चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा प्रदान गर्नुहोस्: मुख्यमन्त्री पाण्डे

सेयर गर्नुहोस

पोखरा, असोज १४ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा संचालित एअरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएका छन् । पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा संचालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन् । ‘चाडपर्वको समय छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन् । यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ । यो संवेदनशील हुने बेला हो । मौका छोप्ने बेला होईन।’ पोखरासहित गण्डकी प्रदेशको बिभिन्न जिल्लाका मुख्य सडक वर्षापछिको बाढी पहिरोले क्षति पुर्याउँदा यातायात आवतजावत सहज छैन । पृथ्वीराजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा काठमाण्डौँ–पोखरा हवाई यात्रामा चाप बढेको छ । यात्रुहरुको गुनासो बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले एअरलाइन्स कम्पनीहरुलाई माथिल्लो तहमा सहजीकरण गरेर तत्काल गुनासो सुनुवाई गर्न सुझाव दिए । ‘एअरलाइन्स कम्पनी, नागरिक उड्ययन प्राधिकरण, संघीय सरकार मातहतका निकायमा सहजीकरण पनि गरुँला’ मुख्यमन्त्री पाण्डेको निर्देशन थियो, ‘तपाईहरुले यहाँबाट आफूले सक्ने सहजिकरण गर्नुहोस् ।’ अहिले पोखरा–काठमाण्डौँ भाडा ५ हजार ९ सयसम्म छ । यसअघि, ४ हजार ४ सय थियो । सेवा सहज बनाउनेबारे मुख्यमन्त्री कार्यालयमा सोमवार आयोजित छलफलमा मुख्यमन्त्री पाण्डेले नागरिक उड्ययन प्राधिकरणलाई पनि सेवा सहज बनाउन सहजिकरण गर्न सुझाव दिए । ‘चाडपर्वको बेला सकेसम्म फ्लाईट थपेर सेवालाई अझै सहज बनाउनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने । आइतवार काठमाण्डौँबाट पोखराका लागि उडेको जाहज लामो समय होल्ड गरी राती ११ः३० बजे पुन काठमाण्डौँ फर्किएको थियो । यस्तो अवस्था आउँदा समयमै यात्रुलाई जानकारी दिन मुख्यमन्त्री पाण्डेले एअरलाइन्सहरुलाई सचेत गराए । विपद् र चाडपर्वका बेला फ्लाईट थप गर्नुपर्नेमा मर्ज हुने गरेको गुनासो आएको उनले सुनाए । फ्लाईट घटाएर टिकट नबढाउन उनको निर्देशन थियो । विपद्को समयमा सेवा दिँदै आएका कम्पनीहरुलाई नागरिक उड्ययन प्राधिकरणको तर्फबाट हुन सक्ने सहुलियतका लागि पनि ध्यान दिईनुपर्नेमा मुख्यमन्त्रीले जोड दिए । एअरलाइन्स कम्पनीहरुले ‘सिस्टम कन्ट्रोल’ यहाँबाट नहुँने हुँदा यसबारे केन्द्रीय कार्यालयसँग समन्वय गरेर सेवालाई सक्दो सहज बनाउने बताएका छन् । पोखरामा यति, बुद्ध र श्री एरलाइन्सले सेवा दिँदै आएका छन् ।


सेयर गर्नुहोस