पोखरा, कात्तिक १२ गते ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले सय दिन मनाइरहँदा जनतामुखी भएर काम गर्न नसकेको बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा साेमबार पाेखरामा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै नेपालले जनताको पीडा सम्बोधन र समाधानमा सरकार नलागेर जनप्रतिनिधि निवास, सरकारी भवन निर्माणमा नै केन्द्रित रहेको आराेप लगाए ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायत १६ वटा विमानस्थल, भ्युटावर, गाउँपालिका (नगरपालिका र वडाका भवन, पालिकाभित्रका अस्पताल लगायतमा अनावश्यक लगानी भएको नेपालले बताए ।
अध्यक्ष नेपालले सरकारले दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन लागेकोमा आपत्ति जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेको फाइदाका लागि अध्यादेश ल्याउन लागेको भन्दै कांग्रेसलाई भ्रममा राखेर एमाले बलियो बनाउन लागेको बताए ।
पूर्वप्रधानमन्त्री नेपालले यसअघि सरकारले आवश्यकताका लागि अध्यादेश ल्याएको बताउँदै अहिले कुनै बाध्यताको स्थिति नभएको तर समाजवादी पार्टी फुटाउने धेयले ल्याउन लागेको उनको भनाई थियो ।
उनले नेपालको राजनीति र नेपालको मौसम उस्ताउस्तै रहेको भन्दै पूर्वानुमान गर्नै नसकिने व्यंग्य गरे । अहिलेको सरकार काम गर्नेभन्दा पनि बोल्ने मात्र रहेको बताए । सहकारीपीडितका मुद्दालाई तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए । उनले एमाले र माओवादी दुबैपार्टीसंग एकताको विषयमा कुनै छलफल नभएको र एकताको विषयमा चलाइएका हल्ला निराधार रहको बताए ।
अध्यक्ष नेपालले जनजिविकाको सवाललाई आफुहरुले उठाएको र त्यसैका लागि विपक्षीहरुको तर्फबाट प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएको समेत बताए । उनले नजिकिँदै गरेको उपनिर्वाचनमा पनि समाजवादी एक्लै चुनाव लड्ने र यसका लागि उम्मेदवार तयार भएको बताए ।