अस्मिता खनाल/दुलेगौंडा ।
तनहुँको शुक्लागण्डकीमा जैविक मल उत्पादन गर्न थालिएकाे छ । शुक्लागण्डकी ९ स्थित गौ संरक्षण केन्द्रले व्यवसायिक प्रयाेजनका लागि जैविक मल उत्पादन गर्ने अभियान शुरु गरेको हाे । केन्द्रमा वायोडायनामिक पद्वती अनुसार जैविक पाेषणयुक्त मल तयार पार्न थालिएकाेे छ । गाेबरमा सिस्नो, खस्रु, जटामसि लगायतका विभिन्न जडीबुटी मिसाएर बनाईने यस प्रकारकाे मललाई वायाेडायनामिक खेती पद्धतिमा सीपीपी (काउ प्याट पिट) भनिन्छ ।
जैविक कृषि प्रशिक्षक महेन्द्रकुमार श्रेष्ठले जैविक पाेषणयुक्त मल बनाउने विधि सिकाएका हुन् । यसरी तयार पारिएको मलले माटो स्वस्थ बनाई बिरूवालाई आवश्यक खाद्य पाेषण परिपुर्ति गर्ने प्रशिक्षक श्रेष्ठले बताए । “हामी विरूवालाई जस्ताे खाना(मल) दिन्छाै, विरूवाले पनि हामीलाई त्यस्तै फल दिन्छ, वास्तविक स्वाद सहितकाे स्वस्थकर खाना उत्पादनका लागि खेतीमा जैविक पाेषणयुक्त मलकाे प्रयाेग आवश्यक छ” श्रेष्ठले भने “जैविक मलकाे प्रयाेगले प्रकृतिमैत्री कृषि संगसंगै सम्पूर्ण पारिस्थितिक प्रणाली र अर्थतन्त्रलाई सन्तुलनमा ल्याउँछ ।” उपभोक्तामा खाद्य पाेषणकाे सचेतना बढ्दै गएकाले बजारमा जैविक मलको माग भएकाे श्रेष्ठ बताउँछन् ।
मल बेचेर आम्दानी लिने उदेश्य राखेर पाेषणयुक्त जैविक मलकाे उत्पादन थालेकाे गाै संरक्षण केन्द्रकाे व्यवस्थापन गर्ने संस्था मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका अध्यक्ष होमनाथ लम्साल अर्जुनले बताए । गौ संरक्षण केन्द्रमा रहेका २०० गाईबाट दैनिक करिब ५०० केजी गोबर संकलन गरिने र सोही गोबर बाट गुणस्तरीय प्राङ्गारिक मल तयार पारी बिक्रि गर्ने लम्सालको भनाई छ । “रासायिनिक मल हालेर उब्जाईएको खानेकुराले विभिन्न रोग बढाउने रहेछ, त्यही बुझेर होला आजकल गाईकाे मल खोज्न धेरै जना आउनुहुन्छ, हामीले काँचो गोबर नै प्रति ट्याक्टर ६ हजारमा बेच्ने गरेका छौं, अब चाहिँ जैविक मलको व्यवसायिक विक्रि नै शुरु गर्ने गरि काम थालेका छौ” लम्सालले भने ।
गाै संरक्षण केन्द्रमा मात्रै हाेईन किसानले घरघरमा जैविक मलखाँद बनाउन थालेका छन् । प्रशिक्षक महेन्द्र श्रेष्ठकाे सहयाेगमा शुक्लागण्डकी ८ डहरेकी किसान मञ्जु श्रेष्ठले जैविक मलखाँद तयार पारेकी छन् । “स्वास्थ्यप्रति सचेत हुँदाहुदैं पनि पोहोर सम्म काउलीमा अलिकति भएपनि रासायिनिक मल नराखी फलाउन सक्दिन जस्ताे लाग्थ्याे, तर अहिले जैविक मल मात्रै प्रयोग गरेर राम्रा काउली फलाएँ ।” श्रेष्ठले भनिन् “जैविक मल राखेर उत्पादन गरेको तरकारीको स्वाद नै लोभलाग्दो छ, अर्गानिक खाना खादाँ र खुवाउँदा स्वस्थ छु भन्ने आत्मविश्वास बढेको छ ।”
शिक्षण संगसंगै पशुपालन र कृषिमा रमाएका शुक्लागण्डकी १२ प्युरीदोभानका किसान मन बहादुर भुजेलको टनेलमा लटरम्म काक्रो फलेको छ । गोबर मल र जैविक औषधीको प्रयोग गरि पूर्णरुपमा प्राङ्गारिक विधिबाट खेती गरेको उनी बताउँछन् । “बिषादी रहित तरकारी बेच्दा मन निर्धक्क हुन्छ, ग्राहकले पनि स्याबासी दिन्छन् ।”
शुक्लागण्डकी ६ दरगाउँकी कृषक राममाया खत्री क्षेत्रीले आफ्नो खेतबारीबाट रासायिनिक मल विस्थापन गरेकी छन् । यसै वर्ष जैविक मलखाँद बनाएकी खत्रीले भनिन् “धान, मकै होस् या लौका, घिरौला जे मा पनि जैविक मल नै प्रयोग गर्छु, याे मल राख्दा बिरूवाका जरा बलिया हुनेरैछन्।”
ड्रागन फ्रुटको व्यवसायिक खेती गर्दै आएका शुक्लागण्डकी ५ भुरूङ्गेका दिल तमु जैविक मलले दिएकाे नतिजाबाट निकै उत्साहित छन् । जैविक मल राखेपछि ड्रागन फ्रुटका फूल यो वर्ष राम्रोसंग अडिएको तमुको अनुभव छ । “पोहोर साल धेरै फूल खस्यो, यो वर्ष फूल अडिएको देखेर दङ्ग परेको छु, खेती राम्रो बनाउन रसायन होईन् जैविक तत्व चाहिदोंरहेछ” तमुले सुनाए ।
शुक्लागण्डकी ८ डहरेमा गाईभैसी पाल्दै आएका युवा कृषक नवीना श्रेष्ठ र सम्झना श्रेष्ठले गोठबाट निस्कने गोबरबाट षोषणयुक्त जैविक मल बनाएका छन् । “जैविक मल बनाउने तरिका प्रशिक्षक महेन्द्र श्रेष्ठबाट सिक्यौ, खेतीका लागि चाहिने तत्वहरु त घरगोठ वरपरनै रैछन् भन्ने बुझियो” सम्झनाले भनिन् ।
जैविक खेतीको जागरण फैलाउँदै हिडेंका कृषि प्रशिक्षक महेन्द्रकुमार श्रेष्ठ जैविक मलले प्रकृति र मानिसको सम्बन्धलाई जीवन्त राख्ने विचार राख्छन् । प्रकृति अनुकुलित जैविक खेती स्वस्थ र दिर्घकालीन हुने श्रेष्ठको भनाई छ ।