अशोक विश्वकर्मा/दुलेगौँडा ।
नेपाली समाजका छोरीहरु छोरा जति नै सक्षम छन् भन्ने कैयन उदाहरणहरु छन् । विशेषत माता पिताको स्वर्गबास पछि गरिने कर्मकाण्डमा भने छोराको आवश्यकतालाई प्राथमिकता दिने नेपाली समाजमा छोरीहरुले समेत उत्तिकै सहभागिता जनाउन सुरु गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका १ काठिपिपलकी तारा कुवंर अहिले आफ्नो आमाको क्रिया कर्म एक्लै गरेकी छन् ।
गत २० गते दुई छोरीकी आमा रुपन कुँवरको अल्यायुमा मृत्युभएपछि तारा बैदेशिक रोजगारीबाट फर्कि आफ्नै हातले दागवती दिएर क्रियाकर्म चलाएकी हुन् । ‘आमाको इच्छा थियो छोरीले क्रिया गरोस्, तारा सुनाउँछिन् ‘आमाको बचन पुरा गर्न पाएकोमा खुशी छु ।
१३ दिनसम्मको काजक्रियामा बसेकी तारालाई स्थानीय पण्डित कालिदाश पौडेलको समेत साथ रहेको छ । क्रियाथलोमा नै भेटिएका पण्डित पौडेलले छोरीसमेत आफ्नै सन्तान भएको हुदाँ कर्मकाण्डमा सहभागि हुन मिल्ने स्पष्ट पारे । पछिल्लो समय छोरीहरुको भूमिका नेपाली समाजमा प्रभावकारी बन्दै गएको र आमा बुवाको लालनपालनमा समेत छोरीहरु बढी सक्रिय देखिएकाले काजक्रियामासहभागि हुन कुनै रोकतोक गर्न नमिल्ने पण्डित पाैडेलले बताए । पौडेलले तारालाई छोरालै नै गर्ने सवै विधीबाट काजक्रिया गर्न सहयोग गरिरहेको जानकारी दिए ।
दुई छोरीमात्र भएपछि छोराकै लागि सन्तान संख्या नबढाएका घनश्याम अहिलेको दुखद परिस्थितीमा समेत सन्तुष्ट देखिनुहुन्छ । आफ्नो र श्रीमतीको मृत्युपछिको परिस्थितीबारेमा समाजको गाईगुईले बेलाबेलामा चिन्तित बनाउने गरेको स्मरण गर्दै घनश्यामले अहिले समाजमा आफ्नै परिवारबाट उदाहरणीय कामको थालनी भएकोमा सन्तुष्ट भएकाे बताउँछन् ।