११ माघ, तनहुँ ।
शुक्लागण्डकी नगरपालिकामा निर्माण गरिएको चिस्यान केन्द्र (कोल्ड स्टोर) र कृषि उपज संकलन केन्द्र संचालनमा आउन सकेको छैन । कृषि उत्पादनको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उदेश्यले करोडौं बजेट खर्च गरेर निर्माण गरिएका केन्द्रहरु नगरपालिकाले सञ्चालन गर्न नसकेको हो । नगरपालिकाले साढे २ करोड लगानीमा कोल्ड स्टोर र डेढ करोड लगानीमा कृषि उपज संकलन केन्द्र निर्माण ग¥यो । तर ती केन्द्रहरु सञ्चालन गर्ने कार्यविधि भने निर्माण गरेको छैन । नगर भित्र नै कोल्ड स्टोर र विक्रि केन्द्र दुवै निर्माण भएपछि गाउँमा फलेका कृषि उपजले उचित मुल्य पाउने आशा गरेका किसान निराश बनेका छन् ।
नगरपालिकाले आफ्नै वडामा कोल्ड स्टोर बनाएको देखेपछि शुक्लागण्डकी ८ का आलु उत्पादक कृषक निकै फुरुङ्ग थिए । कोल्ड स्टोरमा आलु भण्डारण गरेर राख्ने योजनाका साथ पोहोर साल उनीहरुले सधैं भन्दा धेरै मात्रामा आलु लगाए । तर गतवर्ष कोल्डस्टोर संचालनमा आएन । जनप्रतिनिधि र कर्मचारीको आश्वासनमा भर परेर विकल्प नखोज्दा किसानका बोराका बोरा आलु कुहिएर खेर गयो । “कोल्ड स्टोर बन्दैछ भनेर हामी धेरै उत्साहित थियौं, कोल्ड स्टोर बन्छ भन्ने सोचेर अघिल्लो वर्ष सिजनमा आलु बेचिएन, बेसिजनमा महंगोमा बेचौंला भनेर राख्दा कुहिएर खेर गयो ।”, व्यवसायिक रुपमा आलु खेती गर्दै आएकी युवा कृषक मञ्जु श्रेष्ठले भनिन् “पोहोर १२÷१३ बोरा आलु फाल्नुपरेकाले अहिले त जम्मा ३५ केजी विऊ लगाएको छु ।”
अर्का कृषक सीता महतले गतवर्ष आफ्नो ७ बोरा आलु कुहिएको गुनासो गरिन् । “पहिले पहिले पोखराको कोल्ड स्टोरमा आलु लगेर राखिन्थ्यो, अब त गाउँमै कोल्ड स्टोर बन्यो भनेर पोहोर पोखरा लगिएन, आखिरीमा कोल्ड स्टोर चलेन, हाम्रो आलु त्यसै कुहिएर खेर गयो ।” महतले भनिन् ।
शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दी क्षेत्र आलु र सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिले शुक्लागण्डकीका बाह्र वटै वडामा “एक वडा एक कृषि उत्पादन”को कार्यक्रम लागु गरेपछि गोलभेडा, खुर्सानी, बेसार लगायतका कृषि उत्पादन बढेको थियो। तर भण्डारण र बजारीकरण तर्फ नगरपालिकाले चासो नदेखाउँदा ती कार्यक्रमहरुले अहिले निरन्तरता पाउन सकेका छैनन् ।
शुक्लागण्डकी ८ का निर्वतमान वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले चिस्यान केन्द्र संचालनको लागि गतवर्ष नै तयार भएपनि नगरपालिकाले चासो नदेखाएको बताए । “कोल्ड स्टोर सञ्चालनका हामी दुई चार पटक नगरपालिकामा डेलिगेशन पनि गयौं, तर नगरपालिकाले कोल्ड स्टोर संचालन गर्न सकिने अवस्था छैन, घाटा हुन्छ, कुनै व्यक्ति, फार्म अथवा सहकारीले घाटा खाएरै पनि संचालन गर्छ भन्ने दिन्छौ भन्ने गैरजिम्मेवार जवाफ नगरपालिकाका जिम्मेवार व्यक्तिहरुले दिए, जुन दुःखद् कुरा हो” रेग्मीले भने ।
२ वष अघि नै निर्माण सम्पन्न भएको कृषि उपज संकलन केन्द्र र उपयोगका लागि तयारी अवस्थामा रहेको कोल्ड स्टोर, दुवै भवनहरु अहिले हावा खाएर बसेका छन् । नगरपालिका भने आफैले तयार पारेको यी दुवै संरचनाको डिजाईन गलत भएको भन्दै कार्यविधि समेत नबनाई बसेको छ । नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले कोल्ड स्टोरको डिजाईन गलत हुदाँ ढिलाई भैरहेको बताउछन् । यद्यपि कार्यविधि बनाएर यसैवर्षबाट संचालन गर्नेगरि तयारी भैरहेको पण्डितको भनाई छ । यस्तै, कृषि उपज संकलन केन्द्र पायक पर्ने स्थानमा नबनाईएका कारण प्रयोगमा आउन नसकेको उनले बताए । “बेलचौताराको कृषि उपज संकलन केन्द्र भूगोलको हिसाबले शुक्लागण्डकीको केन्द्रमा भएपनि जनघनत्वको हिसाबले बजारभन्दा अपायक ठाउँमा भयो, दुलेगांडा र खैरेनीटार बजारका मान्छे तरकारी किन्न त्यहाँ जान नसक्ने भएका कारण पनि व्यवहारिक भैरहेको छैन” पण्डितले भने ।
एकातिर, नगरपालिकाले करोडौं रकम लगानी गरेर तयार पारेको संरचना अलपत्र परेर बसेको छ । अर्कोतिर गाउँ गाउँमा उत्पादित कृषि उपजले न बजार पाएको छ न उचित मूल्य नै । स्थानीयस्तरमा उत्पादित कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्न नसक्दा बजारमा आयातीत कृषि सामाग्रीको बर्चस्व छ । कृषि उत्पादनलाई नारामा प्राथमिकता दिएको नगरपालिकाले कोल्ड स्टोर र कृषि उपज संकलन केन्द्र सञ्चालनमा तदारुकता देखाउन आवश्यक छ ।