भाग–३
पारिवारिक कानून
(परिच्छेद -१ )
विवाह सम्बन्धी व्यवस्था
६७. विवाह भएको मानिने : कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ ।
६८. विवाह अनतिक्रम्य सामाजिक बन्धन हुने : (१) विवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन हुनेछ ।
(२) उपदफा (१) बमोजिमको वैवाहिक बन्धन दफा ८२ बमोजिम अन्त्य नभएसम्म कायम रहनेछ ।
६९. विवाह गर्ने स्वतन्त्रता : (१) प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुनेछ ।
(२) विवाह जुनसुकै किसिमबाट भएको भए तापनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनु पर्नेछ ।
(३) प्रत्येक व्यक्तिको पारिवारिक जीवन अनतिक्रम्य हुनेछ ।
७०. विवाह हुन सक्ने : (१) यस परिच्छेदको अधीनमा रही देहायका अवस्थामा पुरुष र महिला
बीच विवाह हुन सक्नेछ :-
(क) पुरुष र महिलाले एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मञ्जुर गरेमा,
(ख) कानून बमोजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नाताको नभएमा,
(ग) पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नरहेमा,
(घ) बीस वर्ष उमेर पूरा भएमा ।
(२) उपदफा (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो जातीय समुदाय वा कुलमा चली आएको चलन अनुसार विवाह गर्न हुने नाता सम्बन्धमा विवाह गर्न वा गराउन कुनै बाधा पर्ने छैन ।
७१. विवाह गर्न, गराउन नहुने : (१) कसैले पनि दफा ७० बमोजिम विवाह हुन सक्ने अवस्था नरहेको पुरुष वा महिलासँग विवाह गर्न वा गराउन हुँदैन ।
(२) कसैले पनि देहायका कुनै अवस्थाको पुरुष वा महिलालाई झुक्याई विवाह गर्न वा गराउन हुँदैन :-
(क) शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु (एच.आई.भी. वा हेपाटाइटिस बी रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेको,
(ख) यौनाङ्ग नभएको, नपुङ्सक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भैसकेको,
(ग) पूर्ण रूपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रूपमा दृष्टिविहीन वा कुष्ठ रोगी भएको,
(घ) होस ठेगानमा नरहेको,
(ङ) विवाह भैसकेको,
(च) गर्भवती भएको,
(छ) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी अदालतबाट सजाय पाएको ।
(३) उपदफा (२) बमोजिम झुक्याई विवाह गरेको कारणबाट मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन र झुक्याई विवाह गर्ने वा गराउनेबाट मनासिब क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।
७२. विवाह बदर हुनेः (१) देहायको अवस्थामा भएको विवाह स्वतः बदर हुनेछ :–
(क) पुरुष वा महिलाको मञ्जुरी नभई भएको विवाह,
(ख) हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरू बीच भएको विवाह,
(ग) दफा ७० को उपदफा (१) को खण्ड (घ) विपरीत भएको विवाह,
(घ) कानून बमोजिम अंशवण्डा गरी भिन्न भएको अवस्थामा बाहेक विवाहित पुरुष वा महिलाले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा गरेको अर्को विवाह ।
(२) उपदफा (१) बमोजिम भएको विवाह प्रारम्भदेखि नै अमान्य हुनेछ ।
(३) उपदफा (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७० को उपदफा (२) बमोजिम भएको विवाह बदर हुनेछैन ।
७३. विवाह बदर गराउन सक्नेः (१) देहायका अवस्थामा भएको विवाह त्यस्तो विवाह गर्ने कुनै व्यक्तिले मञ्जुर नगरेमा बदर गराउन सक्नेछ :–
(क)………………….
(ख) दफा ७१ को उपदफा (२) बमोजिम झुक्याई विवाह गरे वा गराएमा ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विवाहको परिणाम स्वरूप कुनै महिला गर्भवती भएमा वा निजबाट शिशु जन्मिएमा निजको मञ्जुरी भएमा मात्र विवाह बदर हुन सक्नेछ ।
७४. शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने : (१) दफा ६९ को उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको भए पनि सोही कारणले पुरुष र महिला बीच स्वतः विवाह भएको मानिने छैन :–
(क) जवरजस्ती करणीको कारणले महिलाले गर्भधारण गरी शिशु जन्मिएमा,
(ख) दफा ७० को उपदफा (२) बमोजिम विवाह गर्न हुने नाता सम्बन्धमा बाहेक हाडनाता करणीमा सजाय हुने नाताका पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएमा,
(ग) दफा ७० को उपदफा (१) को खण्ड (घ) बमोजिम विवाह गर्ने उमेर पूरा नभएमा,
(घ) बहुविवाह कायम हुने अवस्था भएमा ।
७५. जन्मिसकेको शिशुको कानून बमोजिमको हकमा असर नपर्ने : दफा ७२ बमोजिम विवाह वदर भएमा वा दफा ७३ बमोजिम विवाह वदर गराएमा त्यस्तो विवाहबाट जन्मिसकेको वा दफा ७४ को उपदफा २ को अवस्थामा जन्मिएको शिशुको कानून बमोजिमको हकमा कुनै असर पर्ने छैन ।
७६. विवाह दर्ता गर्नु पर्ने : (१) पति तथा पत्नीले कानून बमोजिम तोकिएको अधिकारी समक्ष निवेदन दिई आफ्नो विवाह दर्ता गराउनु पर्नेछ ।
तर दफा ७४ को उपदफा (१) को अवस्थामा पति र पत्नी दुवैले वा कुनै एक जनाले विवाह दर्ता गराउन निवेदन दिन सक्नेछ ।
(२) नेपाल बाहिर बसोबास गरेका पति तथा पत्नीले आपू रहे बसेको मुुलुकमा रहेको नेपालको राजदूताबास वा महावाणिज्य दूताबासमा विवाह दर्ताको लागि निवेदन दिन सक्ने छन्।
(३) उपदफा (१) वा (२) बमोजिम विवाह दर्ताको लागि निवेदन पर्न आएमा सम्बन्धित अधिकारीले निवेदन परेको पन्ध्र दिनभित्र आफ्नो कार्यालयमा रहेको विवाह सम्बन्धी अभिलेखमा विवाह दर्ता गरी प्रचलित कानून बमोजिमको ढाँचामा निवेदकलाई विवाह दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “सम्बन्धित अधिकारी” भन्नाले विवाह दर्ता गर्ने अधिकारी सम्झनु पर्छ ।
(४) उपदफा (१) वा (२) बमोजिम परेको निवेदन अनुसार विवाह दर्ता गर्न नहुने भएमा सम्बन्धित अधिकारीले त्यसको कारण खुलाई निवेदन परेको सात दिनभित्र निवेदकलाई जानकारी गराउनु पर्नेछ ।
(५) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम परेको निवेदन अनुसार विवाह दर्ता गराउने सम्बन्धमा कुनै एक पक्ष उपस्थित नभएकोमा सम्बन्धित अधिकारीले निजलाई बुझी विवाह दर्ता गर्नु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम बुझ्दा अर्को पक्षले विवाह दर्ता गर्न असहमति जनाएमा सम्बन्धित अधिकारीले विवाह दर्ता नगरी अदालतबाट निर्णय भए बमोजिम हुने जानकारी निवेदकलाई दिनु पर्नेछ ।
(७) यस दफा बमोजिमको विवाह दर्ता सम्बन्धी विवरणको अभिलेख सम्बन्धित अधिकारीले सुरक्षित राख्नु पर्नेछ ।
(८) यो संहिता प्रारम्भ हुनु अघि विवाह भइसकेका र विवाह दर्ता नगरेका दम्पतिले चाहेमा यस दफा बमोजिम विवाह दर्ता गराउन सक्नेछन्। तर त्यसरी विवाह दर्ता नगराएको कारणले मात्र त्यस्तो दम्पतिको विवाहले कानूनी मान्यता नपाएको मानिने छैन ।
७७. दर्ताद्वारा विवाह गर्न सक्नेः (१) दफा ६९ को उपदफा (२) र दफा ७४ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पुरुष र महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा आफ्नो नाम, थर, उमेर, ठेगाना, पेशा, बाबु, आमा, बाजे, बज्यैको नाम, अघि विवाह भए वा नभएको र विवाह भएको भए वैवाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा तथा कम्तीमा दुई जना साक्षीको नाम समेत खुलाई नेपालभित्र भए सम्बन्धित जिल्ला अदालत र नेपाल बाहिर भए नेपालको राजदूताबास वा महावाणिज्य दूताबास समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन दिनको लागि पुरुष वा महिला वा दुवै निवेदन दिनु अघि जिल्ला अदालतमा निवेदन दिने भए सम्बन्धित जिल्लामा र राजदूताबास वा महावाणिज्य दूताबासमा निवेदन दिने भए राजदूताबास वा महावाणिज्य दूताबास रहेको सम्बन्धित देशमा कम्तीमा पन्ध्र दिनदेखि रहे बसेको हुनु पर्नेछ ।
७८. विवाह हुने वा नहुने निर्णय गर्नु पर्ने : (१) दफा ७७ बमोजिम दर्ताद्वारा विवाह गर्न निवेदन परेमा सम्बन्धित अधिकारीले त्यस सम्बन्धमा आवश्यक छानबिन गरी निवेदन परेको मितिले सात दिनभित्र विवाह हुने वा नहुने विषयमा निर्णय गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशस्थित सम्बन्धित अधिकारीलाई प्रस्तावित विवाहको सम्बन्धमा कुनै शङ्का लागेमा नेपाल सरकार समक्ष पेश गरी नेपाल सरकारको निर्णय बमोजिम गर्नु पर्नेछ ।
७९. सहमतिपत्र तयार गर्नु पर्ने : दफा ७८ बमोजिम निवेदक बीच विवाह हुने निर्णय भएमा सम्बन्धित अधिकारीले निवेदनमा उल्लिखित कुरा र विवाह गर्ने पक्षहरू कानून बमोजिम एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मञ्जुर भएको व्यहोरा समेत खुलाई विवाहको सहमतिपत्र तयार गरी आफ्नो रोहबरमा निजहरू तथा उपस्थित साक्षीहरूको सहीछाप गराई त्यस्तो सहमतिपत्रमा आफूले समेत सहीछाप गर्नु पर्नेछ ।
८०. विवाह दर्ता सम्बन्धी व्यवस्था : (१) दफा ७९ बमोजिम सहमतिपत्रमा सहीछाप गराई सकेपछि सम्बन्धित अधिकारीले त्यस्तो विवाह दर्ता किताबमा दर्ता गरी आफ्नो र विवाह गर्ने पक्ष तथा उपस्थित साक्षी समेतको सहीछाप गर्नु वा गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम विवाह दर्ता गरिसकेपछि सम्बन्धित अधिकारीले विवाह दर्ताका पक्षहरूलाई प्रचलित कानून बमोजिम तोकिएको ढाँचामा विवाह दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम विवाह दर्ताको प्रमाणपत्र पाएको दिनदेखि निवेदकहरू बीच विवाह भएको मानिनेछ ।
८१. विवाहित महिलाको थर प्रयोग सम्बन्धी व्यवस्था : (१) विवाहिता महिलाले विवाहपछि बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्न सक्नेछिन्।
(२) विवाहिता महिलाको थरको सम्बन्धमा कुनै प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आप्mनो पतिको थर प्रयोग गरेको मानिनेछ ।
(३) पतिको थर प्रयोग गरेकी महिलाको सम्बन्ध विच्छेद भएमा निजले चाहेमा निजको बाबु वा आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्नेछिन्।
८२. वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने : देहायका कुनै अवस्थामा पति पत्नी बीचको वैवाहिक सम्बन्ध अन्त्य भएको मानिनेछ :-
(क) दफा ७२ वा ७३ बमोजिम विवाह बदर भएमा,
(ख) कानून बमोजिम पति पत्नीको सम्बन्ध विच्छेद भएमा,
(ग) पत्नीले कानून बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा ।
८३. पुनः विवाह गर्न सक्नेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ :–
(क) दफा ८२ बमोजिम पति पत्नी बीच वैवाहिक सम्बन्ध अन्त्य भएमा,
(ख) पति वा पत्नीको मृत्यु भएमा,
(ग) पति वा पत्नीले कानून बमोजिम अंशबण्डा गरी भिन्न भएमा ।
८४. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–२
विवाहको परिणाम सम्बन्धी व्यवस्था
८५. पति र पत्नी मानिने : कुनै पुरुष र महिलाबीच विवाह भएमा त्यस्तो वैवाहिक सम्बन्ध कायम रहेसम्म निजहरू एक अर्काको पति र पत्नीको रूपमा रहेको मानिनेछ ।
८६. पति र पत्नीको सम्बन्ध र दायित्व : (१) पति र पत्नी बीच आपसी पे्रम र सद्भाव हुनु पर्नेछ ।
(२) आपसी समझदारीबाट अन्यथा व्यवस्था भएकोमा बाहेक पति र पत्नी सँगै बसी पारिवारिक जीवन स्थापना गरी जीवनयापन गर्नु पर्नेछ ।
(३) पति र पत्नीले एक अर्कोलाई सहयोग, संरक्षण र सम्मान गर्नु पर्नेछ ।
८७. पतिको घर बासस्थान मानिने : पति र पत्नीले आपसी समझदारीमा छुट्टै बासस्थान निर्धारण गरेकोमा बाहेक पत्नीको वासस्थान पतिको घरमा कायम भएको मानिनेछ ।
८८. एक अर्काको प्रतिनिधि मानिनेः कानूनमा अन्यथा व्यवस्था भएकोमा वा पति र पत्नी बीच कानूनी विवाद भएकोमा बाहेक सामान्य घर व्यवहारको काममा पति वा पत्नी एक अर्काको प्रतिनिधि रहेको मानिनेछ ।
८९. इज्जत अनुसार व्यवहार गर्नु, गराउनु पर्ने : पति वा पत्नीले एक अर्कालाई आफ्नो इज्जत र क्षमता अनुसार खान लगाउन तथा स्वास्थ्योपचारको व्यवस्था गर्नु वा गराउनु पर्नेछ ।
९०. सहमतिमा घर व्यवहार चलाउनु पर्ने : (१) एकासगोलका पति र पत्नीले आफ्नो सम्पत्ति, आम्दानी तथा हैसियत अनुरूप आपसी सहमतिको आधारमा घर व्यवहार चलाउनु पर्नेछ ।
(२) पति वा पत्नीले आफ्नो नाममा रहेको सम्पत्ति बिक्री वा अन्य तवरले हस्तान्तरण गर्दा कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक एक अर्कोको मञ्जुरी लिनु पर्नेछ ।
९१. पेशा, व्यवसाय वा काम गर्न रोक्न नहुने : पति वा पत्नी वा परिवारका कुनै सदस्यले एक अर्कालाई निजको सीप, योग्यता वा क्षमता अनुसारको पेशा, व्यवसाय वा काम गर्न रोक्न हुँदैन ।
९२. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–३
सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था
९३. दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सक्ने : पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन्।
९४. पतिले सम्बन्ध विच्छेद गर्न सक्ने : पतिले देहायका कुनै अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछ :–
(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।
९५. पत्नीले सम्बन्ध विच्छेद गर्न सक्नेः पत्नीले देहायका कुनै अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछिन्ः–
(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पतिले अर्को विवाह गरेमा,
(ङ) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा,
(च) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।
९६. सम्बन्ध विच्छेदको लागि निवेदन दिनु पर्ने : सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ ।
९७. पति पत्नीको मेलमिलाप गराउनु पर्ने : दफा ९६ बमोजिम सम्बन्ध विच्छेदको लागि निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउनु पर्नेछ ।
९८. सम्बन्ध विच्छेद गरिदिनु पर्ने : दफा ९७ बमोजिम सम्झाउँदा बुझाउँदा पनि पति पत्नी बीच मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद हुन उपयुक्त देखेमा अदालतले निजहरूको सम्बन्ध विच्छेद गरिदिनु पर्नेछ ।
तर दफा ९७ वमोजिम पति र पत्नी बीच मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराई दिन पर्नेछ ।
९९. सम्बन्ध विच्छेद गर्नु अघि अंशबण्डा गर्नु पर्ने : (१) पतिको कारणबाट पति पत्नी बीच सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध विच्छेद गर्नु अघि पति पत्नी बीच अंशबण्डा गर्न लगाउनु पर्नेछ ।
(२) दफा ९५ को खण्ड (ख), (ग), (घ), (ङ) वा (च) बमोजिमको आधारमा पत्नीले सम्बन्ध विच्छेदको लागि निवेदन गरेमा दफा (१) को प्रयोजनको लागि पतिको कारणबाट सम्बन्ध विच्छेद हुने अवस्था भएको मानिने छ ।
(३) सगोलको सम्पत्ति पति पत्नी दुवैको नाममा वा पति पत्नीमध्ये कुनै एकको नाममा रहेछ भने सम्बन्ध विच्छेद हुनु अघि निजहरू बीच कानून बमोजिम त्यस्तो सम्पत्तिको अंशबण्डा गर्नु पर्नेछ ।
(४) सम्बन्ध विच्छेद हुने पतिले नै बाबु वा अन्य अंशियारबाट अंश लिई नसकेको भए अदालतले दुवै पक्षबाट अंशियार खुलाउन लगाई र अंशबण्डा गर्ने अन्य अंशियार भएमा त्यस्ता अंशियारलाई समेत बुझ्नु पर्ने भए बुझी निजहरूबाट अंशको फाँटवारी माग गरी पति पत्नीको अंश छुट्याई अंशबण्डा गराई दिनु पर्नेछ ।
(५) उपदफा (१), (३) वा (४) बमोजिम अंशबण्डा गर्दा लामो समय लाग्ने देखिएमा अदालतले पति पत्नी बीच सम्बन्ध विच्छेद गरी अंशबण्डा नभएसम्मको लागि पतिको सम्पत्ति र आयस्ताको आधारमा पतिबाट पत्नीलाई मासिक खर्च भरार्ई दिन सक्नेछ । तर त्यसरी अंशबण्डा नहुँदै त्यस्ती महिलाले अर्को विवाह गरेमा अंश पाउने छैन ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९४ को खण्ड (ख), (ग) वा (घ) बमोजिमको आधारमा सम्बन्ध विच्छेदको लागि निवेदन गरेकोमा पत्नीलाई यस परिच्छेद बमोजिम अंश दिन वा खर्च भराउन पति बाध्य हुने छैन ।
१००. एकमुष्ठ रकम वा खर्च भरार्ई दिन सक्ने : दफा ९९ मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्ध विच्छेद हुने पत्नीले अंश नलिई पतिसँग एकमुष्ठ रकम वा वार्षिक वा मासिक रकम वा खर्च भरार्ई लिन चाहेमा अदालतले पतिको सम्पत्ति वा आम्दानीको आधारमा त्यस्ती पत्नीलाई एकमुष्ठ रकम दिलाई दिन वा वार्षिक वा मासिक रूपमा रकम वा खर्च भराई दिन सक्नेछ । तर त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो रकम वा खर्च दिनु पर्ने छैन ।
१०१. खान लगाउने खर्च भरार्ई दिन सक्ने : दफा ९९ बमोजिम अंशबण्डा गर्नु पर्दा कुनै सम्पत्ति नभई पतिबाट अंश नपाएकी पत्नीले पतिबाट खान लाउन खर्च भराउन चाहेमा र पतिको आम्दानी भएमा अदालतले त्यस्ती पत्नीलाई सम्बन्ध विच्छेद भएको पतिको आम्दानीको आधारमा खान लगाउने खर्च भरार्ई दिन सक्नेछ ।
तर,
(१) त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो खर्च दिनु पर्ने छैन ।
(२) पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा त्यस्तो खर्च दिनु पर्ने छैन ।
१०२. सहमति बमोजिम हुने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नी बीच सम्बन्ध विच्छेद हुँदा पत्नीले पाउने अंश वा खर्चको सम्बन्धमा पति पत्नी बीच कुनै लिखित सहमति भएकोमा सोही बमोजिम हुनेछ । तर नाबालकको हित विपरीत हुने गरी कुनै सहमति गर्न सकिने छैन ।
१०३. अघिल्लो सन्तान वा पतिले सम्पत्ति पाउने : सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजका छोरा, छोरी भए त्यस्ता छोरा, छोरीले र छोरा, छोरी नभए पूर्व पतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइतीपट्टिका हकवालाले पाउनेछ ।
१०४. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले वा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–४
आमा, बाबु तथा छोरा, छोरीको सम्बन्ध सम्बन्धी व्यवस्था
१०५. आमा, बाबुबाट मातृत्व वा पितृत्व निर्धारण हुने : (१) कुनै व्यक्तिको मातृत्व वा पितृत्व निर्धारण गर्नु पर्दा निजको आमा वा बाबुको आधारमा गरिनेछ ।
(२) उपदफा (१) बमोजिम पितृत्व निर्धारण गर्दा अन्यथा प्रमाणित भएकोमा बाहेक त्यस्तो व्यक्ति जन्मदाका बखत निजको आमाको पति रहेको व्यक्ति निजको बाबु भएको अनुमान गरिनेछ ।
१०६. विवाहित पतिबाट शिशु जन्मिएको अनुमान गरिने : अन्यथा प्रमाणित भएकोमा बाहेक देहायको अवस्थामा जन्मिएको शिशु विवाहित पतिबाट जन्मिएको अनुमान गरिनेछ :–
(क) विवाह भएको मितिबाट एक सय असी दिन पछि जन्मिएको,
(ख) पतिको मृत्यु भएको वा वैवाहिक सम्बन्ध अन्त्य भएको मितिबाट दुई सय बहत्तर दिनभित्र जन्मिएको ।
१०७. पितृत्व इन्कार गर्न सक्ने : (१) पति पत्नी बीच अन्यथा सहमति भएकोमा बाहेक विवाह भएको एक सय असी दिन अगाडि नै पत्नीबाट जन्मिएको शिशुको पितृत्वलाई पतिले र त्यस्तो शिशुको जन्म हुनु अगाडि नै पतिको मृत्यु भइसकेको रहेछ भने निजको हकवालाले इन्कार गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जनुसुकै कुरा लेखिएको भए तापनि विवाह गर्नु अगाडि कुनै महिला गर्भवती भएको थाहा पाएर वा थाहा पाउनु पर्ने मनासिब कारण भई कुनै पुरुषले त्यस्तो महिलासँग विवाह गरेको रहेछ भने त्यस्तो अवधि अगाडि जन्मिएको कारणले मात्र शिशुको पितृत्व इन्कार गर्न सकिने छैन ।
१०८. छोरा, छोरी वा पितृत्व दाबी गर्नु पर्ने : (१) पितृत्व वा मातृत्वको ठेगान नभएको शिशु आफ्नो छोरा वा छोरी हो भनी दाबी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको वा पहिचान भएको मितिले दुई वर्षभित्र गरिसक्नु पर्नेछ ।
(२) पितृत्वको ठेगान नभई जन्मिएको शिशुको पितृत्व दाबी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको मितिले दुई वर्षभित्र गरिसक्नु पर्नेछ । तर त्यस्तो शिशुकै मृत्यु भई सकेपछि दाबी गर्न सकिने छैन ।
१०९. कृत्रिम गर्भाधानबाट जन्मिएको शिशुको पितृत्व बाबुको हुने : पति पत्नीको मञ्जुरीले अन्य कुनै व्यक्तिको वीर्यबाट कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिनेछ र सोही बमोजिम निजको पितृत्व निर्धारण हुनेछ ।
११०. अदालतबाट ठहरे बमोजिम हुने : कुनै व्यक्तिको मातृत्व वा पितृत्वका सम्बन्धमा विवाद उत्पन्न भएमा त्यसको निरूपण अदालतबाट निर्णय भए बमोजिम हुनेछ ।
१११. नाम र थर पाउने : (१) प्रत्येक व्यक्तिले जन्मेपछि आ–आफ्नो धर्म, संस्कृति, चलन र परम्परा अनुसार निजको आमा वा बाबुले राखेको नाम पाउनेछ ।
(२) कसैको आमा वा बाबु तत्काल उपलब्ध नभएमा वा उपलब्ध हुन सक्ने सम्भावना नरहेमा निजले आफूलाई हेरचाह गर्ने संरक्षक वा माथवरले राखे बमोजिमको नाम पाउनेछ ।
(३) प्रत्येक व्यक्तिले जन्मेपछि निजको आमा बाबुको सहमतिबाट राखिएको थर वा त्यस्तो सहमति हुन नसकेमा निजको बाबुको थर आफ्नो नाम पछाडि प्रयोग गर्न पाउनेछ ।
तर पितृत्वको ठेगान नलागेको व्यक्तिले आफ्नो नाम पछाडि आमाको थर प्रयोग गर्न पाउनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले चाहेमा आफ्नो बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ ।
(५) कुनै व्यक्तिको थरको सम्बन्धमा प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो बाबुको थर प्रयोग गरेको मानिनेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बाबु वा आमा दुवैको ठेगान नलागेको व्यक्तिले निजलाई हेरचाह गर्ने संरक्षकद्वारा दिइएको थर आफ्नो नाम पछाडि प्रयोग गर्न पाउनेछ ।
११२. आमा, बाबु, बाजे तथा बजैको नाम उल्लेख गर्न पाउनेः (१) कुनै औपचारिक कार्य, कानूनी काम कारबाही वा लिखतमा कानून बमोजिम आमा, बाबु तथा बाजे, बजैको नाम खुलाउनु पर्ने रहेछ भने त्यस्तो अवस्थामा कुनै पनि व्यक्तिले आफ्नो आमा, बाबु तथा बाजे, बजैको नाम उल्लेख गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आमा, बाबु तथा बाजे, वजैको नाम उल्लेख गर्नु पर्ने कुनै व्यक्तिको बाबु पत्ता नलागेको अवस्थामा निजले आमा र आमा तर्फको बाजे, बजैको नाम उल्लेख गर्न सक्नेछ र आमाको पनि नाम पत्ता नलागेको भए सोही व्यहोरा उल्लेख गरी निज नाबालक भए संरक्षक वा माथवरको र बालिग भए आफ्नो नाम मात्र उल्लेख गर्नु पर्याप्त हुनेछ ।
११३. छोरा, छोरीको जन्म दर्ता गर्नु पर्ने : (१) कुनै दम्पतिको कुनै छोरा, छोरी जन्मिएमा कानून बमोजिम तोकिएको अधिकारी समक्ष त्यस्तो छोरा, छोरी जन्मिएको तीन महिनाभित्र जन्म दर्ताको लागि आमा वा बाबुले निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्याद नाघेपछि कसैले छोरा वा छोरीको जन्म दर्ताको लागि निवेदन दिन चाहेमा प्रचलित कानूनमा तोकिदिए बमोजिमको रकम जरिबाना वापत तिर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम निवेदन पर्न आएमा सम्बन्धित अधिकारीले आफ्नो कार्यालयमा खडा गरिएको जन्म दर्ता किताबमा त्यसको विवरण उल्लेख गरी निवेदकलाई कानून बमोजिम तोकिएको ढाँचामा जन्म दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको दर्ता किताबमा विवरण उल्लेख गर्दा सम्बन्धित व्यक्तिको नाम, थर, जन्मिएको मिति (साल, महिना, गते र बार समेत) र ठाउँ, निजको आमा, बाबु तथा बाजे बजैको नाम, थर, ठेगाना समेत उल्लेख गर्नु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम सम्बन्धित अधिकारीले प्रत्येक महिनाको मसान्तसम्म आफ्नो कार्यालयमा खडा गरेको दर्ता किताबमा उल्लेख भएको विवरण त्यसपछिको पहिलो महिनाको पन्ध्र गतेभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्नेछ र त्यस्तो कार्यालयले पनि प्रत्येक महिनाको अन्त्यसम्म त्यस्तो विवरण सो प्रयोजनको लागि आफ्नो कार्यालयमा खडा गरेको जन्म दर्ता किताबमा उल्लेख गरी प्रत्येक तीन महिनामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मन्त्रालयमा पठाउनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम प्राप्त भएको विवरणलाई सम्बन्धित मन्त्रालयले त्यस्तो प्रयोजनको लागि खडा गरेको जन्मदर्ता किताबमा उल्लेख गरी प्रत्येक वर्ष अद्याबीधक विवरण कायम गर्नु पर्नेछ ।
११४. हेरचाह र स्याहार सम्भार गर्नु पर्ने : (१) प्रत्येक नाबालकलाई आमा बाबुले संयुक्त रूपमा हेरचाह र स्याहार सम्भार गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम हेरचाह र स्याहार सम्भार गर्दा आमा बाबुले आफ्नो आर्थिक हैसियत र क्षमता अनुसार पालनपोषण, स्वास्थ्योपचार, शिक्षा, दीक्षा, खेलकूद, मनोरञ्जन तथा अन्य आवश्यक व्यवस्था गर्नु पर्नेछ ।
११५. आमा वा बाबुको जिम्मामा रहने : (१) दफा ११४ मा जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम पति पत्नीको वैवाहिक सम्बन्ध अन्त्य भएकोमा निजहरूबाट जन्मिएको नाबालक देहाय बमोजिम आमा वा बाबुको जिम्मामा रहनेछ :-
(क) पाँच वर्ष उमेर पूरा नभएको नाबालक भए आमाले अर्को विवाह गरेको भए वा नभएपनि निजले चाहेमा आमाको जिम्मा,
(ख) पाँच वर्षभन्दा माथिको नाबालक भए आमाले अर्को विवाह गरेकोमा बाहेक निजले चाहेमा निजको जिम्मा,
(ग) खण्ड (क) वा (ख) बाहेकको अन्य अवस्थामा बाबुको जिम्मा ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नी बीच सम्बन्ध विच्छेद हुँदा वा भिन्न हुँदाका बखत नाबालक जिम्मा लिने सम्बन्धमा छुट्टै सहमति भएकोमा
सोही बमोजिम हुनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दश वर्ष उमेर पूरा गरिसकेको नाबालक बाबु वा आमा कसको जिम्मा रहने हो त्यस सम्बन्धमा निर्णय गर्नु पर्दा सम्बन्धित नाबालकको राय लिन सकिनेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै नाबालक यस दफा अन्तर्गत आमा वा बाबुमध्ये कुनैको जिम्मामा रहेकोमा त्यसरी जिम्मा लिने बाबु वा आमाको मृत्यु भएमा जीवित रहेको आमा वा बाबुले अविलम्ब त्यस्तो नाबालक आफ्नो जिम्मामा लिनु पर्नेछ । तर आमाले अर्को विवाह गरिसकेकोमा पाँच वर्ष पूरा भएको नाबालक जिम्मा लिन निजलाई कर लाग्ने छैन ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम पति पत्नी भिन्न भएमा निजहरूको कुनैनाबालक भए त्यस्तो नाबालकको पालनपोषण, शिक्षा र उपचारको व्यवस्थाको सम्बन्धमा पति पत्नी बीच कुनै सहमति भएकोमा सोही बमोजिम र त्यस्तो सहमति नभएकोमा देहाय बमोजिम हुनेछ :–
(क) पाँच वर्ष पूरा नगरेको नाबालक भए आमाको जिम्मा,
(ख) पाँच वर्ष वा सोभन्दा माथि दश वर्ष पूरा नभएको नाबालक भए बाबुको जिम्मा,
(ग) दश वर्ष पूरा गरेको नाबालक भए निजले आमा, बाबुमध्ये जोसँग बस्न मञ्जुर गरेकोछ निजको जिम्मा ।
११६. आवश्यक हेरचाह र स्याहार सम्भार गर्नु पर्ने : (१) दफा ११५ बमोजिम नाबालक जिम्मा लिएको आमा वा बाबुले आफूले जिम्मा लिएको नाबालकको हेरचाह र स्याहार सम्भार गर्नु पर्नेछ र त्यसरी हेरचाह र स्याहार सम्भार गर्दा दफा ११४ को उपदफा (२) मा उल्लेख भए बमोजिम गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नाबालक जिम्मा लिने आमा वा बाबुकोभन्दा जिम्मा नलिने आमा वा बाबुको आम्दानी बढी रहेछ भने त्यस्तो आमा वा बाबुले त्यस्तो नाबालकको पालनपोषण, शिक्षा र उपचारका लागि त्यस्तो आमा बाबुको सहमति बमोजिमको र त्यसरी सहमति हुन नसकेमा अदालतले तोके बमोजिमको खर्च त्यस्तो नाबालकलाई उपलब्ध गराउनु पर्नेछ ।
११७. भेटघाटको सुविधा पाउनेः (१) कानून बमोजिम वैवाहिक सम्बन्ध अन्त्य भएको वा आमा र बाबु भिन्न बसेको अवस्थामा आमाको जिम्मा रहेको नाबालकलाई बाबुसँग र बाबुको जिम्मा रहेको नाबालकलाई आमासँग समय समयमा भेट गर्न वा आमा बाबुको सहमतिमा केही अवधिको लागि साथमा रहन दिनु पर्नेछ । तर त्यसरी भेट गर्न वा साथमा रहन दिँदा नाबालकको हित प्रतिकूल हुने कुनै सम्भावना देखिएमा त्यसरी भेट गर्न वा साथमा रहन दिन रोक लगाउने गरी सम्बन्धित जिल्ला अदालतलेआदेश जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बाबु वा आमासँग भेट गर्ने पटक वा साथमा रहने अवधि सम्बन्धित आमा बाबुबाट निर्धारण भए बमोजिम हुनेछ र त्यसरी निर्धारण हुन नसकेमा सम्बन्धित जिल्ला अदालतको आदेश बमोजिम हुनेछ ।
(३) यस दफा बमोजिम कुनै नाबालक बाबु वा आमाको साथमा रहेकोमा नाबालक राख्ने बाबु वा आमाले त्यस्तो नाबालकको हेरचाह र स्याहार सम्भार गर्दा दफा ११४ को उपदफा (२) मा उल्लेख भए बमोजिम गर्नु पर्नेछ ।
११८. छोरा छोरीको अधिकार कायमै रहनेः (१) यस संहिता बमोजिम पति पत्नी बीचको वैवाहिक सम्बन्ध अन्त्य भए तापनि निजहरूबाट जन्मिएका छोरा, छोरीको बाबु, आमा माथिको कानूनी अधिकार र निज प्रतिको बाबु, आमाको दायित्व कायमै रहनेछ ।
(२) कुनै व्यक्तिको बाबु आमा यस संहिता बमोजिम पति पत्नी हुन नसक्ने भएपनि निजहरूबाट जन्मिएका छोरा, छोरीको बाबु, आमा माथिको कानूनी अधिकार र निज प्रतिको बाबु, आमाको दायित्व कायमै रहनेछ ।
११९. सहमति बिना भिन्न बस्न नहुनेः (१) आमा वा बाबुको सहमति बिना छोरा छोरीले आमा बाबुबाट भिन्न बस्न पाउने छैनन् ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा छोरा छोरी आमा बाबुबाट भिन्न बस्न सक्ने छन्ः–
(क) आमा बाबुबाट कानून बमोजिम अंश लिई वा नलिई छुट्टिएकोमा,
(ख) निजले विवाह गरेकोमा,
(ग) निजको उमेर कम्तीमा एक्काईस वर्ष पूरा भएकोमा, वा
(घ) निजले रोजगारी प्राप्त गरिसकेकोमा ।
१२०. नाबालकले श्रमिकको रूपमा काम गर्न नहुनेः कानून बमोजिम श्रमिकको रूपमा काम गर्न पाउने नाबालकले आमा, बाबु, अन्य संरक्षक वा माथवरको सहमति बिना श्रमिकको रूपमा काम गर्न सक्नेछैन ।
१२१. नाबालक राख्ने बाबु, आमाको निर्णय बमोजिम हुने : यस संहिता बमोजिम वैवाहिक सम्बन्ध कायम हुन नसक्ने वा वैवाहिक सम्बन्ध अन्त्य भएका बाबु आमाबाट जन्मिएका नाबालकको हकहितका सम्बन्धमा कुनै निर्णय गर्नु पर्ने विषयमा बाबु, आमा बीच विवाद उत्पन्न भएमा त्यस्तो नाबालक बाबु, आमामध्ये जोसँग बसेको छ निजले निर्णय गरे बमोजिम हुनेछ ।
१२२. आमा बाबुलाई आदर, सम्मान र हेरचाह गर्नु पर्ने : (१) प्रत्येक छोरा छोरीले आफ्ना आमा बाबुलाई आदर तथा सम्मानका साथ व्यवहार गर्नु पर्नेछ ।
(२) प्रत्येक छोरा छोरीले आमा बाबुलाई एकासगोलमा बसेको वा कानून बमोजिम भिन्न भइसकेको जेसुकै भए तापनि आफ्नो आर्थिक तथा सामाजिक हैसियत अनुसार आवश्यक हेरचाह, स्याहार सम्भार, औषधोपचार वा रेखदेख गर्नु पर्नेछ ।
१२३. हदम्याद : यस परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद लेखिएकोमा सोही बमोजिम र अन्य अवस्थामा यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले
त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।
बाँकी अर्काे हप्ता…………