कृष्णमाया पाेख्रेल
११ असाेज, पाेखरा ।
“हिमाल हाँस्छ मिलाइ सेता दाँतका लहर
किसान बनि जहान पाल्ने यो मेरो रहर ”
कवि दैवज्ञराज न्याैपानेकाे कविताका पङ्क्ति संग ठ्याक्कै मेल खान्छ फेवाताल सिरानमा माछापुच्छ्रे हाँसेकाे हेर्दै कुटाेकाेदालाे गरिरहेका पराजुली दम्पतीकाे रहर ।
पोखरा महानगरपालिका वडा नं. २३ स्थित घाटिछिनाका अमित पराजुली र शान्ति पराजुली ३० बर्षयता निरन्तर तरकारी खेतीमा सक्रिय छन् ।
जंगल छेउकाे पाखाेपखेराेमा यतिबेला लचप्पै काक्राे, बाेडी, सिमि, घिराैला, खुर्सानी जस्ता तरकारी फलेका छन् । बाँदर, मृग जस्ता जंगली जनावरबाट जाेगाउँदै, भिरकाे बाटाे उकाली ओराली गर्दै “देउराली तरकारी नर्सरी” हराभरा बनाउने पराजुली दम्पती सबैकाे भाेकप्यास मेट्ने कृषि पेशा अपनाएकाेमा गाैरव गर्छन् ।
शुरू शुरूमा तरकारी धेरै फलाउने रहर र जताततै फैलिएकाे विकासे मल र बिषादीकाे लहडले देउराली नर्सरी पनि अछुतो रहेन तर आजकल रासायनिक मल र बिषादीकाे जथाभावी प्रयोगले मानिसको स्वास्थ्यमा पारेकाे असरबारे जानकारी हुन थालेपछि यहाँ कुखुराको सुली, पिना, गाइको गहुँत जस्ता घरेलु जैविक मल तथा औषधी प्रयोग गरेर तरकारी फलाएकाे कृषक शान्ति पराजुलीकाे भनाई छ । विषादी प्रयोग गर्दा किसान संगै उपभोक्तालाई समेत स्वास्थमा नकारात्मक असर पर्ने हुनाले उहाँहरूले प्रयोग गर्न छाडेकाे पराजुली बताउँछिन् ।
तरकारी खेतीको आम्दानीबाट नै आफ्ना ५ सन्तानलाई उच्च शिक्षा प्रदान गरि आत्मनिर्भर बनाउनुका साथै घरको सम्पूर्ण खर्च धानिएकाे पराजुलीकाे अनुभव छ । उमेर ढल्कदै जादाँ पनि परिश्रममा रमाइरहेकाे पराजुली दम्पतीकाे उत्साहमा सरकारका विभिन्न निकायले पनि भरथेग गरेकै छन् । कृषि ज्ञान केन्द्र, कृषि विकास महाशाखा पोखरा महानगरपालिका, प्रधानमन्त्री कषि आधुनिकीकरण परियाेजना लगायतकाे आर्थिक तथा प्राविधिक सहयाेग प्राप्त भएकाे किसान बताउँछन् ।
“पहिले पहिले डोकोमा तरकारी बोकेर गाँउ गाँउमा डुल्नु पर्दा सार्है गार्हो हुन्थ्यो, अहिले कृषि महाशाखाले हप्तामा २ दिन कृषि एम्बुलेन्स पठाउने गरेको छ, हामीले बिक्री गर्दै हिड्नु पर्दैन, सार्है सजिलो दिन आए ।” शान्ति पराजुलीले सुनाइन् “ढल्कदै गरेको उमेर पहिले जस्तो मेहेनेत गर्न सकिदैन, पहिले जस्ताे गरि फल्ने र अहिलेजस्ताे सुविधा हुनेभा झन् कति कमाईन्थ्याे हाेला !”
खाना बिना मानिस बाँच्न सक्दैन । किसानले उत्पादन नगरिदिने हाे भने सारा मानिस के खाएर बाच्दथे ? साेचनीय छ । त्यसैले नयाँपुस्तामा पनि किसान बन्ने रहर जगाउन कृषिलाई सबैभन्दा महत्वपूर्ण पेशा र किसानलाई सम्मानयाेग्य व्यक्तित्वकाे रूपमा परिचित गर्न आवश्यक छ ।