेको पन्ध्र दिनभित्र गुठी दर्ता गरी दफा ३१८ को उपदफा (१) बमोजिम गुठी दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
३२०. गुठी संस्थापना गर्न सम्पत्ति हस्तान्तरण गर्नु पर्ने : (१) गुठीे संस्थापकले आपूmले गुठीको लागि छुट्याएको सम्पत्ति गुठी स्थापना भएको तीन महिनाभित्र गुठी सञ्चालकलाई हस्तान्तरण गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम हस्तान्तरण गर्नु पर्ने सम्पत्ति अचल भएमा त्यस्तो सम्पत्ति कानून बमोजिम हस्तान्तरण गरेको अवस्थामा मात्र रीतपूर्वक हस्तान्तरण भएको मानिनेछ ।
(३) नेपालमा गुठी स्थापना गर्ने विदेशी व्यक्तिले तीन महिनाभित्र कम्तीमा दश लाख अमेरिकी डलर बराबरको चल सम्पत्ति नियमित बैङ्किङ्ग प्रक्रिया (रेगुलर बैङ्किङ्ग च्यानल) बाट नेपाल ल्याई गुठी सञ्चालकको जिम्मा लगाउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम चल सम्पत्ति जिम्मा लगाएको जानकारी पञ्जिकाधिकारीलाई दिनु पर्नेछ ।
३२१. सम्पत्ति हस्तान्तरण नभएमा गुठी भङ्ग हुने : दफा ३२० बमोजिमको म्यादभित्र सम्पत्ति हस्तान्तरण नभएमा त्यस्तो गुठीको दर्ता स्वतः बदर भई गुठी भङ्ग भएको मानिनेछ ।
३२२. गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन संस्थापनापत्र बमोजिम हुनेः (१) गुठी सञ्चालकले गुठीको नामको सम्पत्ति संस्थापनापत्रमा उल्लेख भएको शर्त तथा बन्देजको अधीनमा रही सञ्चालन र व्यवस्थापन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्पत्ति सञ्चालन र व्यवस्थापन गर्दा संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक अचल सम्पत्ति वा त्यसको कुनै अंश सम्बन्धित पञ्जिकाधिकारीको पूर्व स्वीकृति बिना बिक्री गर्न, बन्धकी दिन वा अन्य कुनै किसिमले हक हस्तान्तरण गर्न सकिने छैन ।
(३) उपदफा (२) बमोजिम पञ्जिकाधिकारीको पूर्व स्वीकृति माग गर्दा त्यस्तो सम्पत्ति बिक्री, बन्धकी वा हक हस्तान्तरण गर्नु पर्ने कारण र त्यसबाट हितग्राहीलाई बढी लाभ हुन सक्ने कुराको कारण र आधार उल्लेख गर्नु पर्नेछ ।
३२३. गुठी सम्पत्ति उपयुक्त ढङ्गबाट सञ्चालन र व्यवस्थापन गर्नु पर्ने : (१) गुठी सञ्चालकले आफ्नो क्षमता तथा विवेक इमानदारीपूर्वक प्रयोग गरी उपयुक्त ढङ्गबाट गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन गर्दा त्यस्तो सम्पत्तिको हानि, नोक्सानी नहुने गरी दिगो रूपमा कायम रहने प्रबन्ध गर्नु पर्नेछ ।
(३) संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) र (२) बमोजिम गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन गर्दा गुठीको उद्देश्य पूरा गर्न तत्काल आवश्यक नपर्ने सम्पत्तिबाट प्राप्त भएकोआर्जन वापतको रकम गुठीको उद्देश्य पूरा गर्न लगानी गर्न सकिनेछ ।
(४) संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (३) बमोजिम लगानी गर्दा तत्काल लगानी गर्ने कूल रकमको देहायको अनुपातमा देहाय बमोजिम लगानी गर्न सकिनेछ :–
(क) कम्तीमा पच्चीस प्रतिशत रकम नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र, बचतपत्र (टेजरी बिल) वा नेपाल सरकारबाट जमानत प्राप्त ऋणपत्र खरिद गरेर,
(ख) बढीमा पच्चीस प्रतिशत रकम वाणिज्य बैङ्कको मुद्दति खातामा जम्मा गरेर,
(ग) बढीमा दश प्रतिशत रकम विकास बैङ्कको मुद्दति खातामा जम्मा गरेर,
(घ) बढीमा पाँच प्रतिशत रकम वाणिज्य बैङ्कको साधारण शेयर खरिद गरेर,
(ङ) बढीमा दश प्रतिशत रकम वित्त कम्पनीको मुद्दति खातामा जम्मा गरेर,
(च) बढीमा पाँच प्रतिशत रकम सूचीकृत पब्लिक लिमिटेड कम्पनीको खुला रूपमा कारोबार हुने साधारण शेयर खरिद गरेर ।
(५) उपदफा (४) बमोजिम गरिएको लगानी सम्बन्धमा गुठी सञ्चालकले समय समयमा अनुगमन गर्नु पर्नेछ र त्यसरी अनुगमन गर्दा एक क्षेत्रमा भएको लगानीको प्रतिफल कम हुने देखिएमा लगानीका शर्त बन्देजको अधीनमा रही त्यस्तो लगानी झिकी बढी प्रतिफल हुने अर्को क्षेत्रमा लगानी गर्न सकिनेछ ।
(६) उपदफा (५) बमोजिम अनुगमन वा लगानी गर्दा आवश्यकता अनुसार सम्बन्धित क्षेत्रको विशेषज्ञको राय लिन सकिनेछ ।
(७) उपदफा (६) बमोजिम लिएको रायलाई अनुगमन वा लगानीको लागि आधार मान्न सकिनेछ ।
(८) गुठी सञ्चालकले आफ्नो निजी सम्पत्ति र गुठी सम्पत्ति अलग अलग राखी त्यसको व्यवस्थापन तथा सञ्चालन गर्नु पर्नेछ र खाता सञ्चालन गर्नु पर्ने भए छुट्टाछुट्टै खाता राख्नु पर्नेछ ।
३२४. गुठी सञ्चालक नियुक्त गर्नु पर्ने : (१) गुठी सम्पत्तिको सञ्चालन, व्यवस्थापन, संरक्षण, हेरविचार गर्न तथा त्यस्तो सम्पत्तिबाट प्राप्त लाभ हितग्राहीको लागि प्रयोग गर्न वा त्यसको उपयुक्त प्रबन्ध गर्न गुठी सञ्चालकको नियुक्ति गर्नु पर्नेछ ।
(२) संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठी सञ्चालकको नियुिक्त गुठी संस्थापकले गर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम गुठी सञ्चालक नियुक्त नभएकोमा वा हुन नसकेमा गुठी संस्थापक नै गुठी सञ्चालक भएको मानिनेछ ।
३२५. गुठी सञ्चालकको अयोग्यता : देहायको व्यक्ति गुठी सञ्चालक हुन योग्य हुने छैन :–
(क) करार गर्न अयोग्य भएको,
(ख) आफ्नो जिम्मामा रहेको सम्पत्ति हिनामिना गरेको,
(ग) भ्रष्टाचारको कसूरमा अदालतबाट दोषी ठहरिएको,
(घ) नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको,
(ङ) गुठी सञ्चालन भएको सम्पत्तिको आफू मात्र हितग्राही भएको ।
३२६. गुठी सञ्चालकको सङ्ख्या ः संस्थापनपत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक यस परिच्छेदको अन्य व्यवस्थाको अधिनमा रही गुठी सञ्चालकको सङ्ख्या कम्तीमा एकजना र बढीमा एघार जनासम्म हुनेछ ।
३२७. सङ्गठित संस्था गुठी सञ्चालक हुन सक्ने : (१) कानून बमोजिम स्थापना भएको सङ्गठित संस्था गुठी सञ्चालकको रूपमा नियुक्त हुन सक्नेछ । (२) उपदफा (१) बमोजिमको संस्था गुठी सञ्चालकमा नियुक्त भएमा त्यस्तो संस्थाको मुख्य भई काम गर्ने व्यक्ति वा त्यस्तो संस्थाको सञ्चालक समितिले निर्णय गरी अधिकार प्रत्यायोजन गरिएको व्यक्तिले त्यस्तो संस्थाको तर्फबाट काम गर्नु पर्नेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “मुख्य भई काम गर्ने व्यक्ति” भन्नाले त्यस्तो संस्थाको अध्यक्ष, सञ्चालक, प्रबन्ध सञ्चालक, महाप्रबन्धक, कार्यकारी निर्देशक वा संस्थाको प्रमुख भई काम गर्न त्यस्तो संस्थाबाट अधिकार पाएको व्यक्ति सम्झनु पर्छ ।
३२८. गुठी सञ्चालकको पद रिक्त सम्बन्धी व्यवस्था : (१) देहायका कुनै अवस्थामा गुठी सञ्चालकको पद रिक्त हुनेछ :–
(क) गुठी सञ्चालक हुन निज अयोग्य भएमा,
(ख) निजले गुठी सञ्चालकको पदबाट राजीनामा दिएमा,
(ग) निजको मृत्यु भएमा वा दामासाहीमा परेमा,
(घ) सङ्गठित संस्था भए कानून बमोजिम विघटन, खारेजी भएमा वा दामासाहीमा परेमा,
(ङ) निश्चित अवधिको लागि गुठी स्थापना भएको भए सो अवधि पूरा भएमा,
(च) निश्चित पदावधि तोकी गुठी सञ्चालक नियुक्त भएकोमा त्यस्तो पदावधि समाप्त भएमा,
(छ) गुठी सम्पत्ति हिनामिना गरेको वा त्यस्तो सम्पत्तिको मनासिब हेरचाह नगरेको कारण देखाई गुठी संस्थापक वा अदालतले निजलाई हटाएमा ।
(२) उपदफा (१) बमोजिम गुठी सञ्चालकको पद रिक्त भएमा त्यस्तो पद संस्थापनापत्रमा उल्लेख भएको कार्यविधि पूरा गरी पदपूर्ति गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम गुठी सञ्चालकको पदपूर्ति हुन नसकेमा हितग्राही भए निजले र हितग्राही नभए वा हितग्राही यकिन हुन नसकेमा सम्बन्धित स्थानीय तहले गुठी सञ्चालक नियुक्ति गर्न सम्भावित नामावली सहित सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम गुठी सञ्चालक नियुक्त गर्न निवेदन पर्न आएमा जिल्ला अदालतले संस्थापनापत्रको भावना अनुरूप निवेदकले उपलब्ध गराएको उम्मेदवारको नामावलीमध्येबाट उपयुक्त व्यक्तिलाई गुठी सञ्चालकको पदमा नियुक्त गर्नु पर्नेछ ।
(५) उपदफा (१) बमोजिमको कारणबाट कुनै गुठी सञ्चालक पदबाट मुक्त भएमा निजले यथाशीघ्र आफ्नो जिम्मा, नियन्त्रण वा उपभोगमा रहेको गुठीको सम्पत्ति अन्य सञ्चालकलाई हस्तान्तरण गर्नु पर्नेछ र त्यसरी निज पदमुक्त भएको कारणले मात्र निजल सञ्चालक हुँदाका बखत गरेको काम कारबाही वापतको कुनै किसिमको दायित्व वा कानूनी कारबाहीबाट उन्मुक्ति पाउने छैन ।
तर सबै सञ्चालक पदमुक्त हुने भएमा अर्को सञ्चालक नियुक्त भएपछि त्यस्तो सम्पत्ति हस्तान्तरण गर्नु पर्नेछ ।
(६) यस दफा बमोजिम एक जना मात्र सञ्चालक भएको सार्वजनिक गुठीको सञ्चालक पद रिक्त भएमा वा पदपूर्ति भएकोमा त्यसको जानकारी पञ्जिकाधिकारीलाई दिनु पर्नेछ ।
३२९. गुठी सञ्चालकको उत्तराधिकारको क्रम तोक्नु पर्ने : (१) गुठी सञ्चालकको उत्तराधिकारी सर्ने सम्बन्धमा संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठी सञ्चालकको मृत्युपछि निजको ज्येष्ठतम छोरा, छोरा बुहारी वा छोरीले प्राथमिकताक्रमको आधारमा गुठी सञ्चालकको पद प्राप्त गर्नेछ र निजमध्ये कोही नभए निजको हकवालाले गुठी सञ्चालकको पद प्राप्त गर्नेछ ।
(२) उपदफा (१) बमोजिम गुठी सञ्चालक हुने व्यक्ति गुठी सञ्चालक हुन योग्य रहेनछ भने त्यस्तो व्यक्ति अयोग्य रहेको अवधिसम्म निजको संरक्षक वा निजलाई हेरचाह गर्ने व्यक्तिले निजको तर्फबाट गुठी सञ्चालकको दायित्व पूरा गर्नु पर्नेछ ।
(३) संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै व्यक्तिको सन्तान दरसन्तान गुठी सञ्चालक हुने गरी व्यवस्था भएको रहेछ भने आ–आप्mनो हकसम्मको हदसम्म त्यस्तो व्यक्तिको सन्तान दरसन्तानले गुठी सञ्चालकको पद प्राप्त गर्ने छन् र त्यस्तो अवस्थामा दफा ३२६ को व्यवस्था लागू हुने छैन ।
३३०. विशेष परिस्थितिमा गुठी सञ्चालकको दायित्व निर्वाह गर्नु पर्ने : गुठी सञ्चालकको सम्पूर्ण पद रिक्त भई दफा ३२८ को उपदफा (२) बमोजिम तत्काल गुठी सञ्चालकको पदपूर्ति हुन
सक्ने अवस्था नभएमा त्यसरी पदपूर्ति नभएसम्मको अवधिको लागि स्थानीय तहले गुठी सञ्चालकको रूपमा काम गर्नु पर्नेछ ।
३३१. सर्वसम्मत निर्णयद्वारा गुठी सञ्चालन गर्नु पर्ने : (१) एकभन्दा बढी गुठी सञ्चालक रहेको गुठीमा संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक सम्भव भएसम्म गुठी सञ्चालकहरू सबैको सर्वसम्मत निर्णयद्वारा गुठी सञ्चालन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सर्वसम्मत कायम हुन नसकेमा तत्काल कायम रहेका गुठी सञ्चालकहरूको बहुमतद्वारा र त्यस्तो सम्भव नभएमा उमेरको हिसाबले ज्येष्ठ गुठी सञ्चालकको निर्णय बमोजिम गुठी सञ्चालन हुन सक्नेछ ।
३३२. गुठीको उद्देश्य कार्यान्वयन गर्ने : गुठी सञ्चालकले गुठी संस्थापनापत्रमा उल्लेख भए बमोजिम गुठीको उद्देश्य कार्यान्वयन गर्नु पर्नेछ र त्यसरी गुठीको उद्देश्य कार्यान्वयन गर्दा निजले आफ्नो क्षमता, विवेक र इमान्दारीपूर्वक कार्य सम्पादन गर्नु पर्नेछ ।
३३३. गुठीको सम्पत्तिको अभिलेख राख्नु पर्ने : (१) गुठी सञ्चालकले गुठीको सम्पत्तिको फाँटबारी तयार गरी अभिलेख अद्यावद्यिक गर्नु पर्नेछ र सार्वजनिक गुठीको हकमा प्रत्येक वर्ष त्यस्तो अभिलेखको एक प्रति पञ्जिकाधिकारी समक्ष दाखिला गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको फाँटबारीमा कूल सम्पत्ति, ऋण, वा त्यस्तो सम्पत्ति कुनै व्यवसायमा लगानी गरेको भए सोको साँवा, ब्याज वा अन्य कुनै प्रतिफल प्राप्त गरेको भए सो समेत उल्लेख गर्नु पर्नेछ ।
३३४. गुठी सम्पत्तिको संरक्षण : (१) गुठी सञ्चालकले गुठीको सम्पत्ति सम्भार तथा संरक्षण गर्नु पर्नेछ र त्यस्तो प्रयोजनको लागि कुनै किसिमको कानूनी कारबाही गर्नु पर्ने भए वा कुनै सार्वजनिक अधिकारी समक्ष कुनै किसिमको रीत पु¥याउनु पर्ने भए त्यस्तो समेत गर्न सक्नेछ ।
(२) गुठीको सम्पत्ति संरक्षण वा सम्भार गर्दा गुठी सञ्चालकले आफ्नै सम्पत्ति सरह उचित र मनासिब हेरविचार तथा गुठी सम्पत्तिको अभिवृिद्व हुने काम गर्नु पर्नेछ ।
३३५. हितग्राहीको हित प्रतिकूल हुने गरी गुठी सम्पत्तिको भोगचलन गर्न नहुनेः गुठी सञ्चालकले गुठीको सम्पत्ति हितग्राहीको हित प्रतिकूल हुने गरी आप्mनो वा अरू कसैको लागि भोगचलन वा प्रयोग गर्न हुँदैन ।
३३६. गुठी सम्पत्ति नोक्सानी हुनबाट रोक्नु पर्ने : (१) हितग्राहीको हित प्रतिकूल वा गुठीको उद्देश्य विपरीत हुने गरी गुठीको विनाश गर्ने, अन्त्य गर्ने वा अन्य कुनै किसिमले नोक्सानी गर्ने काम हुन दिनबाट रोक्ने दायित्व गुठी सञ्चालकको हुनेछ ।
(२) गुठीको सम्पत्ति उपयुक्त ढंगबाट व्यवस्थापन नभएमा, ठगी वा जालसाजी भएमा, हिनामिना भएमा वा गुठीको उद्देश्य पूरा नगरी गुठी सम्पत्तिको अन्यत्र उपयोग भएमा कुनै संस्थापक वा हितग्राहीले संस्थापनापत्रमा उल्लिखित व्यवस्थाको अधीनमा रही गुठी सम्पत्ति त्यसरी हिनामिना हुनबाट रोक्न अदालतमा उजुरी गर्न सक्नेछ ।
तर सार्वजनिक गुठीको हकमा जोसुकैले पनि उजुरी गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम परेको उजुरी बमोजिम गुठी सम्पत्ति व्यवस्थापन नभएको, ठगी, जालसाज वा हिनामिना भएको वा अन्यत्र उपयोग भएको ठहर भएमा अदालतले हिनामिना गर्नेबाट बिगो असुल उपर गर्नेछ र गुठी सञ्चालकले त्यसरी हिनामिना गरेको रहेछ भने निजबाट त्यस वापत क्षतिपूर्ति समेत भराउन सक्नेछ ।
३३७. गुठीको लेखा राख्नु पर्ने : (१) गुठी सञ्चालकले गुठी सम्पत्तिको हिसाब स्पष्ट र वास्तविक रूपमा देखिने गरी लेखा राख्नु पर्नेछ र पञ्जिकाधिकारी, गुठी संस्थापक वा हितग्राही पहिचान भएकोमा निजले निरीक्षण गर्न चाहेमा त्यसको विवरण उपलब्ध गराउनु पर्नेछ ।
(२) गुठी सञ्चालकले सार्वजनिक गुठीका सम्बन्धमा प्रत्येक वर्ष मान्यता प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई लेखापरीक्षण प्रतिवेदनको एक प्रति पञ्जिकाधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
३३८. गुठीको उल्लङ्घन : (१) गुठी सञ्चालकले यस परिच्छेद बमोजिम पूरा गर्नु पर्ने दायित्व पूरा नगरेमा निजले गुठी उल्लङ्घन गरेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम गुठीको उल्लङ्घन भएमा त्यसबाट गुठीको सम्पत्ति वा हितग्राहीलाई हुन गएको हानि, नोक्सानी वापत त्यसरी गुठी उल्लङ्घन गर्ने गुठी सञ्चालक जिम्मेवार हुनेछ र त्यस वापतको दायित्व निजले व्यहोर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम दायित्व व्यहोर्नु पर्दा गुठी उल्लङ्घन नहुँदा गुठी वा हितग्राहीलाई जे जस्तो आय वा लाभ हुने थियो सोही बराबरको लाभ गुठी उल्लङ्घन गर्ने गुठी सञ्चालकले व्यहोर्नु पर्नेछ ।
(४) कुनै गुठीमा एकभन्दा बढी गुठी सञ्चालक भएकोमा गुठी उल्लङ्घन गर्ने प्रत्येक गुठी सञ्चालकले गुठी उल्लङ्घन गरेको कारणबाट हानि, नोक्सानी वापत सामूहिक रूपमा दायित्व व्यहोर्नु पर्नेछ ।
(५) कुनै गुठीको एक अंशमा गुठी उल्लङ्घन भएको र अर्को कुनै अंशमा लाभ प्राप्त भएकोमा गुठी सञ्चालकले त्यस्तो लाभलाई आप्mनो दायित्व पूरा गर्ने काममा प्रयोग गर्न सक्ने छैन ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा गुठी सञ्चालकले गुठी उल्लङ्घन सम्बन्धमा भएको हानि, नोक्सानी वापतको दायित्व व्यहोर्नु पर्ने छैन :–
(क) कानूनको कार्यान्वयनबाट हुन गएको हानि, नोक्सानी,
(ख) आपूmभन्दा पहिलेको गुठी सञ्चालकको कुनै काम वा त्यसको परिणामबाट गुठी उल्लङ्घन हुन गई भएको हानि, नोक्सानी ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता प्रारम्भ हुनु भन्दा अघि तत्काल प्रचलित कानून बमोजिम संस्थापना भई सञ्चालन हुँदै आएका गुठीको सम्बन्धमा कसैले देहायको काम गरेमा गुठी उल्लङ्घन गरेको मानिनेछ :–
(क) गुठीको दानपत्र, शिलापत्र वा त्यस्तो गुठी राख्ने लिखत बमोजिमको काम नगरेमा,
(ख) गुठी राख्ने वा निजका सन्तान वा हकवालाले गुठीको दानपत्र शिलापत्र समेतका लिखत बमोजिमको काम चलाई भोग चलन गर्न पाउने शेष बाँकी बाहेक गुठीको जग्गा बेचबिखन गरेमा, दान दातव्य दिएमा वा धितो बन्धक राखेमा, वा (ग) गुठीको चल सम्पत्ति गुठीको कामका लागि चलन व्यवहार गर्दा मनासिब तवरले खिए घटेकोमा बाहेक गुठियारले हिनामिना गरेमा ।
(८) उपदफा (७) बमोजिम गुठीको उल्लङ्घन गरेमा यो संहिता प्रारम्भ हुँदाका बखत कायम रहेको कानून बमोजिम कारबाही हुनेछ ।
३३९. गुठी सम्पत्तिको लिखत गुठी सञ्चालकसँग रहनेः (१) गुठी संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठी सम्पत्तिको स्वामित्व तथा भोगचलन सम्बन्धी लिखत, कागजात तथा
त्यस सम्बन्धी अन्य सबुत प्रमाण सबै गुठी सञ्चालकको जिम्मामा रहनेछ र सार्वजनिक गुठीको हकमा त्यस्तो लिखत, कागजातको प्रतिलिपि गुठी सञ्चालकले पञ्जिकाधिकारी समक्ष दाखिला गर्नु पर्नेछ ।
तर पञ्जिकाधिकारीले नै स्वीकृति दिने लिखत, कागजात वा प्रमाणको प्रतिलिपि निज समक्ष दाखिला गर्नु पर्ने छैन ।
(२) उपदफा (१) बमोजिमका लिखत, कागजात तथा प्रमाण गुठी सञ्चालक तथा पञ्जिकाधिकारीले सुरक्षित तवरले राख्नु पर्नेछ ।
३४०. गुठी सम्पत्तिबाट शोधभर्ना लिन पाउनेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि गुठी सम्पत्ति संरक्षण गर्ने, गुठीको उद्देश्य कार्यान्वयन गर्ने वा हितग्राहीको हित संरक्षण गर्ने सिलसिलामा गुठी सञ्चालकले आप्mनो निजी वा अरू कसैको सम्पत्ति प्रयोग गरेको रहेछ भने त्यस्तो सम्पत्ति वापतको रकम गुठी सम्पत्तिबाट शोधभर्ना लिन पाउनेछ ।
३४१. अन्य अधिकार, कर्तव्य र दायित्व गुठी सञ्चालकमा रहेको मानिने : यस परिच्छेदमा स्पष्ट रूपमा उल्लेख भएको अधिकार, कर्तव्य र दायित्वका अतिरिक्त संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठीको उद्देश्य कार्यान्वयन गरी पूरा गर्न, गुठी सम्पत्तिको हेरविचार र संरक्षण गर्न तथा हितग्राहीको हक, हित संरक्षण गर्नको लागि आवश्यक पर्ने अन्य अधिकार र कर्तव्य गुठी सञ्चालकमा रहेको मानिनेछ ।
३४२. गुठी सञ्चालकले गर्न नहुने : (१) संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठी सञ्चालकले देहायको काम गर्न वा गराउन हुँदैन :–
(क) गुठीको सम्पत्ति गुठीको उद्देश्य पूरा गर्न बाहेक अन्य कुनै किसिमले प्रयोग गर्न,
(ख) गुठीको सम्पत्ति गुठीको उद्देश्य पूरा गर्न बाहेक आपूm वा अरू कसैलाई मुनाफा हुने कुनै काममा प्रयोग गर्न वा लगाउन,
(ग) अर्को गुठी सञ्चालक वा अन्य कसैलाई गुठी सञ्चालकको जिम्मेवारी वा दायित्व प्रत्यायोजन वा सुम्पन,
तर कुनै सामान्य कारोबारमा आफ्नो प्रतिनिधि वा वारेस नियुक्त गर्न वा त्यस्तो कारोबारको प्रकृतिले जिम्मेवारी वा दायित्व प्रत्यायोजन हुनु पर्ने रहेछ भने त्यस्तो जिम्मेवारी वा दायित्व सुम्पन्न वा हितग्राही यकिन भएकोमा त्यस्तो हितग्राहीको अनुमतिले कसैलाई कुनै जिम्मेवारी दिन बाधा पर्ने छैन ।
(घ) एकभन्दा बढी गुठी सञ्चालक भएकोमा दफा ३२९ विपरीत एक्लैले गुठी सम्बन्धी कुनै काम गर्न,
(ङ) गुठी सञ्चालक भए वापत निजले कुनै किसिमको पारिश्रमिक, भत्ता वा सुविधा प्राप्त गर्न, तर कार्यालय स्थापना गरी पूर्णकालीन वा आंशिक काम गरेकोमा वा गुठीको उद्देश्य वा हितग्राहीकोहित प्रतिकूल नहुने गरी पञ्जिकाधिकारीको पूर्व स्वीकृति लिई मनासिब पारिश्रमिक, भत्ता वा सुविधा लिन सकिनेछ ।
(च) गुठी सञ्चालक बहाल रहेको अवधिभर र गुठी सञ्चालकबाट अवकाश प्राप्त गरेको कम्तीमा तीन वर्ष व्यतीत नभई आफू सञ्चालक रहेको गुठीको सम्पत्ति खरिद गर्न वा त्यस्तो सम्पत्ति कुनै किसिमले धितो, बन्धक, लिज वा भाडामा लिन ।
(२) गुठी सञ्चालकले आफ्नो निजी सम्पत्ति र गुठी सम्पत्ति बीच आर्थिक कारोबार गर्न गराउन पाउने छैन । यस्तो कार्य गरेमा गुठी सम्पत्तिमा पुग्न गएको क्षति वापत निजले क्षतिपूर्ति दिनु पर्नेछ ।
(३) गुठी सञ्चालकले आफ्नो सम्पत्ति र गुठी सम्पत्तिलाई मिसाउन पाउने छैन ।
३४३. गुठी सम्पत्ति हस्तान्तरण गर्न निर्देशन दिने : संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक एक मात्र हितग्राही भएकोमा निज करार गर्न योग्य भएपछि र एकभन्दा बढी हितग्राही भए प्रत्येक हितग्राही करार गर्न योग्य भई एकमत भएपछि निजले गुठीको सम्पत्ति आपूmलाई हस्तान्तरण गर्न गुठी सञ्चालकलाई निर्देशन दिन सक्नेछन् र त्यसरी निर्देशन
दिएमा त्यस्तो निर्देशन पालना गर्नु गुठी सञ्चालकको कर्तव्य हुनेछ ।
तर सार्वजनिक गुठीको हकमा यो व्यवस्था लागू हुने छैन ।
३४४. गुठी सम्पत्तिको लाभ त्याग गर्न सक्ने : (१) निजी गुठीको हकमा करार गर्न योग्य भएको हितग्राहीले गुठी सम्पत्तिबाट प्राप्त गर्ने आप्mनो हक, लाभ, सुविधा वा हित गुठी सञ्चालक र पञ्जिकाधिकारीलाई लिखित रूपमा सूचना दिई आंशिक वा पूरै त्याग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गुठी सम्पत्तिबाट प्राप्त गर्ने हक, लाभ, सुविधा वा हित पूरै त्याग गरी कुनै हितग्राही बाँकी नरहेमा त्यस्तो गुठी विघटन भएको मानिनेछ ।
३४५. गुठी सम्पत्तिको स्वामित्व कायम गर्नु पर्ने : (१) गुठी सम्पत्ति दर्ता स्रेस्तामा गुठी जनाई संस्थापनापत्रमा उल्लेख भए बमोजिमको व्यक्तिको नाममा रहनेछ र संस्थापनापत्रमा स्वामित्व रहने व्यक्ति उल्लेख नभएकोमा हितग्राही व्यक्तिको नाममा रहनेछ ।
(२) सार्वजनिक गुठीको हकमा त्यस्तो गुठीको सम्पत्ति सञ्चालन तथा व्यवस्थापन गर्न छुट्टै सङ्गठित संस्था खडा गर्नु पर्ने व्यवस्था संस्थापनापत्रमा भएकोमा त्यस्तो सम्पत्ति त्यसरी खडा भएको सङ्गठित संस्थाको नाममा रहनेछ ।
३४६. गुठीको उद्देश्यमा हेरफेर हुन सक्नेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि गुठी संस्थापकले गुठी स्थापना गर्दाका बखत संस्थापनापत्रमा उल्लेख भएको उद्देश्य संशोधन वा हेरफेर गर्न उपयुक्त देखी कारण खुलाई पञ्जिकाधिकारी समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पर्न आएको निवेदन जाँचबुझ गर्दा संस्थापनापत्रमा उल्लिखित उद्देश्य संशोधन वा हेरफेर गर्नु पर्ने कारण मनासिब भएमा पञ्जिकाधिकारीले त्यस्तो उद्देश्य संशोधन वा हेरफेर गर्ने आदेश दिन सक्नेछ र त्यसरी आदेश भएकोमा सोही बमोजिम संस्थापनापत्रको उद्देश्य संशोधन वा हेरफेर भएको मानिनेछ ।
३४७. गुठी सम्पत्ति गणना नहुने : गुठी सञ्चालकले गुठी सम्पत्ति सञ्चालन र व्यवस्थापन गरेकोमा त्यस्तो सम्पत्ति कर निर्धारण गर्ने वा अन्य कुनै प्रयोजनको लागि गुठी सञ्चालकको सम्पत्तिको रूपमा गणना हुने छैन ।
तर त्यस्तो सम्पत्तिबाट कुनै लाभ, सुविधा वा हित प्राप्त गर्ने व्यक्तिको हकमा त्यस्तो लाभ, सुविधा वा हितलाई गणना गरिनेछ ।
३४८ गुठी बदर भएमा त्यसको परिणाम : (१) एक पटक स्थापना भएको गुठी कुनै कारणवश भङ्ग वा विघटन भएमा अघि भए गरेको काममा कुनै असर पर्ने छैन ।
(२) उपदफा (१) बमोजिम गुठी भङ्ग वा कुनै कारणले विघटन भएमा सार्वजनिक गुठीको हकमा त्यस्तो गुठीको सम्पत्ति संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक पञ्जिकाधिकारीको आदेशले गुठी सञ्चालकले त्यस्तै उद्देश्य भएको अन्य कुनै गुठी र त्यस्तो गुठी नभएकोमा समान उद्देश्य भएको कुनै सार्वजनिक संस्थालाई हस्तान्तरण गर्नेछ र निजी गुठी भए हितग्राही यकिन भएकोमा त्यस्तो हितग्राही र त्यस्तो हितग्राही नभएकोमा निजको नजिकको हकवाला र त्यस्तो हकवाला पनि नभएमा गुठी संस्थापक र गुठी संस्थापक पनि नभएमा अन्य हकवालालाई हस्तान्तरण गर्नेछ ।
(३) उपदफा (२) बमोजिमको कुनै संस्था वा व्यक्ति नभएमा भङ्ग वा विघटन भएको गुठीको सम्पत्ति नेपाल सरकारको हुनेछ ।
३४९. पुनरावेदन गर्न सक्ने : यस परिच्छेद बमोजिम पञ्जिकाधिकारीले गरेको आदेश वा निर्णय उपर चित्त नबुझ्ने पक्षले त्यस्तो आदेश वा निर्णय भएको थाहा पाएको मितिले पैँतीस
दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
३५०. अन्य गुठी सम्बन्धी व्यवस्था : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता प्रारम्भ हुनुभन्दा अघि नै तत्काल प्रचलित कानून बमोजिम संस्थापना भइ सञ्चालन हुँदै आएका गुठीलाई यस परिच्छेदका कुनै कुराले असर पार्ने छैन र त्यस्तो गुठी संस्थापना गर्ने दानपत्र, शिलापत्र, संस्थापनापत्र वा अन्य कुनै लिखतमा लेखिए बमोजिम वा रीत, परम्परा वा अभ्यास बमोजिम गुठी सञ्चालन गर्न सकिनेछ ।
तर त्यस्तो गुठी यो संहिता प्रारम्भ भएको तीन वर्षभित्र यस संहिता बमोजिम दर्ता गरी वा त्यस्तो गुठी सञ्चालन हँदै आएको जानकारी पञ्जिकाधिकारीलाई गराई अभिलेख राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको गुठी जुन उद्देश्य र प्रयोजनका लागि संस्थापना भएको थियो सोही उद्देश्य र प्रयोजनका लागि पूर्ववत रूपमा व्यवस्थापन र सञ्चालन गर्नु पर्नेछ र सोही बमोजिमको उद्देश्य र प्रयोजन पूरा गरी बाँकी रहेको सम्पत्ति वा आम्दानी भोग चलन गर्न वा धितो बन्धक राख्न सकिनेछ ।
(३) उपदफा (१) बमोजिम संस्थापना भएका गुठीको उद्देश्य र प्रयोजनमा प्रतिकूल असर नपर्ने गरी गुठीको सम्पत्ति खरिद बिक्रि गर्न सकिनेछ ।
(४) उपदफा (३) बमोजिम खरिद गरि लिने व्यक्तिले जुन प्रयोजनका लागि गुठी संस्थापना भएको हो सोही उद्देश्य र प्रयोजनका निमित्त सम्पत्ति प्रयोग गर्नु पर्नेछ ।
(५) सरकारी जग्गा प्राप्त गरी कुनै खास प्रयोजनका लागि उपदफा (१) बमोजिमको गुठी संस्थापना वा सञ्चालन गरेको भए त्यस्तो जग्गा जुन प्रयोजनका लागि गुठी सञ्चालन भएको थियो त्यस्तो उद्देश्य र प्रयोजन पूरा गर्न प्रयोग गर्नु पर्नेछ र त्यस्तो जग्गा गुठी राख्ने वा निजका सन्तान वा हकवालाले भोगचलन गर्न पाउने छैन ।
(६) उपदफा (५) बमोजिमको व्यक्तिले त्यस्तो गुठीको उद्देश्य र प्रयोजन पूरा नगरेमा जुन व्यक्तिले त्यस्तो उद्देश्य र प्रयोजन पूरा गरेको छ सोही व्यक्तिले त्यस्तो जग्गा भोग चलन गर्न पाउनेछ ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै लिखत नभई उपदफा (१) बमोजिमको गुठी कसैले निरन्तर रूपमा सोह्र वर्ष वा सोभन्दा बढी अवधि देखि सञ्चालन गर्दै आएको रहेछ भने त्यस्तो गुठीको उद्देश्य र प्रयोजन पूरा गरी त्यसको सम्पत्ति निजले भोग चलन गर्न सक्नेछ ।
(८) यस दफामा लेखिएको बाहेकका अन्य कुराहरू गुठी संस्थापना पत्र, शिलापत्र, दानपत्रमा लेखिए बमोजिम वा त्यस्तो गुठी सञ्चालन सम्बन्धी परम्परा र अभ्यास बमोजिम हुनेछ ।
३५१. हदम्याद (१) यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले नालिस गर्नु पर्दा देहायको विषयमा कुनै हदम्याद लाग्ने छैन :–
(क) गुठीको सम्पत्ति हिनामिना गरेको,
(ख) गुठीको सम्पत्तिसँग सम्बन्धित कुनै लिखत जालसाजी वा किर्ते गरेको,
(ग) गुठीको सम्पत्ति मासे खाएको,
(घ) सञ्चालकले गुठी संस्थापनापत्रको शर्त विपरीत फाइदा लिएको,
(ङ) गुठीको सम्पत्ति वा सोको मूल्य वा आय सञ्चालक वा अन्य व्यक्तिबाट फिर्ता गराउनु परेको ।
(२) उपदफा (१) मा उल्लिखित विषय बाहेक अन्य विषयमा नालिस गर्नु पर्ने कारण भएको मितिले छ महिनाभित्र नालिस गर्न सकिनेछ ।
परिच्छेद–७
फलोपभोग सम्बन्धी व्यवस्था
३५२. फलोपभोग (युजुफ्रुक्ट) को व्यवस्था भएको मानिनेः (१) कसैले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति, त्यसबाट प्राप्त हुने प्रतिफल, लाभ, आम्दानी वा सुविधा अर्को व्यक्तिले प्रयोग गर्न सक्ने गरी निःशुल्क रूपमा दिएकोमा फलोपभोगको व्यवस्था भएको मानिनेछ ।
(२) फलोपभोगको व्यवस्था सम्बन्धित व्यक्तिहरू बीच भएको करार बमोजिम हुनेछ ।
३५३. फलोपभोग प्रभावकारी हुनेः करार बमोजिम कायम भएको फलोपभोगको व्यवस्था करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक करार प्रारम्भ भएको मितिदेखि प्रभावकारी हुनेछ ।
३५४. लिखत गर्नु पर्ने : (१) कसैले आफ्नो अचल सम्पत्ति फलोपभोग गरी दिँदा कानून बमोजिम लिखत गर्नु पर्नेछ ।
(२) कसैले सगोलको सम्पत्ति फलोपभोगको रूपमा दिँदा एकासगोलको अंशियारको सहमति लिनु पर्नेछ ।
३५५. फलोपभोगीले आफ्नै सम्पत्ति सरह प्रयोग गर्न पाउनेः (१) कसैले आफ्नो सम्पत्ति कसैलाई फलोपभोग गर्न दिएकोमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने फलोपभोगीले त्यस्तो सम्पत्ति, त्यसबाट
प्राप्त वा आर्जन हुने प्रतिफल, लाभ, आम्दानी वा सुविधा र त्यसबाट बढे बढाएको प्रतिफल, लाभ, आम्दानी वा सुविधा आफ्नो सम्पत्ति सरह प्रयोग गर्न पाउनेछ ।
(२) उपदफा (१) बमोजिम सम्पत्ति प्राप्त गर्ने एकभन्दा बढी फलोपभोगी भएकोमा प्रत्येक फलोपभोगीले सामूहिक रूपमा वा एक्ला एक्लै त्यस्तो सम्पत्ति प्रयोग गर्न पाउनेछन् ।
(३) फलोपभोगको व्यवस्था अन्तर्गत प्राप्त भएको सम्पत्ति अंशबण्डा भएकोमा अंशबण्डा बमोजिम फलोपभोग गर्न पाउने प्रत्येक अंशियारले उपदफा (१) बमोजिम सम्पत्ति प्रयोग गर्न पाउनेछन्।
(४) फलोपभोगीले फलोपभोगको व्यवस्था अन्तर्गत प्राप्त भएको सम्पत्तिको संरक्षण वा भोगचलनको लागि आवश्यकतानुसार अदालतमा नालिस दिन सक्नेछ ।
३५६. फलोपभोगीले प्रयोग गर्न नसक्ने सम्पत्ति : दफा ३५५ मा जुनसुकै कुरा लेखिएको भए तापनि फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिसँग सम्बन्धित देहायका सम्पत्ति फलोपभोगीले प्रयोग गर्न सक्ने छैन :–
(क) सम्पत्तिसँग सम्बन्धित खानी तथा खनिज पदार्थ, तर खानी नै फलोपभोग अन्तर्गत प्रयोग गर्न दिएकोमा त्यस्तो खानी प्रयोग गर्न सकिनेछ ।
(ख) हुर्किसकेका रुख, तर रुखबाट प्राप्त हुने फल, फूल वा अन्य पैदावार प्रयोग गर्न सकिनेछ ।
३५७. स्वीकृति बिना सम्पत्तिको संरचना हेरफेर गर्न नपाउनेः फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त भएको सम्पत्ति स्वामित्ववालाको पूर्व स्वीकृति बिना त्यस्तो सम्पत्तिको मौलिक अवस्था (सब्स्टयान्स) वा त्यसको स्वरूप (फर्म) मा उल्लेख्य रूपमा हेरफेर गर्न वा त्यस्तो सम्पत्ति बिनाश गर्न पाउने छैन ।
तर फलोपभोग अन्तर्गत दिइएको सम्पत्तिको स्वरुप हेरफेर वा त्यसको बिनाश बिना प्रयोग गर्न नसकिने भए करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो सम्पत्ति फिर्ता गर्दा कायम हुन सक्ने मूल्य तिरी त्यस्तो सम्पत्तिको स्वरुप हेरफेर वा बिनाश गरी प्रयोग गर्न सकिनेछ ।
३५८. फलोपभोग अन्तर्गतको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिन सक्ने : (१) फलोपभोगीले चाहेमा फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति दफा ३५२ को उपदफा (२) बमोजिमको करारको अधीनमा रही लिखत गरी बहाल, लिज वा बन्धकीमा दिन सक्नेछ ।
तर, (१) मासिक बीस हजार रुपैयाँसम्ममा सम्पत्ति बहालमा दिँदा लिखत गर्नु पर्ने छैन ।
(२) त्यसरी बहाल, लिज वा बन्धकीमा सम्पत्ति दिएकोमा फलोपभोगीले स्वामित्ववालालाई जानकारी गराउनुपर्नेछ ।
(३) फलोपभोग अन्तर्गत प्राप्त सम्पत्ति फलोपभोग कायम रहनेभन्दा बढी अवधिको लागि बहाल, लिज वा बन्धकीमा दिन सकिने छैन ।
(२) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिँदा त्यस सम्बन्धी लिखतमा फलोपभोग अन्तर्गतको सम्पत्ति भएकोकुरा उल्लेख गर्नु पर्नेछ ।
(३) उपदफा (१) र (२) विपरीत कसैले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिएको भए त्यस्तो व्यवहार स्वतः बदर हुनेछ ।
(४) उपदफा (१) बमोजिम बहाल, लिज वा बन्धकीमा लिएको सम्पत्ति बहाल, लिज वा बन्धकी लिने व्यक्तिले फलोपभोगीले सरह प्रयोग गर्न सक्नेछ ।
३५९. फलोपभोग अन्तर्गतको सम्पत्ति मर्मत सम्भार तथा हेरविचार गर्नु पर्ने : (१) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति आफ्नै सम्पत्ति सरह मानी उचित र मनासिब
तवरले मर्मत सम्भार तथा हेरविचार गर्नु पर्नेछ ।
(२) कुनै व्यक्तिले फलोपभोग अन्तर्गतको सम्पत्ति बहाल, लिज वा बन्धकीमा लिएकोमा निजले त्यस्तो सम्पत्तिको उचित र मनासिब तवरले हेरविचार गर्नु पर्नेछ ।
(३) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको मर्मत सम्भार आफ्नै खर्चमा गर्नु पर्नेछ ।
तर विपद्को कारण सारभूत रकम (सब्स्ट्यान्सियल एमाउण्ट) खर्च गरी त्यस्तो सम्पत्ति मर्मत र सम्भार गर्नु परेमा स्वामित्ववालाको पूर्व स्वीकृति लिनु पर्नेछ र त्यसरी भएको मर्मत सम्भारको खर्च स्वामित्ववालाले व्यहोर्नु पर्नेछ ।
३६०. फलोपभोग अन्तर्गत प्राप्त सम्पत्तिको हानि, नोक्सानी गर्न नहुने : (१) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको हानि, नोक्सानी गर्न वा गराउनु हुँदैन ।
(२) फलोपभोगी वा दफा ३५८ बमोजिम बहाल, लिज वा बन्धकीमा लिने व्यक्तिले त्यस्तो सम्पत्ति प्रयोग गर्दा कुनै किसिमबाट हानि, नोक्सानी भएमा फलोपभोगी जिम्मेवार हुनेछ ।
तर विपद् परी त्यस्तो सम्पत्ति हानि, नोक्सानी भएकोमा फलोपभोगी जिम्मेवार हुने छैन ।
(३) उपदफा (२) बमोजिम सम्पत्ति प्रयोग गर्दा हुन सक्ने हानि, नोक्सानीका विरुद्ध फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको संरक्षणको लागि बीमा वा अन्य आवश्यकं सुरक्षात्मक उपाय अपनाउन सक्नेछ ।
३६१. कर वा शुल्क फलोपभोगीले व्यहोर्नु पर्ने : फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको कानून बमोजिम लाग्ने कर, मालपोत वा दस्तुर फलोपभोगीले व्यहोर्नु पर्नेछ ।
तर फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति वापत भुक्तान गर्नु पर्ने सम्पत्ति कर स्वामित्ववालाले व्यहोर्नु पर्नेछ ।
३६२. कसैले दाबी वा खिचोला गरेमा स्वामित्ववालालाई जानकारी दिनु पर्ने : (१) फलोपभोग अन्तर्गतको सम्पत्ति उपर कसैले अतिक्रमण, दाबी वा खिचोला गरेमा फलोपभोगीले त्यसको पन्ध्र दिनभित्र सो कुराको जानकारी स्वामित्ववालालाई गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जानकारी नगराउने फलोपभोगी त्यसबाट उत्पन्न हुन सक्ने परिणामप्रति जवाफदेही हुनेछ ।
३६३. फलोपभोगको व्यवस्था बहाल रहने अवधि : (१) फलोपभोगको व्यवस्था करारमा उल्लेख भएको अवधिसम्मको लागि बहाल रहनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा अन्यथा उल्लेख भएकोमा बाहेक देहायको अवधिभन्दा बढी फलोपभोगको व्यवस्था बहाल रहने छैन :–
(क) कुनै प्राकृतिक व्यक्ति फलोपभोगी भएमा निजको मृत्यु भएको वा फलोपभोगको व्यवस्था भएको उनन्पचास वर्ष पूरा भएकोमध्ये जुन पहिले हुन्छ त्यस्तो अवधि,
(ख) कुनै कानूनी व्यक्ति फलोपभोगी भएमा त्यस्तो व्यक्ति विघटन भएको वा फलोपभोगको व्यवस्था भएको उनन्तीस वर्ष पूरा भएकोमध्ये जुन पहिले हुन्छ त्यस्तो अवधि ।
स्पष्टीकरण : यस दफाको प्रयोजनका लागि “विघटन” भन्नाले कानूनी व्यक्तिको खारेजी, लिक्विडेशन, दर्ता खारेजी वा दामासाहीमा परेको अवस्था समेत सम्झनु पर्छ ।
(३) एकभन्दा बढी व्यक्ति फलोपभोगी भएकोमा करारमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै फलोपभोगीको मृत्यु वा विघटन भएको अनुपातमा फलोपभोगको सम्पत्ति स्वामित्ववालामा हस्तान्तरण हुनेछ ।
३६४. फलोपभोगको व्यवस्था रद्द गर्न सक्ने : (१) दफा ३६३ मा जुनसुकै कुरा लेखिएको भए तापनि फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति हानि, नोक्सानी गरेमा, दुरूपयोग गरेमा, जुन प्रयोजनको लागि फलोपभोग अन्तर्गत सम्पत्ति लिएको हो त्यस अनुरूप सम्पत्ति प्रयोग नगरेमा वा अन्य कुनै किसिमले त्यस्तो सम्पत्तिमा स्वामित्ववालाको हक अधिकार उपर प्रतिकूल असर पार्ने कुनै काम गरेमा सम्बन्धित स्वामित्ववालाले जुनसुकै बखत फलोपभोगको व्यवस्था रद्द गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम फलोपभोगको व्यवस्था रद्द भएमा फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति फिर्ता गर्नु पर्नेछ ।
३६५. फलोपभोगीले सम्पत्ति फिर्ता गर्न सक्नेः दफा ३६३ र ३६४ मा जुनसुकै कुरा लेखिएको भए तापनि फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति फलोपभोगीले प्रयोग गर्न नचाहेमा निजले जुनसुकै बखत त्यस्तो सम्पत्ति कम्तीमा पैँतालीस दिनको सूचना दिई स्वामित्ववालालाई फिर्ता गर्न सक्नेछ ।
३६६. फलोपभोगको व्यवस्था अन्त्य भएको मानिने : (१) देहायका कुनै अवस्थामा फलोपभोगको व्यवस्था अन्त्य भएको मानिनेछ :–
(क) दफा ३६३ बमोजिम फलोपभोग बहाल रहने अवधि समाप्त भएमा,
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “अवधि समाप्त” भन्नाले,–
(१) एकभन्दा बढी प्राकृतिक व्यक्ति फलोपभोगी भएकोमा सबभन्दा पछि जुन फलोपभोगीको मृत्यु हुन्छ सोही मितिबाट फलोपभोग समाप्त भएको मानिनेछ ।
(२) एकभन्दा बढी कानूनी व्यक्ति फलोपभोगी भएकोमा सबभन्दा पछि जुन फलोपभोगी कानूनी व्यक्तिको विघटन हुन्छ सोही मितिबाट फलोपभोग समाप्त भएको मानिनेछ ।
(ख) दफा ३६४ बमोजिम फलोपभोग रद्द भई सम्पत्ति फिर्ता भएमा,
(ग) दफा ३६५ बमोजिम फलोपभोगीले फलोपभोगको सम्पत्ति फिर्ता गरेमा,
(घ) फलोपभोगीले मनासिब कारण बिना फलोपभोगको व्यवस्था प्रभावकारी भएको मितिले छ महिनासम्म सो व्यवस्था अन्तर्गत प्राप्त सम्पत्ति प्रयोग नगरेमा,
(ङ) कुनैखास उद्देश्य पूरा गर्नको लागि फलोपभोगको व्यवस्था कायम गरिएको भए त्यस्तो उद्देश्य पूरा भएमा,
(च) फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति फलोपभोगीको नाममा कानून बमोजिम हस्तान्तरण हुन गएमा,
(छ) फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको पूर्ण रूपमा बिनाश भएमा ।
(२) उपदफा (१) बमोजिम फलोपभोगको व्यवस्था अन्त्य भएमा सो उपदफाको खण्ड
(च) वा (छ) को अवस्थामा बाहेक फलोपभोग अन्तर्गत कसैलाई दिएको सम्पत्ति स्वतः स्वामित्ववालामा सर्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको
निश्चित उमेर पूरा नभएसम्म बहाल रहने शर्तमा कुनै सम्पत्ति फलोपभोगको व्यवस्था अन्तर्गत दिएकोमा त्यस्तो व्यक्तिको त्यस्तो उमेर पूरा हुनु अगावै मृत्यु भएमा पनि निज
जीवित रहे सरह त्यस्तो उमेर पूरा हुने मितिसम्म फलोपभोगको व्यवस्था बहाल रहनेछ ।
३६७. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले सो काम कारबाही भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–८
सुविधाभार सम्बन्धी व्यवस्था
३६८. सुविधाभार (सर्भिच्यूडस्) को व्यवस्था भएको मानिने : (१) कसैको हक, स्वामित्व वा भोगचलनमा रहेको कुनै अचल सम्पत्ति वा त्यसको कुनै अंश अर्को सम्पत्तिका धनीले यस परिच्छेद बमोजिम भोगचलन वा प्रयोग गर्न पाउने भएकोमा सुविधाभारको व्यवस्था भएको मानिनेछ ।
(२) करार, अचल सम्पत्ति रहेको ठाउँको प्रकृति, प्रथा वा परापूर्वकालदेखि चलिआएको अभ्यास बमोजिम सुविधाभारको व्यवस्था कायम हुनेछ ।
३६९. सुविधाभारको व्यवस्था प्रयोग गर्न दिनु पर्ने : (१) दफा ३६८ बमोजिम सुविधाभारको व्यवस्था भएकोमा सम्बन्धित अचल सम्पत्तिको धनीले सुविधाभारको व्यवस्था बमोजिम आफ्नो अचल सम्पत्ति अर्को व्यक्तिलाई भोगचलन वा प्रयोग गर्न दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक प्रयोजनको लागि सुविधाभारको व्यवस्था भएकोमा त्यस्तो सुविधाभार वैयक्तिक प्रयोजनको लागि समेत प्रयोग गर्न सकिनेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम कायम भएको सुविधाभार कानून बमोजिम प्रयोग गर्न सकिनेछ ।
३७०. अचल सम्पत्तिको हस्तान्तरणबाट सुविधाभारको व्यवस्थामा प्रतिकूल असर नपर्ने : (१) सुविधाभार प्रदान गरेको अचल सम्पत्तिको धनीले आफ्नो हक र स्वामित्वमा रहेको त्यस्तो सम्पत्ति पूरै वा केही अंश कसैलाई कुनै व्यहोराले हस्तान्तरण गरेमा पनि त्यस्तो सम्पत्ति उपर रहेको सुविधाभारको व्यवस्था कायमै रहनेछ । (२) सुविधाभार प्रदान गरेको अचल सम्पत्तिको अंशबण्डा भएमा पनि प्रत्येक अंशियारले त्यस्तो सुविधाभार प्रदान गरेको मानिनेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सुविधाभार प्रदान गरेको अचल सम्पत्तिको हस्तान्तरण वा अंशबण्डा गर्दा त्यस्तो सम्पत्तिमा अन्यत्र सुविधाभारको व्यवस्था भई त्यसरी भएको हस्तान्तरण वा अंशबण्डाबाट हक कायम भएको व्यक्तिको अचल सम्पत्तिबाट सुविधाभार दिनु नपर्ने भए सोही हदसम्म सुविधाभार समाप्त भएको मानिनेछ ।
३७१. भोगचलन वा प्रयोग गर्न दिनु पर्ने : (१) कुनै जग्गामा कसैको हक, स्वामित्व वा भोगचलन भए पनि परापूर्वदेखि सार्वजनिक वा सामुदायिक रूपमा हिँडी आएको बाटो, पशु निकाल्ने निकास, वस्तुभाउ चराउने चौर, कुलो, नहर, पानीघाट, पोखरी, सार्वजनिक सडक, ढल, घोडेटो वा मूल बाटो, पाटी, पौवा, अन्त्यष्टीस्थल, मठ, मन्दिर, गुम्बा, चैत्य, मस्जिद, ईदगाह, कर्वला, कब्रिस्तान वा गिर्जाघर, सामुदायिक विद्यालय, अस्पताल वा त्यस्तै ्रकारका सार्वजनिकस्थल जुन प्रयोजनको लागि राखिएको हो सोही बमोजिम सम्बन्धित व्यक्तिलाई प्रयोग गर्न दिनुपर्नेछ ।
(२) उपदफा (१) मा लेखिएको व्यवस्थालाई प्रतिकूल हुने गरी सुविधाभार प्रदान गर्ने जग्गाको स्वामित्ववाला वा भोगाधिकारवालाले त्यस्तो जग्गा आवाद वा कमोद गर्न, त्यसमा कुनै संरचना निर्माण गर्न वा त्यसको अन्य कुनै किसिमले भोगचलन गर्न वा गराउन पाउने छैन ।
३७२. विपद् परेको बखत छिमेकीको घर वा जग्गा प्रयोग गर्न सकिने : आगलागी, भूकम्प, ज्वालामुखी, बाढी जस्ता विपद्परेको बखत कसैको घर वा जग्गामा प्रवेश वा प्रयोग नगरी त्यस्तो विपद्बाट पीडित हुनेको उद्धार गर्न नसकिने भएमा सम्बन्धित घर वा जग्गाको स्वामित्ववाला भए त्यस्तो घर वा जग्गाको स्वामित्ववालाको अनुमति लिई र घर वा जग्गाको स्वामित्ववाला तत्काल उपलब्ध नभए वा निजले अनुमति नदिए निजको अनुमति बिना नै त्यस्तो घर वा जग्गामा प्रवेश गरी पीडितको उद्धार गर्न वा गराउन सकिनेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “घर वा जग्गाको स्वामित्ववाला” भन्नाले सम्बन्धित घर वा जग्गा तत्काल उपयोग, भोग वा नियन्त्रण गरिरहेको व्यक्ति सम्झनु पर्छ ।
३७३. बाटोको सुविधाभार प्राप्त गर्ने : (१) पहिले बाटोको निकास भएको घर जग्गामा पछि विपद् परी बाटो विनाश भएमा त्यस्तो घर जग्गामा आउन जानको लागि पहिलेदेखि बाटो प्रयोग गरिरहेको व्यक्तिले सार्वजनिक मार्गसम्म पुग्ने मनासिब बाटोको सुविधाभार पाउनेछ ।
(२) उपदफा (१) बमोजिमको बाटोको सुविधाभार वरिपरिको सबै घर वा जग्गाको स्वामित्ववालासँग माग गर्न पाउने छैन र जुन दिशाबाट सार्वजनिक बाटोमा पुग्न सबभन्दा नजिक हुन्छ सोही दिशाको घर वा जग्गाको स्वामित्ववालासँग त्यस्तो सुविधाभार माग गर्न सक्नेछ ।
३७४. बाटो वा निकासको व्यवस्था नगरी घर वा जग्गा हस्तान्तरण गर्न नहुने : (१) कसैले पनि बाटो वा निकास भएको घर वा जग्गाको कुनै भाग छुट्याई कसैलाई हस्तान्तरण गर्दा लिनेदिने दुवै पक्षलाई बाटो वा निकासको व्यवस्था नगरी त्यस्तो घर वा जग्गा हस्तान्तरण गर्न हुँदैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो घर वा जग्गामा आउन जानको लागि अन्यत्र बाटो वा निकास भएमा बाटो वा निकासको व्यवस्था गर्नु पर्ने छैन ।
३७५. आधारभूत सेवा विस्तार गर्न पाउने : कुनै व्यक्तिको घरमा ढल निकास, खानेपानी, विद्युत सेवा, ग्याँस, टेलिफोन जस्ता आधारभूत सेवा उपलब्ध गराउन निजको आफ्नै जग्गाबाट वा
सार्वजनिक, सरकारी वा सामुदायिक जग्गाबाट सम्भव नहुने भएमा निजले सँधियारको जग्गाबाट त्यस्तो जग्गाको स्वामित्ववालालाई हानि, नोक्सानी नहुने गरी पाइप वा लाइन लैजान पाउनेछ ।
३७६. नदी वा खोला वा नदी वा खोलाको किनार प्रयोग गर्न सक्नेः कुनै व्यक्तिको निजी सम्पत्ति अन्तर्गत रहेको वा कुनै व्यक्तिको निजी सम्पत्तिबाट उत्पत्ति भएको नदी वा खोला वा त्यस्तो
नदी वा खोलाको किनाराको दुवै तर्फको चार मिटरसम्मको चौडाइ क्षेत्रमा जुनसुकै व्यक्तिले हिँडडुल गर्न वा त्यस्तो नदी वा खोलामा जल परिवहन गर्न वा डुङ्गा चलाउन वा माछा मार्ने काम गर्न सक्नेछ ।
तर बाह्रै महिना पानीको बहाव नभएको स–साना खोल्सामा त्यस्तो कार्य गर्न पाइने छैन ।
३७७. निकास मार्ग प्रयोग गर्न पाउने : (१) कुनै नदी वा खोलालाई डाइभर्सन गरेको, त्यसमा रिजर्भभ्वायरको निर्माण गरेको वा त्यसमा कुनै कारणले बाँध बाधेकोमा त्यस्तो डाइभर्सन, रिजर्भभ्यायर वा बाँधसम्म जान आउनको लागि सर्वसाधारण मानिस र पशु हिड्न सक्ने मनासिब निकास सम्बन्धित जग्गाको स्वामित्ववालाले दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिमको निकास मार्ग कायम गर्नु पर्दा एकभन्दा बढी जग्गाको स्वामित्ववालाको जग्गाबाट त्यस्तो निकास मार्ग कायम गर्न सकिने अवस्था भएकोमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो मार्गबाट डाइभर्सन, रिजर्भभ्वायर वा बाँधसम्म पुग्न प्राविधिक दृष्टिकोणले सम्भाव्य भएको सबभन्दा नजिकको जग्गाबाट निकास मार्ग कायम गर्नु पर्नेछ ।
३७८. प्राकृतिक रूपमा रहेको पानीको बहाव रोक्न नहुने : (१) प्रत्येक घर वा जग्गाको स्वामित्ववालाले आफ्नो घर वा जग्गाबाट निकास हुने वर्षाको पानीको व्यवस्थापन आफैँले गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको व्यवस्था नभएकोमा प्राकृतिक रूपमा वर्षाको पानी जता तर्फ बग्दछ सोही बमोजिम बग्न दिनु पर्नेछ ।
तर कुलो बनाई, भल नियन्त्रण वा बगेको पानी अन्य कुनै किसिमबाट डाइभर्सन गरी वा मानवीय हस्तक्षेपबाट तल्लो पट्टिको जग्गामा प्रतिकूल असर पर्ने गरी बगाउन पाइने छैन ।
३७९. खोला, नदी वा पोखरीको पानी प्रयोग गर्न सक्ने : कसैको जग्गामा उत्पत्ति भएको वा सोबाट बगेको खोला, नदी वा पोखरीको पानी सम्बन्धित धनीलाई पुगेपछि खानेपानी वा सिंचाईको प्रयोजनको लागि जोसुकैले पनि प्रयोग गर्न सक्नेछ ।
तर त्यसरी प्रयोग गर्दा सँधियारले प्राथमिकता पाउनेछ ।
३८०. खेती गर्नको लागि बाटो वा निकास दिनु पर्ने : (१) कुनै व्यक्तिको खेती गर्ने जग्गामा मानिस वा खेती गर्नको लागि प्रयोग हुने जनावर आउने जाने बाटो वा निकास रहेनछ र निजलाई त्यस्तो बाटो वा निकास चाहिने भएमा सम्बन्धित जग्गाको स्वामित्ववालाले त्यस्तो व्यक्तिलाई बाटो वा निकासको सुविधा दिनु पर्नेछ । तर घर कम्पाउन्डको जग्गाबाट त्यस्तो बाटो वा निकास दिन कुनै पनि व्यक्ति बाध्य
हुनेछैन ।
(२) उपदफा (१) बमोजिम बाटो वा निकास प्रयोग गर्ने व्यक्तिले बाटो वा निकास दिने व्यक्तिको जग्गाको बाली वा अन्य सम्पत्ति हानि, नोक्सानी नहुने गरी बाटो वा निकास प्रयोग गर्नु पर्नेछ ।
३८१. क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेः कसैले दफा ३७२, ३७३, ३७५, ३७७ र ३८० मा उल्लिखित प्रयोजनको लागि कुनै व्यक्तिको घर वा जग्गा प्रयोग गर्दा कसैलाई कुनै किसिमको हानि,
नोक्सानी हुन गएमा त्यस्तो व्यक्तिले सम्बन्धित घर वा जग्गाधनीलाई मनासिब क्षतिपूर्तिउपलब्ध गराउनु पर्नेछ ।
३८२. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्न जाने व्यक्तिलेत्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले ६ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–९
घर बहाल सम्बन्धी व्यवस्था
३८३ बहालमा दिएको मानिने : कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयको लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएकोमा बहालमा दिएको मानिनेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “घर” भन्नाले कुनै घर, घरको तल्ला, एकाई, कोठा वा त्यस्तो घरले चर्चेको जग्गा वा लगापात समेत सम्झनु पर्छ ।
३८४. असुरक्षित घर बहालमा दिन, लिन नहुने : (१) कसैले पनि मानव बसोबास गर्नको लागि स्वास्थ्य तथा सुरक्षाको दृष्टिले बसोबास गर्न उपयुक्त नदेखिएको घर बहालमा दिन वा लिन हुँदैन ।
(२) गोदाम, पशुपालन, भण्डार, शीत भण्डार जस्ता गैरआवासीय प्रयोजनको घरको गुणस्तर घर बहाल सम्झौतामा उल्लेख गरे बमोजिम हुनेछ ।
३८५. घर बहालको अवधि : (१) घर बहालको अवधि पाँच वर्षमा नबढाई सम्झौतामा उल्लेख गरे बमोजिम हुनेछ ।
तर व्यापारिक प्रयोजनका लागि घर बहाल दिएकोमा सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि घर बहालको अवधि समाप्त भएपछि घर बहालमा लिने दिने व्यक्तिहरूको सहमतिमा त्यस्तो अवधि पटक पटक थप गर्न सकिनेछ ।
३८६. बहालमा दिँदा सम्झौता गर्नु पर्ने : (१) कुनै व्यक्तिले घर बहालमा दिँदा देहायका कुराहरू खुलाई बहालमा लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्नेछ :–
(क) घर बहाल लिने र दिने व्यक्तिको पूरा नाम र ठेगाना, नागरिकता नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने प्रमाणपत्र,
(ख) घर रहेको ठाउँ र जग्गाको कित्ता नम्बर,
(ग) बहालमा लिने प्रयोजन,
(घ) बहाल शुरु हुने मिति,
(ङ) बहाल कायम रहने अवधि,
(च) मासिक बहाल रकम,
(छ) बहाल बुझाउने समय र प्रक्रिया,
(ज) घरमा प्रयोग भएका विजुली, खानेपानी, टेलिफोन आदिको महसुल बुझाउने दायित्व,
(झ) घर बहाल कर भुक्तानी गर्ने कुरा,
(ञ) बहालमा लिएको घरको बीमा गर्नु पर्ने भए सो सम्बन्धी कुरा,
(ट) बहालमा लिएको घर छाड्ने तथा बहालमा बसेको व्यक्तिलाई हटाउने सम्बन्धी कुरा, (ठ) बहालमा लिएको घर अन्य व्यक्तिलाई बहालमा दिन पाउने वा नपाउने कुरा, र
(ड) अन्य आवश्यक कुराहरू ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मासिक बीस हजार रूपैयाँसम्मको घर बहालमा लिन दिन बहाल लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्ने छैन ।
(३) उपदफा (१) बमोजिमको सम्झौताको लिखतमा बहाल बस्ने व्यक्तिको फोटो समेत टाँस गर्नु पर्नेछ ।
(४) उपदफा (१) बमोजिमको सम्झौताको लिखतमा बहालमा लिने दिने व्यक्ति र दुवै पक्षका कम्तीमा दुई जना साक्षीको सहीछाप गरी त्यस्तो लिखतको एक एक प्रति बहालमा लिने दिने व्यक्तिले लिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको प्रक्रिया पूरा गरेपछि बहाल सम्बन्धमा घरधनी र बहालमा लिने व्यक्तिबीच सम्झौता भएको मानिनेछ ।
३८७. घरको विवरण दिनु पर्ने : कसैले कुनै घर बहालमा दिँदा त्यस्तो घरको बनौट सम्बन्धमा कुनै कमजोरी वा त्रुटि भए त्यसको विवरण घर बहालमा लिने व्यक्तिलाई सम्झौता गर्दाका बखत दिनु पर्नेछ ।
३८८. मालसामान वा वस्तुको विवरण तयार गर्नु पर्ने : (१) घर धनीले आफ्नो घर बहालमा दिनु अघि बहालमा दिने घरमा रहे भएका मालसामान वा वस्तुको विवरण तयार गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम तयार गरिएको विवरणमा उल्लिखित मालसामान वा वस्तु बहालमा लिने व्यक्तिले प्रयोग गर्ने भएमा त्यस्तो मालसामान वा वस्तु बुझी त्यसको भरपाई घरधनीलाई दिनु पर्नेछ ।
३८९. घरधनीको दायित्व : घर बहालमा दिने घरधनीको दायित्व देहाय बमोजिम हुनेछ :–
(क) बहालमा बस्ने व्यक्तिलाई सम्झौता बमोजिम घर उपयोग गर्न दिनु पर्ने,(ख) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरमा पलब्ध भएसम्म पानी तथा विजुलीको आपूर्ति र ढल निकास तथा सरसफाइको व्यवस्था गर्नु पर्ने,
(ग) बहालमा बस्ने व्यक्तिलाई त्यस्तो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनबाट रोक्ने,
(घ) सम्झौतामा उल्लिखित अन्य कुराहरू पालना गर्ने ।
३९०. बहालमा लिने व्यक्तिको दायित्व : बहालमा लिने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछ :–
(क) निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नु पर्ने,
(ख) बहालमा लिएको घर आफ्नो घर सरह मानी सरसफाइ, उचित र मनासिब तवरले हेरचाह, संरक्षण तथा सुरक्षा गर्नु पर्ने,
(ग) आफू बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुने जस्ता कुनै काम गर्न नहुने,
(घ) सम्झौतामा उल्लिखित अन्य कुराहरू पालन गर्ने ।
३९१. बहाल बुझाउने तरिका र प्रक्रिया : (१) बहालमा लिने व्यक्तिले सम्झौतामा लेखिएको तरिका र प्रक्रिया बमोजिम घरधनीलाई बहाल बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बहाल बुझाउने सम्बन्धमा सम्झौतामा कुनै तरिका र प्रक्रिया उल्लेख नभएकोमा बहालमा लिने व्यक्तिले प्रत्येक महिना भुक्तान भएको सात
दिनभित्र घरधनीलाई बहाल बुझाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम बहाल बुझाउँदा चेक वा नगदै रूपमा बुझाउन सकिनेछ ।
(४) यस दफा बमोजिम घरधनीले नगदै बहाल बुझेकोमा त्यसको भरपाई गरी बहाल बुझाउने व्यक्तिलाई दिनु पर्नेछ ।
३९२. कर तथा अन्य दस्तुर बुझाउने दायित्व : (१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरको कानून बमोजिम लाग्ने कर लगायत अन्य दस्तुर बुझाउनु पर्ने दायित्व घरधनीको हुनेछ ।
(२) उपदफा (१) बमोजिम घरधनीको कर वा दस्तुर बुझाउने दायित्व भएमा र निजले समयमा कर वा दस्तुर नबुझाएमा बहालमा लिने व्यक्तिले त्यस्तो कर वा दस्तुर आफैँले बुझाउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम बहालमा लिने व्यक्तिले कर वा दस्तुरको रकम बुझाएकोमा निजले घरधनीसँग त्यस्तो रकम बहाल दिँदा कटाउन पाउनेछ ।
३९३. घरको बीमा गराउनु पर्ने : (१) औद्योगिक वा व्यावसायिक प्रयोजनको लागि घर बहालमा लिने व्यक्तिले त्यस्तो घरको सुरक्षाको लागि घरको बीमा गराउनु पर्नेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “औद्योगिक वा व्यावसायिक प्रयोजन” भन्नाले कुनै उद्योग सञ्चालन गर्ने वा डिपार्टमेन्टल स्टोर वा एक वा एकभन्दा बढी पसल राखी व्यापार वा व्यवसाय गर्ने कार्य सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम बीमा गराउनु पर्ने दायित्व भएको व्यक्तिले घरको बीमा नगराएमा र सो घर विपद्, अशान्ति, हुलदङ्गा, आगजनी जस्ता कारणबाट क्षति हुन गएमा त्यसको जिम्मेवारी घर बहालमा लिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।
३९४. बहालमा लिएको घरको मर्मत तथा सम्भार : (१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरको आवश्यक मर्मत सम्भार गर्ने दायित्व बहालमा लिने व्यक्तिको हुनेछ ।
(२) सम्झौतामा बहालमा लिएको घरको मर्मत सम्भार घरधनीले गर्ने कुरा उल्लेख भएमा र बहालमा लिएको कुनै घरको मर्मत सम्भार गर्नु पर्ने भएमा बहालमा लिने व्यक्तिले समयमानै घरधनीलाई लिखित सूचना गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना गर्दा पनि घरधनीले बहालमा दिएको घरको मर्मत सम्भार नगरेमा बहालमा बसेको व्यक्तिले त्यस्तो घरको आफैँले मर्मत सम्भार गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम घरको मर्मत सम्भार गर्दा लागेको बिल बमोजिमको रकम बहालमा बस्ने व्यक्तिले घर धनीलाई दिनु पर्ने बहाल रकमबाट कटाई लिन पाउनेछ ।
(५) उपदफा (३) बमोजिम घरको मर्मत, सम्भार गर्दा घरधनी र बहालमा बस्ने व्यक्ति बीच त्यस सम्बन्धमा छुट्टै सहमति भएकोमा बाहेक मर्मत सम्भार गर्नु अघि बहालमा लिने व्यक्तिले मर्मत, सम्भारको लागत अनुमान तयार गरी घरधनीलाई पन्ध्र दिन अघि नै लिखित जानकारी गराउनु पर्नेछ ।
३९५. बहालमा लिएको घर अर्को व्यक्तिलाई बहालमा दिन सक्ने : (१) घरधनीसँग सम्झौता हुँदा आफूले बहालमा लिएको घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई पुनः बहालमा दिन सक्ने कुरा उल्लेख भएकोमा बहालमा लिने व्यक्तिले त्यस्तो घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई सम्झौताको अधीनमा रही बहालमा दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बहालमा लिने व्यक्तिले घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई बहालमा दिएकोमा त्यसरी बहालमा लिने व्यक्तिको नाम र ठेगाना पन्ध्र दिनभित्र घरधनीलाई लिखित रूपमा दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम घर बहालमा लिने व्यक्तिले आफूले लिएको घर वा त्यसको कुनै अंशको बहाल त्यसरी बहालमा राख्ने व्यक्तिलाई बुझाउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम बहालमा लिएको व्यक्तिले बहालमा बस्दा यस परिच्छेद बमोजिम बहालवालाले पालना गर्नु पर्ने सबै शर्त र व्यवस्था पालन गर्नु पर्नेछ ।
(५) उपदफा (१) बमोजिम बहालमा लिएको व्यक्तिले बहालमा बस्दा शर्त बमोजिम काम नगरेमा, निजले बहालमा लिएको घरको सरसफाई, संरक्षण वा सुरक्षा नगरेमा वा निजले बहालमा बस्ने अन्य व्यक्ति वा छिमेकीलाई हैरानी, दुःख वा अशान्ति हुने कुनै काम गरेमा बहालमा दिने व्यक्तिले निजलाई जुनसुकै बखत घरबाट हटाउन सक्नेछ ।
३९६ स्वीकृति बिना संरचना हेरफेर गर्न नहुनेः (१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक घर बहालमा लिने व्यक्तिले घर धनीको लिखित स्वीकृति बिना बहालमा लिएको घरको कुनै संरचना भत्काउन, हटाउन, बिगार्न वा घरमा कुनै भाग थप गर्न वा अन्य कुनै किसिमले हेरफेर गर्न पाउने छैन ।
(२) उपदफा (१) विपरीत कुनै काम गरी बहालमा लिएको व्यक्तिले घरधनीलाई कुनै नोक्सानी पु¥याएमा घरधनीले बहालमा बस्ने व्यक्तिबाट आफूलाई परेको नोक्सानीको क्षतिपूर्ति भरार्ई लिन पाउनेछ ।
३९७. सम्झौता विपरीत घर प्रयोग गर्न नहुने : बहालमा लिने व्यक्तिले घरधनीको पूर्वस्वीकृति विना जुन प्रयोजनको लागि घर बहालमा लिएको हो त्यस्तो प्रयोजन बाहेक अन्य कामको लागि घर प्रयोग गर्न पाउने छैन ।
३९८. सम्झौता हेरफेर गर्न सक्नेः बहालमा लिने दिने व्यक्तिले आपसी समझदारीमा घर बहाल सम्झौतालाई आवश्यक हेरफेर गर्न सक्नेछन् ।
तर त्यस्तो सम्झौता यस संहिता बमोजिम रजिष्ट्रेशन पारित भएको रहेछ भने सम्बन्धित निकायमा निवेदन दिई हेरफेर गर्नु पर्नेछ ।
३९९. निरीक्षण गर्न सक्नेः (१) घरधनीले बहालमा लिने व्यक्तिलाई अग्रिम जानकारी दिई बहालमा दिएको घरको समय समयमा निरीक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम घरधनीले बहालमा दिएको घर निरीक्षण गर्न चाहेमा निजलाई निरीक्षण गर्न दिनु बहालमा लिने व्यक्तिको कर्तव्य हुनेछ ।
४००. बहालमा लिएको घर छाड्न सक्ने : (१) बहालमा लिने व्यक्तिले देहायका कुनै अवस्थामा घर बहालको अवधि समाप्त नहुँदै बहालमा लिएको घर छाड्न सक्नेछ :–
(क) घरधनीले दफा ३८९ बमोजिम आफ्नो दायित्व पूरा नगरेमा, (ख) जुन प्रयोजनको लागि घर बहालमा लिएको हो त्यस्तो कामको लागि निजलाई घर नचाहिने भएमा,
(ग) घरधनीले सम्झौता वा यस परिच्छेद विपरीत कुनै काम गरेमा ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिमको अवस्थामा बहालमा लिने व्यक्तिले घर छाड्नु परेमा सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक कम्तीमा पैँतीस दिन अगावै घरधनीलाई लिखित रूपमा सूचना दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना नदिई बहालमा लिने व्यक्तिले घर छाडेमा घरधनीले त्यस्तो समयको घरको बहालको रकम बहालमा बस्नेले अग्रिम दिएको भए
त्यसबाट कट्टा गर्न र नदिएको भए निजबाट भरार्ई लिन पाउनेछ ।
४०१. बहालमा लिने व्यक्तिलाई हटाउन सक्ने : (१) देहायका कुनै अवस्थामा घरधनीले बहालमा लिने व्यक्तिलाई घरबाट हटाउन सक्नेछ :-
(क) बहालमा बस्ने व्यक्तिले दफा ३९० बमोजिम आफ्नो दायित्व पूरा नगरेमा,
(ख) बहालमा बस्ने व्यक्तिले बहालमा लिएको घरभित्र कानूनले निषेध गरेको कसूरजन्य कुनै क्रियाकलाप गरेमा,
(ग) घर धनी आफैँलाई घर आवश्यक भएमा,
(घ) घरबाट मानिस हटाई घरको मर्मत सम्भार गर्नु परेमा,
(ङ) प्राविधिक तथा स्वास्थ्यका दृष्टिले बहालमा दिएको घरमा मानिस बसोबास गर्न उपयुक्त नदेखिएमा,
(च) घर बहालको अवधि समाप्त भएमा,
(छ) बहालमा बस्ने व्यक्तिले सम्झौता वा यस परिच्छेद विपरीत कुनै काम गरेमा,
(ज) दफा ३९५ को उपदफा (५) को अवस्था कायम भएमा ।
(२) उपदफा (१) को खण्ड (ग) बमोजिमको अवस्थामा बहालमा लिएको व्यक्तिलाई घरबाट हटाउनु परेमा घरधनीले कम्तीमा पैँतीस दिनको अग्रिम लिखित सूचना दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम घरधनीले बहालमा लिएको व्यक्तिलाई हटाएकोमा त्यस्तो घर आफूले प्रयोग नगरी तीन महिनासम्म अन्य व्यक्तिलाई बहालमा दिन पाउने छैन ।
(४) उपदफा (३) बमोजिम घरधनीले त्यस्तो घर तीन महिनाभित्र अन्य व्यक्तिलाई बहालमा दिने भएमा र पहिला बहालमा लिने व्यक्तिले त्यस्तो घर बहालमा लिन चाहेमा निजले प्राथमिकता पाउनेछ ।
४०२. घर बहालको सम्झौता समाप्त भएको मानिने : देहायको कुनै अवस्थामा दफा ३८६ बमोजिम गरेको घर बहालको सम्झौता समाप्त भएको मानिनेछ :-
(क) बहालमा लिने व्यक्तिले घर छाडेमा,
(ख) घरधनीले बहालमा बस्ने व्यक्तिलाई घरबाट हटाएमा,
(ग) बहालमा लिने, दिने व्यक्तिले आपसी सहमतिमा सम्झौता रद्द गरेमा,
(घ) घर बहालको अवधि समाप्त भएमा ।
४०३. मालसामान वा वस्तु दुरुस्त बुझाउनु पर्ने : (१) बहालमा लिने व्यक्तिले आफूले लिएको घर बहालबाट छाड्दा आफ्नो जिम्मामा रहेको मालसामान वा वस्तु गन्ती गरी तथा घर सफा
वा रङ्गरोगन गर्नु पर्ने भए सो समेत गरी घरधनीलाई दुरुस्त बुझाउनु पर्नेछ ।
(२) घर बहालमा लिने व्यक्तिले आफ्नो जिम्माको कुनै मालसामान वा वस्तु हराएमा वा हानि, नोक्सानी गरेमा त्यस्तो मालसामान वा वस्तु वा सो मालसामान वा वस्तुको प्रचलित मूल्य बमोजिमको रकम बहालमा लिने व्यक्तिले घरधनीलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दैनिक प्रयोग गर्दा खिइने वा नष्ट हुने मालसामान वा वस्तुको शोधभर्ना गर्न वा त्यस्तो मालसामान वा वस्तुको रकम दिन बहालमा लिने व्यक्ति बाध्य हुने छैन ।
४०४. घर खाली गराउन सक्ने : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि घर लिने कुनै व्यक्ति बिना सूचना तीन महिना वा सोभन्दा बढी अवधिसम्म बहाल रकम नबुझाई बेपत्ता भएमा र निजलाई सार्वजनिक रूपमा सूचना गर्दा वा निजको ठेगानामा पत्राचार गर्दा पनि फेला नपरेमा वा फेला परे पनि निज वा निजका कुनै हकवाला वा प्रतिनिधि उपस्थित नभएमा घरधनीले स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा त्यस्तो व्यहोराको निवेदन दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम निवेदन परेमा सम्बन्धित वडा कार्यालयले पन्ध्र दिनको सूचना दिई बहालवालालाई उपस्थित हुन सार्वजनिक सूचना गर्नेछ । (३) उपदफा (२) बमोजिमको सूचना प्रकाशन भएकोमा बहालवाला व्यक्ति त्यस्तो अवधिभित्र उपस्थित हुनु पर्नेछ । (४) उपदफा (३) बमोजिमको अवधिभित्र त्यस्तो व्यक्ति उपस्थित नभएमा सम्बन्धित वडा कार्यालयले बहालमा रहेको घर खोली मालसामान आफनो वा कुनै मानिसको जिम्मा रहने गरी घर खाली गराउन सक्नेछ । (५) उपदफा (१) बमोजिम बेपत्ता भएको मानिस छ महिनाभित्र फर्की आएमा वा आफनो कुनै प्रतिनिधि पठाएमा सम्बन्धित वडा कार्यालयले बहाल वापतको बाँकी रकम लिई मालसामान निजलाई फिर्ता दिनु पर्नेछ । (६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन परेको एक महिनाभित्र पनि त्यस्तो कार्यालयले कुनै कारबाही नगरेमा सम्बन्धित घरधनी आफैँले सम्वन्धित वडा कार्यालय र नजिकको प्रहरी कार्यालयमा निवेदन दिई प्रहरी कर्मचारी र कम्तीमा दुईजना स्थानीय व्यक्तिलाई साक्षी राखी लिखत खडा गरीे घर खोली निजको मालसामान प्रहरीको जिम्मा दिनु पर्नेछ ।
४०५. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–१०
दान बकस सम्बन्धी व्यवस्था
४०६. दान वा बकस भएको मानिने : (१) कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वको सम्पत्ति कुनै व्यक्तिलाई वा धार्मिक, सामाजिक, सार्वजनिक वा सामुदायिक कार्यको लागि निःशुल्क रूपमा दिने कार्यलाई दान मानिनेछ । (२) कुनै व्यक्तिले आफूलाई पालनपोषण गरी वा अन्य तवरले रिझाए वापत वा पारिवारिक स्नेह वा अनुरागको कारण आफ्नो हक र स्वामित्व पुग्ने सम्पत्ति इनाम, पुरस्कार वा बक्सिसको रूपमा त्यस्तो व्यक्तिलाई निःशुल्क रूपमा दिने कार्यलाई बकस मानिनेछ । (३) उपदफा (१) वा (२) बमोजिम दान वा बकस दिँदा दान वा वकस दिनासाथ वा कुनै निश्चित अवधि पछि वा दान वा वकसपत्र दिने व्यक्तिको मृत्यु पछि प्रभावकारी हुने गरी दान वा बकस दिन सकिनेछ ।
(४) उपदफा (३) बमोजिम दान वा वकस दिने व्यक्तिको मृत्यु पछि मात्र दान वा बकस प्रभावकारी हुने भएमा निजले शेष पछिको दान वा शेषपछिको बकस दिएको मानिनेछ ।
४०७. उदघोषण गरी सम्पत्ति दान दिन सक्ने : कुनै खास कामको लागि आयोजना गरिएको सार्वजनिक समारोहमा कसैले त्यस्तो कामको निमित्त खास रकम वा सम्पत्ति दान दिन लिखित वा सार्वजनिक रूपमा उदघोषण गरी त्यस्तो रकम वा सम्पत्ति दान दिन सक्नेछ ।
तर निजले त्यसरी दान दिएको सम्पत्ति हस्तान्तरण नगरेमा कुनै नालिस गर्न सकिने छैन ।
४०८. दान वा बकस बदर हुने : यस परिच्छेद बमोजिम दिइएको दान वा बकस देहायका कुनै अवस्थामा स्वतः बदर हुनेछ :–
(क) दान वा बकस पाउने व्यक्ति आफैँले वा आफनो प्रतिनिधि माफ र्् त दान वा बकसको सम्पत्ति स्वीकार नगरेमा,
(ख) कसैलाई शेषपछि हक हुने गरी सम्पत्ति दान वा बकस दिएकोमा दान वा बकस दिने व्यक्तिभन्दा दान वा बकस पाउने व्यक्ति अघि मरेमा वा दान वा बकस पाउने संस्था विघटन भएमा, (ग) गर्भमा रहेको शिशुलाई सम्पत्ति दान वा बकस दिएकोमा त्यस्तो शिशु जीवित रूपमा नजन्मिएमा, (घ) दान वा बकस प्रभावकारी नहुँदै दान वा बकस बमोजिमको सम्पत्तिको अस्तित्व नरहने गरी नासिएमा ।
४०९. दान वा बकस बदर गराउन सकिनेः (१) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा त्यस्तो दान वा बकस बदर गराउन सकिनेछ :-
(क) अन्य व्यक्तिको हक र स्वामित्वको सम्पत्ति दान वा बकस दिएमा,
(ख) कानून बमोजिम अन्य व्यक्तिको मञ्जुरी लिनु पर्नेमा त्यस्तो व्यक्तिको मञ्जुरी नलिई कुनै सम्पत्ति दान वा बकस दिएमा,
(ग) असक्षम वा अर्धसक्षम व्यक्तिले कुनै सम्पत्ति दान वा बकस दिएमा,
(घ) कानूनको रीत नपु¥याई सम्पत्ति दान वा बकस दिएमा ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिम अन्य व्यक्तिको मञ्जुरी लिनु पर्ने अवस्थामा मञ्जुरी नलिई दान वा बकस गरी दिएकोमा यसरी मञ्जुरी नलिएको हदसम्मको
सम्पत्ति बदर हुनेछ ।
४१०. शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउन सक्नेः (१) शेषपछिको बकसपत्र गर्ने व्यक्तिले चाहेमा जुनसुकै बखत सम्बन्धित अधिकारी समक्ष आफैँ उपस्थित भई निवेदन दिई आफूले
गरेको शेषपछिको बकसपत्रका शर्त संशोधन वा बकसपत्र रद्द गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम शेषपछिको बकसपत्र संशोधन वा रद्द गर्दा त्यस्तो व्यक्ति सम्बन्धित अधिकारी समक्ष उपस्थित भई छुुट्टै लिखत खडा गरी त्यस्तो शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउनु पर्नेछ । (३) उपदफा (२) बमोजिम शेषपछिको बकसपत्र रद्द वा संशोधन गर्ने लिखत गराउँदा शेषपछिको बकसपत्र गराउदाँको कार्यविधि अवलम्बन गर्नु पर्नेछ । (४) कसैले एकपटक शेषपछिको बकसपत्र गरिदिएको कुनै सम्पत्ति यस दफा बमोेजिम शेषपछिको बकसपत्र रद्द नगराई सोही सम्पत्ति अर्को व्यक्तिलाई शेषपछिको बकसपत्र गरी दिन सक्ने छैन । (५) उपदफा (४) को प्रतिकूल हुने गरी शेषपछिको बकसपत्र भएकोमा पहिले गरेको शेषपछिको बकसपत्र स्वतः मान्य हुनेछ ।
४११. शेषपछिको बकसपत्र बमोजिमको सम्पत्ति प्राप्त नगर्ने : शेषपछिको बकसपत्र प्रभावकारी नहुँदै त्यस्तो शेषपछिको बकसपत्र पाउनेले शेष पछिको बकसपत्र दिने व्यक्तिका विरुद्ध कुनै फौजदारी कसूर गरेको ठहरेमा निजले शेष पछिको बकसपत्र बमोजिम सम्पत्ति प्राप्त गर्न सक्ने छैन ।
४१२. हदम्याद : यस परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद तोकिएमा सोही बमोजिम, आफूले दान वा बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान वा बकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले दुई वर्षभित्र तथा अन्य अवस्थामा यस परिच्छेद बमोजिम भए गरेको काम, कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ । स्रोतः नेपाल कानून आयोग बांकी अर्काे हप्ता………