कास्की पहिरो अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

सेयर गर्नुहोस

गयरातीको अविरल बर्षाको कारण पहिरो गई घर पुरिँदा हालसम्म ११ जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
करिब १०ः१५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१९ तल्लाकोट टारी बस्ने कुल बहादुर परियारको १ तले घरमा वर्षाको कारण घर पछाडीबाट पहिरो आई पुरिएको जानकारी पाएपछि तत्कालै प्र.चौ.सार्दीखोला, जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बल र नेपाली सेना समेतको उद्दार टोली खटिई खोज गर्दा ७ जनाको शव फेला परेको छ भने २ जना घाईते अवस्थामा उद्दार गरि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जानकारी गराएको छ । मृत्यु हुनेमा जिल्ला कास्की पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष ४६ को कुल बहादुर परियार, ऐ.बस्ने निजको श्रीमती बर्ष ४३ की मनकुमारी परियार, ऐ. बस्ने निजको आमा वर्ष ८५ की लक्षीमा परियार, ऐ. बस्ने निजको छोरी बर्ष १५ की प्रश्ना परियार , जिल्ला चितवन घर भएकी निजको अर्को छोरी वर्ष २० की प्रभा परियार, माईति आएको र जिल्ला चितवन घर भएका निजको ज्वाई वर्ष २५ को अस्मित परियार ससुराली आएको अवस्थामा पहिरोले पुरिएर मृत्यु भएको छ । त्यसैगरि सोही स्थान बस्ने छिमेकी वर्ष ५६ की राधिका परियारको घटनास्थलमा उद्धार गर्ने क्रममा लडी मृत्यु भएको जनाएको छ । घाईते हुनेहरुमा मृतक राधिका परियारको छोरा ऐ.ऐ बस्ने वर्ष ३१ को कुमार परियारको बायाँ हातमा चोट लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने अर्का मृतक कुल ब. परियारका छोरा ऐ.ऐ बस्ने वर्ष १७ को पवन परियारको ढाडमा चोट लागेकोमा प.क्षे. अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

त्यस्तै गयराती नै करिब २ः१५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३२ चैनपुर स्थित बाह्रबिसेमा ऐ. बस्ने बर्ष ४० की आरती ओझाको घर पछाडीबाट अचानक पहिरो आई घर पुरिएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिसुवाबाट प्रहरी टोली खटिई खोज तथा उद्दार गर्दा ऐ. बस्ने बर्ष ४० की आरती ओझाको छोरी बर्ष अं. १८ की अनिता ओझा, अर्को छोरी वर्ष ११ की अनुष्का ओझा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरि आरतीका भतिज वर्ष ९ को प्रतिक सुवेदी समेत मृत अवस्थामा फेला परेका छन् । आरती ओझा घाईते हुँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरि गयराती नै करिब १ बजे जिल्ला कास्की मादी गाउँपालिका वडा नं. ११ तल्लो ताप्ले बस्ने बर्ष ८० की माईती कुमारी गुरुङको घर माथीबाट पहिरो आई घर पुरियर बेपत्ता भएकोमा खोजतलास गर्दा मृत अवस्थामा फेला परेकी छन् । घरमा २ जनाको परिवार बस्दै आएकोमा निजका छोरा अं. बर्ष ५५ को ओम ब. गुरुङलाई प्रहरी र स्थानियको सहयोगमा सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्र.ना.उ. बसन्त कुमार शर्माले जानकारी दिनुभयको छ ।


सेयर गर्नुहोस