२७ भदाै, पोखरा ।
पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुदैंछ । पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा उक्त नाटक मञ्चन हुन लागेको हो ।
पद्माप्रेम थिएटरका अध्यक्ष समेत रहेकी कलाकार सावित्रा पाठक (सबु) द्वारा लिखित नाटकलाई गोविन्द पराजुली र शितला अधिकारीले निर्देशन गरेका छन् ।
शुक्रवारदेपख एक हप्तासम्म मञ्चन हुने अध्यक्ष पाठकले जानकारी दिईन् । नाटक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ । ‘यो नाटक यहि समाजमा बसेर यहि समाजको, आफन्तको, श्रीमानको तुच्छता सहेर पनि आफ्नो जिम्मेवारी निभाउने महिलाको कथा हो तर यहि समाजमा मिलेर, जस्तो कठिन समस्यालाइ पनि पार गरेर बस्ने परिवारको पनि कथा हो ।’ पाठकको भनाई छ ।
निर्देशक गोविन्द पराजुली भन्छन्, ‘समग्रमा भन्नुपर्दा यो हाम्रो कथा हो, यसले हाम्रो समाज बोल्छ, समाजको यथार्थ बोल्छ । मुख्य कुरा यसले हाम्रो कृषिको महत्वलाइ दर्साउछ ।’
अर्का निर्देशक शितला अधिकारीले नाटकका कलाकार र पाश्र्व मञ्चमा समेत मिहिनेतका साथ काम भईरहेकाले नाटकलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।
नाटकमा गोविन्द पराजुली, शितला अधिकारी, सावित्रा पाठक (सबु), ज्योती हमाल, सुुमन कार्की एलिसा थापा, बुद्धिसागर खनाल, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद) लगायतको अभिनय रहेको छ। असोज ५ गतेसम्म चल्ने नाटकमा जय चापागाईंले संगीत दिएका छन् ।
पद्माप्रेम थिएटरको प्रस्तुतीमा यस अघि नाटक धनिरामको गोरु मञ्चन भएको थियो ।