पोखरा, ९ असोज ।
दशै नजिकिएसँगै हिमाली जिल्लाबाट च्याङ्ग्राको किनबेच हुने गर्दछ । सोही मौका पारी मुस्ताङको एक किसानको गोठबाट १ सय ३ वटा च्यांग्रा लिएर सम्पर्कविहीन भएका एकजना व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । मुस्ताङ वारागुरू मुक्तिक्षेत्र गाउपालिका ३ वारागुरु बस्ने ताक्ला गुरुङको १०३ वटा च्याङ्ग्रा खरिद गरि भागेको अभियोगमा रुपन्देही शुद्धोधन ४ स्थायी घर भई हाल कास्की जिल्ला पोखरा ७ मासवार बस्ने वर्ष ५० को मोहम्मद फकिरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । नीज फकिर समेत ३ जना व्यक्तिहरुले असोज १ गते मुस्ताङ निवासी ताक्ला गुरुङको गोठमा गई च्याङ्ग्रा खरिद गर्छौ भनी १ सय ३ वटा च्याङ्ग्राहरु ४२ लाखमा खरिद गरेका थिए । उनीहरुले नगद साथमा नभएको र पोखरा गएर दिने भन्दै ताक्ला गुरुङलाई समेत सँगै पोखरा ल्याएका थिए । ताक्ला गुरुङ ड्यामसाइडस्थित होटलमा सुतिराखेको अवस्थामा उनीहरु च्यांग्रासहितको गाडी लिएर भागेका थिए । फकिरलाई प्रहरीले सोमबार पक्राउ गरी आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । फकिरले ती च्यांग्रा पोखरा २५ को घट्टेखोलाबाट बिक्री गरी अन्य गाडीमा लोड गरेर अन्यत्रै पठाएको स्वीकारेको प्रहरीले जनाएको छ ।