परिच्छेद–१ सम्पत्ति सम्बन्धी सामान्य व्यवस्था

सेयर गर्नुहोस

भाग–४
सम्पत्ति सम्बन्धी कानून
परिच्छेद–१
सम्पत्ति सम्बन्धी सामान्य व्यवस्था


२५१. सम्पत्ति मानिनेः उपभोग गर्न, खरिद, बिक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद, वस्तु वा कार्यलाई सम्पत्ति मानिनेछ ।
स्पष्टीकरण : यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक “वस्तु” भन्नाले खरिद बिक्री गर्न सकिने भौतिक सम्पत्ति सम्झनु पर्छ ।
२५२. सम्पत्ति चल वा अचलको रूपमा रहेको मानिने : भौतिक वा अभौतिक, मूर्त वा अमूर्त जुनसुकै अवस्थामा रहे भएको भए पनि सम्पत्ति चल वा अचलको रूपमा रहेको मानिनेछ ।
२५३. अचल सम्पत्ति मानिनेः (१) देहायका सम्पत्ति अचल मानिनेछ :–
(क) घर वा जमिन वा सोसँग जोडिएको संरचना,
(ख) घर वा जमिनसँग स्थायी रूपमा आबद्ध भएको कुनै वस्तु,
(ग) जमिनसँग आबद्ध रहेको खानी, ढुङ्गा वा खनिजजन्य वस्तु,
(घ) प्राकृतिक स्वरूपमा रहेको पानी, भूसतह तथा भूमिगत रूपमा रहेको पानी,
(ङ) नदी, ताल, तलैयामा तैरने गरी स्थायी रूपमा बनाइएका घर वा अन्य संरचना,
(च) जमिनमा खडा भएको रुख, बिरुवा वा फलफूलका बोट वा त्यस्ता रुख, बिरुवा वा फलफूलका बोटमा फलेका फल वा फूलेका फूल, जमिनमा फलेको बाली,
(छ) अचल सम्पत्तिसँग आबद्ध रहेको कुनै चल सम्पत्ति ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अचल सम्पत्तिसँग जोडिएको वा आबद्ध भएको कुनै संरचना, वस्तु वा त्यसको कुनै भाग कुनै किसिमले अचल सम्पत्तिबाट अलग भएमा वा गरिएमा त्यसरी अलग भएको वा गरिएको संरचना, वस्तु वा भाग चल सम्पत्ति मानिनेछ ।
२५४. चल सम्पत्ति मानिनेः देहायको सम्पत्ति चल मानिनेछ ः–
(क) नगद वा नगद सरह कारोबार हुने वस्तु वा विदेशी मुद्रा,
(ख) सुन, चाँदी, जवाहरत, रत्न, सुनचाँदीबाट बनेका गरगहना वा बहुमूल्य पत्थर,
(ग) खण्ड (क) वा (ख) बाहेकका एक ठाउँबाट अर्को ठाउँमा ओसार पसार गर्न सकिने अन्य वस्तु,
(घ) ऋणपत्र, धितोपत्र, प्रतिज्ञापत्र, विनिमयपत्र, प्रतीतपत्र वा अन्य विनिमेय अधिकारपत्र वा त्यसबाट प्राप्त हुने लाभ,
(ङ) बौद्धिक सम्पत्ति,
(च) धितोमा रहेको हक,
(छ) व्यापारिक ख्याति वा फ्रेन्चाईज,
(ज) अचल सम्पत्ति बाहेकका अन्य सम्पत्ति ।
२५५. स्वामित्वको आधारमा सम्पत्तिको वर्गीकरण : सम्पत्तिको स्वामित्व तथा त्यसको प्रयोगको स्वरुपको आधारमा सम्पत्तिको वर्गीकरण देहाय बमोजिम हुनेछ :–
(क) निजी सम्पत्ति,
(ख) सगोलको सम्पत्ति,
(ग) संयुक्त सम्पत्ति,
(घ) सामुदायिक सम्पत्ति,
(ङ) सार्वजनिक सम्पत्ति,
(च) सरकारी सम्पत्ति,
(छ) गुठीको सम्पत्ति ।
२५६. निजी सम्पत्ति मानिनेः (१) कुनै व्यक्तिको नाममा रहेको देहायका कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति त्यस्तो व्यक्तिको निजी सम्पत्ति मानिनेछ :–
(क) आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको,
(ख) दान, बकस वा अपुताली स्वरूप प्राप्त गरेको,
(ग) चिठ्ठा वा उपहार स्वरूप प्राप्त गरेको,
(घ) पारिश्रमिक, उपदान, निवृत्तभरण, उपचार खर्च, सञ्चय कोष, बीमा वा अन्य सामाजिक सुरक्षण वापत प्राप्त गरेको,
(ङ) बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरूप प्राप्त गरेको,
(च) कानून बमोजिम मानो छुट्टिई भिन्न बसेको अवस्थामा वा त्यसरी मानो नछुट्टिए पनि खति उपति आफ्नो आफ्नो गरी खानु बस्नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको,
(छ) महिलाले विवाह पूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको,
(ज) महिलालाईपति वा पतितर्फका सबै अंशियारहरूको मञ्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरी दिएको वा पति तर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे
बढाएको सम्पत्ति,
(झ) कानून बमोजिम कुनै व्यक्तिको मात्र निजी सम्पत्ति हुने उल्लेख गरेको ।
(२) कुनै पनि व्यक्तिले आफ्नो निजी सम्पत्ति यस संहिताको अधीनमा रही आफूखुसी गर्न पाउनेछ ।
२५७. सगोलको सम्पत्ति मानिनेः (१) दफा २५६ को अधीनमा रही सगोलका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको भए पनि देहायको कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति सगोलको सम्पत्ति मानिनेछ :–
(क) पुख्र्याैलीबाट प्राप्त सम्पत्ति,
(ख) निजी सम्पत्ति बाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति,
(ग) अंशियारले सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्ति ।
(२) कानून बमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति हुनेछ ।
(३) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बाबु आमा र छोरा छोरी बीच अंशबण्डा गर्ने प्रयोजनको लागि बाबु आमाले आर्जन गरेको सम्पत्ति समेत सगोलको सम्पत्ति मानिनेछ ।
(४) सगोलको सम्पत्तिको उपभोग, हक हस्तान्तरण तथा अन्य व्यवस्था यस संहिताको अन्य परिच्छेद बमोजिम हुनेछ ।
२५८. संयुक्त सम्पत्ति मानिने : (१) एकासगोलका अंशियारहरू बाहेक दुई वा दुईभन्दा बढी व्यक्तिहरूको नाममा रहेको वा त्यसबाट बढे बढाएको सम्पत्ति संयुक्त सम्पत्ति मानिनेछ ।
(२) संयुक्त सम्पत्तिमा कुनै व्यक्तिको हक वा हिस्सा खुलाई लिखत भएकोमा सोही बमोजिम र लिखतमा कुनै उल्लेख नभएकोमा त्यस्तो सम्पत्ति रहने व्यक्तिहरूको समान हक र हिस्सा रहेको मानिनेछ ।
(३) संयुक्त सम्पत्तिको उपभोग, व्यवस्थापन, हक हस्तान्तरण तथा अन्य व्यवस्था यस परिच्छेद तथा यस संहिताको अन्य परिच्छेद बमोजिम हुनेछ ।
२५९. सीमानामा रहेको रुख, विरुवा वा वस्तु संयुक्त सम्पत्ति मानिने : अन्यथा प्रमाणित भएमा बाहेक दुई वा दुईभन्दा बढी संधियारको सीमानामा रहेको रुख, विरुवा वा वस्तु सबै संधियारको संयुक्त सम्पत्ति मानिनेछ ।
२६०. संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार : (१) संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार त्यस्तो सम्पत्तिको स्वामित्ववालाहरूको सहमति बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्न स्वामित्ववालाहरू बीच सहमति हुन नसकेमा बहुमत सदस्यको निर्णयको आधारमा संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सुधार गर्ने सम्बन्धमा बहुमत कायम हुन नसकेमा त्यस्तो सम्पत्तिमा सबभन्दा बढी हक वा हिस्सा हुने स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्नु पर्नेछ ।
तर स्वामित्ववालाहरूको बराबर हक भएकोमा त्यस्तो सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सुधार सबै स्वामित्ववालाहरूले बराबर रूपमा गर्नु पर्नेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम कुनै स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सुधार गरेमा सो गर्दा लागेको खर्च सबै स्वामित्ववालाहरूले आफ्नो हक वा हिस्साको आधारमा व्यहोर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार नगर्ने स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्दा लागेको खर्च एक वर्षभित्र संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्ने स्वामित्ववालालाई बुुझाउनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिमको अवधिभित्र संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्दा लागेको खर्च कुनै स्वामित्ववालाले नबुझाएमा निजको हक वा हिस्साको सम्पत्ति, संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्ने स्वामित्ववालाले प्रचलित मूल्यमा खरिद गरी लिन पाउनेछ । त्यसरी संयुक्त सम्पत्ति खरिद गर्नेले निजको भागको व्यवस्थापन तथा मर्मत खर्च गर्दा व्यहोरेको रकम लिन पाउनेछ ।
२६१. सहमति बिना संयुक्त सम्पत्ति फेरबदल गर्न नसकिने : संयुक्त सम्पत्तिका सबै स्वामित्ववालाहरूको सहमति बिना कुनै संयुक्त सम्पत्ति फेरबदल गर्न वा त्यस्तो सम्पत्तिको स्वरूपमा परिवर्तन गर्न सकिने छैन ।
२६२. संयुक्त सम्पत्तिको कुनै स्वामित्ववालाले कानूनी कारबाही वा प्रतिरक्षा गर्न सक्ने : (१) संयुक्त सम्पत्तिको संरक्षण गर्ने सम्बन्धमा कुनै व्यक्ति उपर कानूनी कारबाही चलाउन वा कुनै मुद्दाको प्रतिरक्षा गर्नु पर्ने भएमा सबै स्वामित्ववालाले गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सबै स्वामित्ववाला उपलब्ध नभएमा कुनै स्वामित्ववालाले आफ्नो वा अन्य स्वामित्ववालाको तर्फबाट कुनै व्यक्ति उपर कानूनी कारबाही चलाउन वा कुनै मुद्दाको प्रतिरक्षा गर्न सक्नेछ ।
२६३. संयुक्त सम्पत्तिबाट आफ्नो भाग छुट्याई लिन सक्ने : (१) संयुक्त सम्पत्तिको कुनै स्वामित्ववालाले आफ्नो हक वा हिस्साको सम्पत्ति अन्य स्वामित्ववालासँग जहिलेसुकै छुट्टाई लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम संयुक्त सम्पत्ति छुट्याउँदा सबै स्वामित्ववालाको सहमति बमोजिम गर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संयुक्त सम्पत्ति छुट्याउँदा अन्य स्वामित्ववालालाई सारभूत रूपमा नोक्सान पर्ने भएमा वा संयुक्त सम्पत्तिको स्वरूप बिग्रने देखिएमा त्यस्तो सम्पत्ति छुट्याउन सकिने छैन ।
(४) उपदफा (३) बमोजिमको अवस्था परी कुनै संयुक्त सम्पत्ति छुट्याउन नसकिने भएमा त्यस्तो सम्पत्तिका स्वामित्ववालाहरूले त्यस्तो सम्पत्ति बिक्री गरी प्राप्त रकम आफ्नो हक वा हिस्साको आधारमा आपसमा बाँडफाँट गरी लिनु दिनु गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम संयुक्त सम्पत्ति बिक्री नभएमा वा बिक्री गर्न सबै स्वामित्ववालाहरू मञ्जुर नभएमा र त्यस्तो सम्पत्ति कुनै स्वामित्ववालाले लिन चाहेमा त्यस्तो स्वामित्ववालाले सोही अनुपातमा अन्य स्वामित्ववालालाई त्यस्तो सम्पत्तिको मूल्य भुक्तानी गरी त्यस्तो सम्पत्ति एकलौटी लिन सक्नेछ ।
(६) उपदफा (५) बमोजिम एकभन्दा बढी स्वामित्ववालाले संयुक्त सम्पत्ति लिन चाहेमा सबभन्दा बढी मूल्य तिर्न मञ्जुर गर्ने स्वामित्ववालाले त्यस्तो सम्पत्ति लिन पाउनेछ ।
२६४. सामुदायिक, सार्वजनिक, सरकारी तथा गुठीको सम्पत्ति सम्बन्धी व्यवस्था ः सामुदायिक, सार्वजनिक, सरकारी तथा गुठीको सम्पत्ति, त्यस्तो सम्पत्तिको स्वामित्व, उपभोग, व्यवस्थापन, हक हस्तान्तरण तथा अन्य व्यवस्था यस संहिताको अन्य परिच्छेदमा उल्लेख भए बमोजिम हुनेछ ।
२६५. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।


परिच्छेद–२
स्वामित्व र भोगाधिकार सम्बन्धी व्यवस्था


२६६. स्वामित्व रहेको मानिने : कुनै पनि व्यक्तिलाई कुनै सम्पत्तिमा कानून बमोजिम हक प्राप्त भएमा त्यस्तो सम्पत्तिमा निजको स्वामित्व रहेको मानिनेछ ।
२६७. स्वामित्ववालाको अधिकार हुने : कानूनको अधीनमा रही कुनै पनि व्यक्तिलाई कुनै सम्पत्तिमा स्वामित्ववालाको हैसियतले देहायको अधिकार हुनेछ :–
(क) सम्पत्ति उपभोग गर्न,
(ख) सम्पत्ति बिक्री वा अन्य तवरले कसैलाई हक हस्तान्तरण गर्न,
(ग) सम्पत्तिको कुनै किसिमले धितो वा बन्धकी राख्न,
(घ) सम्पत्तिको कुनै कारोबार गर्न,
(ङ) सम्पत्तिबाट जुनसुकै किसिमबाट फाइदा लिन,
(च) आफ्नो जग्गा जमिनमा कुनै किसिमको भौतिक संरचना निर्माण गर्न, पर्खाल वा बार लगाई घेर्न वा साँध सिमाना छुट्याउन वा कुनै सम्पत्तिको स्वरूप परिवर्तन गर्न वा कुनै पनि किसिमले सम्पत्तिको संरक्षण गर्न,
(छ) आफ्नो जमिन वा जमिनमुनिको भाग वा त्यसमा रहेको वस्तु वा जमिन माथिको आकाश प्रयोग गर्न,
(ज) सम्पत्ति कुनै तवरले नष्ट वा समाप्त गर्न,
(झ) सम्पत्ति प्राप्त वा सुरक्षा गर्ने सम्बन्धमा कुनै पनि किसिमले कानूनी कारबाही चलाउन ।
२६८. भोगाधिकार रहेको मानिने : कसैले कुनै सम्पत्ति भोग गर्ने मनसायले कानून बमोजिम आफूसँग राखेमा त्यस्तो सम्पत्तिमा निजको भोगाधिकार रहेको मानिनेछ ।
२६९. भोगाधिकार प्राप्त गर्न सकिने अवस्था : (१) देहायको अवस्थामा कुनै सम्पत्ति उपर भोगाधिकार प्राप्त गर्न सकिनेछ ः–
(क) स्वामित्ववालाको हैसियतले,
(ख) अन्य व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति कानून बमोजिम प्राप्त गरेर,
(ग) भोगाधिकारको सहमति लिई ।
(२) असल मनसाय, शान्तिपूर्ण वा खुला रूपमा प्राप्त गरेको भोगाधिकारलाई मात्र कानूनी रूपले भोगाधिकार प्राप्त गरेको मानिनेछ ।
२७०. भोगाधिकार प्राप्त गर्न सक्ने व्यक्ति : (१) भोगाधिकार आफैँले वा प्रतिनिधि मार्फत प्राप्त गर्न सकिनेछ ।
(२) असक्षम वा अर्धसक्षम व्यक्तिले संरक्षक वा माथवर मार्फत भोगाधिकार प्राप्त गर्न सक्नेछ ।
२७१. भोगाधिकारवालाको अधिकार : (१) कानूनको अधीनमा रही कुनै पनि व्यक्तिलाई भोगाधिकारको हैसियतले देहायको अधिकार प्राप्त हुनेछः–
(क) आफ्नो भोगमा रहेको सम्पत्ति प्रचलित कानून वा त्यस्तो सम्पत्तिका सम्बन्धमा कुनै करार भएको भए त्यस्तो करारको अधीनमा रही निर्वाध रूपमा भोग गर्न,
(ख) आफ्नो भोगमा रहेको सम्पत्तिबाट प्राप्त हुने जुनसुकै लाभ उपभोग गर्न ।
(२) कसैले आफ्नो स्वामित्वमा नरहेको सम्पत्ति असल नियतले भोग गरेमा त्यस्तो सम्पत्तिमा पछि निजको भोगाधिकार नरहने भए तापनि निजले त्यस्तो सम्पत्तिमा भोगाधिकार रहेको अवधिमा सम्बन्धित स्वामित्ववालाको सहमति लिई त्यस्तो सम्पत्तिका व्यवस्थापन, मर्मत सम्भार वा रेखदेख गर्दा लागेको अत्यावश्यक खर्च त्यस्तो सम्पत्तिको स्वामित्ववालासँग सोधभर्ना गरी लिन पाउनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो उपदफा बमोजिमकोखर्च सोधभर्ना नभएसम्म साविकको भोगाधिकारवालाले त्यस्तो सम्पत्ति आफैँसँग राख्न पाउनेछ ।
(४) आप्mनो स्वामित्वमा नरहेको सम्पत्ति असल नियतले भोगाधिकार गर्दा कुनै व्यक्तिले त्यस्तो सम्पत्तिमा कुनै वस्तु जडान गरेको भए त्यस्तो सम्पत्ति नबिग्रने गरी आपूmले जडान गरेको वस्तु उप्काउन वा झिक्न सक्नेछ ।
२७२. भोगाधिकार समाप्त हुने अवस्था : देहायका कुनै अवस्थामा कुनै व्यक्तिको सम्पत्ति माथि रहेको भोगाधिकार अन्त्य भएको मानिनेछः–
(क) निजले सम्पत्ति परित्याग गरेमा,
(ख) निजले सम्पत्ति हस्तान्तरण गरेमा,
(ग) कुनै सम्पत्ति पूर्णरूपमा नष्ट वा बेकम्मा भएमा ।
२७३. प्रतिकूल भोगाधिकार रहेको मानिने : (१) यस परिच्छेदमा अन्यत्र जुनुसकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले अर्को व्यक्तिको चल सम्पत्तिको हकमा तीन वर्ष र जमिनको हकमा तीस वर्षभन्दा बढी समयदेखि त्यस्तो सम्पत्ति वा जमिन आप्mनै सम्पत्ति वा जमिन सरह भोग गरेमा त्यस्ता सम्पत्ति वा जमिनमा निजको प्रतिकूल भोगाधिकार रहेको मानिनेछ ।
तर,
(१) सरकारी, सार्वजनिक, सामुदायिक वा गुठीको जग्गा जतिसुकै समयसम्म भोग गरेको भए तापनि प्रतिकूल भोगाधिकार प्राप्त हुने छैन ।
(२) कुनै सम्पत्ति वा जमिनको सम्बन्धमा करार वा अन्य कानूनद्वारा छुट्टै व्यवस्था भएकोमा सोही बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई कुनै सम्पत्तिमा प्रतिकूल भोगाधिकार
प्राप्त भएमा त्यस्तो व्यक्तिले त्यस्तो सम्पत्ति आफ्नो नाममा स्वामित्व कायम गराउन सक्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वामित्ववालाको जानकारी विना, गोप्य रूपमा वा जबरजस्ती कुनै चल सम्पत्ति वा जमिन भोग गरेकोमा यो दफाको
व्यवस्था लागू हुने छैन ।
(४) यस दफा बमोजिमको अवधि गणना गर्दा यो संहिता प्रारम्भ भएको मितिबाट गणना गरिनेछ ।
२७४. क्षतिपूर्ति तिर्नु पर्ने : (१) कसैले कुनै सम्पत्ति जवरजस्ती, वदनियतपूर्वक वा गोप्य रूपमा भोग गरेमा त्यस्तो सम्पत्ति भोग गर्दा प्राप्त गरेको लाभ र त्यस्तो सम्पत्ति सम्बन्धित
व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ र त्यस्तो सम्पत्ति भोग गर्दा आफ्नो हेलचक्र्याइँबाट हुन पुगेको नोक्सानी वापत मनासिब क्षतिपूर्ति समेत तिर्नु पर्नेछ ।
(२) अरुको सम्पत्ति आफ्नो भोगाधिकारमा रहेको अवधिमा हराएमा वा क्षति भएमा भोगाधिकारवालाले त्यस्तो सम्पत्ति वापत सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति तिर्नु पर्नेछ ।
२७५. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।


परिच्छेद–३
सम्पत्तिको उपभोग सम्बन्धी व्यवस्था


२७६. अन्य व्यक्तिको सम्पत्ति उपभोग, बिगार्न वा प्राप्त गर्न नपाउनेः (१) कसैले पनि अन्य व्यक्तिको सम्पत्ति निजको मञ्जुरी बिना उपभोग गर्न पाउने छैन ।
(२) कसैले पनि अन्य व्यक्तिको बाटो वा निकास बन्द गरी, आफ्नो जग्गाको साँधमा कुनै काम वा निर्माण गरी वा अन्य कुनै पनि तवरले कुनै व्यक्तिको सम्पत्ति बिगार्न पाउने छैन ।
(३) कसैले पनि अन्य व्यक्तिको सम्पत्ति निजको मञ्जुरी बिना प्राप्त गर्न सक्ने छैन । तर नेपाल सरकारले सार्वजनिक हितको लागि कानून बमोजिम कुनै व्यक्तिको सम्पत्ति प्राप्त गर्न सक्नेछ ।
(४) कसैले पनि कानून बमोजिम बाहेक कुनै व्यक्तिको मञ्जुरी नलिई निजको घर कम्पाउण्डमा प्रवेश गर्न पाउने छैन ।
२७७. सम्पत्ति अनतिक्रम्य हुने : (१) कसैले पनि अन्य व्यक्तिको सम्पत्ति च्यापी, मिची वा कुनै तवरले खिचोला वा अतिक्रमण गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कुनै काम गरी कसैले अन्य व्यक्तिको सम्पत्ति आफ्नो कब्जामा लिएमा निजले त्यस्तो सम्पत्ति खिचोला वा अतिक्रमण गरेको मानिनेछ ।
२७८. सुरक्षात्मक उपाय अपनाउनु पर्ने : कुनै व्यक्तिले आफ्नो घर वा जग्गामा कुनै काम गर्दा सँधियारको घर वा जग्गा वा सँधियारलाई कुनै किसिमले हानि, नोक्सानी नहुने वा असर नपर्ने गरी सुरक्षात्मक उपाय अपनाउनुपर्नेछ ।
तर कुनै सँधियारले व्यावसायिक कारोबार गरेकोमा बाहेक आफ्नो घर वा जग्गाको उपभोग र प्रयोग गर्दा आएको वा निस्केको सामान्य प्रकृतिको ग्यांँस, गन्ध, धुवाँ वा आवाज जस्ता कुराले घर वा जग्गालाई हानि, नोक्सानी पारेको वा असर पारेको मानिने छैन ।
२७९. सहमति नलिई अर्काको जग्गामा घर बनाउन नहुने : (१) कसैले पनि स्वामित्ववालाको लिखित सहमति नलिई निजको जग्गामा घर बनाउन सक्ने छैन ।
(२) कसैले स्वामित्ववालाको लिखित सहमति नलिई निजको जग्गामा घर बनाएमा जग्गाधनीले चाहेमा त्यस्तो घरको बजार मूल्यको पच्चीस प्रतिशतसम्म कम मूल्यमा त्यस्तो घर खरिद गर्न पाउनेछ ।
(३) उपदफा (२) बमोजिम जग्गाधनीले त्यस्तो घर खरिद गरी नलिएमा घरधनीले स्वामित्ववालाको मञ्जुर भएमा त्यस्तो घर भएको जग्गाको बजार मूल्यको पच्चीस प्रतिशतसम्म मूल्य थप गरी त्यस्तो जग्गा खरिद गर्न सक्नेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम घर वा जग्गा खरिद बिक्री गरी लिन दिन दुवै पक्ष मञ्जुरी नभएमा घर बनाउनेले त्यस्तोे घर बनाएको मितिले तीन महिनाभित्र घर भत्काई आफ्नो मालसामान लैजानु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको अवधिभित्र घर नभत्काएमा त्यस्तो घर जग्गाधनीको हुनेछ ।
२८०. झ्याल राख्दा जग्गा छा्ेड्नु पर्ने : कुनै व्यक्ति वा सरकारी निकायले सँधियारको जग्गा तर्फ झ्याल वा ढोका राखी घर बनाउनु पर्ने भएमा सम्बन्धित निकायले तोकेको मापदण्ड बमोजिमको जग्गा छोड्नु पर्नेछ ।
२८१. घर वा बलेसीको पानी झार्न नपाउने : कसैले पनि आफ्नो घर वा वलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झार्न पाउने छैन ।
२८२. सँघियारको जग्गासँग जोडी सेफ्टी ट्याङ्की बनाउन नहुने : (१) कसैले पनि सँधियारको जग्गासँग जोडी सेफ्टी ट्याङ्की बनाउन पाउने छैन ।
(२) कसैले आफ्नो जग्गामा सेफ्टी ट्याङ्की बनाउनु परेमा सँधियारको जग्गा तर्फ सँधियारको स्वीकृति भएकोमा बाहेक कम्तीमा सम्बन्धित निकायले तोकेको मापदण्ड बमोजिमको जग्गा छोड्नु पर्नेछ ।
२८३. इनार वा कुवा खन्दा जग्गा छोड्नु पर्ने : कसैले आफ्नो जग्गामा इनार वा कुवा खन्दा सँधियारको जग्गाबाट कम्तीमा एक मिटर दुरी कायम हुने गरी जग्गा छोड्नु पर्नेछ ।
२८४. असर पर्ने गरी रुख बिरुवा लगाउन नहुने : (१) कसैले पनि रुख वा बिरुवा लगाउँदा अन्य व्यक्तिको घर, जग्गा वा कुनै सम्पत्तिलाई असर पर्ने गरी लगाउन हुँदैन ।
(२) कुनै व्यक्तिले आफ्नो जग्गामा लगाएको रुख वा बिरुवाले अन्य व्यक्तिको घर जग्गा वा अन्य सम्पत्तिमा फैलिई असर पु¥याएमा त्यस्तो रुख वा बिरुवा लगाउने व्यक्तिले त्यस्तो व्यक्तिको घर, जग्गा वा सम्पत्ति नोक्सान नहुने गरी अरुलाई असर पर्ने रुख वा बिरुवाको हाँगो वा जरा काट्नुपर्नेछ ।
(३) उपदफा (२) बमोजिम रुख वा बिरुवा लगाउने व्यक्तिले रुख वा बिरुवाको हाँगो वा जरा नकाटेमा त्यसबाट असर पर्ने व्यक्तिले त्यस्ता रुख वा बिरुवाको हाँगो वा जरा आफैँले काट्न सक्नेछ ।
२८५. क्षतिपूर्ति भराई लिन सक्ने : कसैले यस परिच्छेद बमोजिम गरेको काम कारबाहीबाट कुनै व्यक्तिलाई क्षति हुन गएमा क्षतिबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम गर्ने व्यक्तिबाट मनासिब क्षतिपूर्ति भरार्ई लिन सक्नेछ ।
२८६. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।


परिच्छेद–४
जग्गा आवाद, भोगचलन तथा दर्ता सम्बन्धी व्यवस्था


२८७. अर्काको जग्गा भोगचलन गर्न नहुनेः कसैले पनि अन्य व्यक्तिको हक, भोग र स्वामित्वको जग्गा निजको मञ्जुरी नलिई आवाद गर्न वा भोगचलन गर्न वा गराउन हुँदैन ।
२८८. कुलो बनाउन दिनु पर्ने : (१) जग्गा आवाद गर्न कसैलाई अन्य व्यक्तिको जग्गाबाट कुलो बनाउनु पर्ने भई जग्गा मागेमा सम्बन्धित जग्गाधनीले उपयुक्त ठह¥याएको ठाउँबाट त्यस्तो व्यक्तिलाई कुलो बनाउनको लागि जग्गा दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कुलो बनाउन जग्गा दिए वापत कुलो बनाउने व्यक्तिले सट्टा जग्गा, कुलो बनाई प्रयोग भएको जग्गाको प्रचलित मूल्य बमोजिमको रकम वा मनासिब क्षतिपूर्ति सम्बन्धित जग्गाधनीलाई दिनु पर्नेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक वा सरकारी जग्गामा कुलो बनाएकोमा कुलोमा परेको जग्गा वापत सट्टा जग्गा, जग्गाको मूल्य वा क्षतिपूर्ति दिनु पर्ने छैन ।
२८९. नदी वा खोलाको सबै पानी प्रयोग गर्न नसक्नेः कसैले आफ्नो जग्गामा उत्पत्ति भएको वा त्यसबाट बगेको नदी वा खोलाको सम्पूर्ण पानी तल्लो तटवर्ती जग्गाधनीले प्रयोग गर्न नपाउने, त्यस्तो नदी वा खोलामा रहेका जलचर बाँच्न नसक्ने वा पर्यावरणमा प्रतिकूल हुने गरी प्रयोग गर्न पाउने छैन ।
२९०. सिंचित खेतलाई असर पर्ने गरी नयाँ कुलो बनाउन नसक्ने : कसैले पनि पहिले बनाई सञ्चालनमा रहेको कुलोद्वारा सिंचित खेतमा पानी सारभूत रूपमा कम हुने गरी त्यसभन्दा माथि नयाँ कुलो बनाउन पाउने छैन ।
२९१. कुलोको पानीको उपयोग र बाँडफाँट : (१) कुलो बनाउनको लागि जुन व्यक्तिले श्रम वा खर्च गरेको छ सोही व्यक्तिले जग्गा आवाद गर्नको लागि कुलोको पानीमा पहिलो प्राथमिकता पाउनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि परापूर्वदेखि भागबण्डा बमोजिम पानी प्रयोग गर्दै आएको ठाउँमा सबै व्यक्तिहरूले भागबण्डा अनुसार कुलोको पानी उपयोग गर्न पाउनेछन।
(३) उपदफा (१) बमोजिम पानी उपयोग गर्ने व्यक्तिलाई पानी पर्याप्त भएपछि वा निजलाई पानी आवश्यक नपर्ने भएमा जुनसुकै व्यक्तिको कुलो भए पनि अन्य व्यक्तिले जग्गा आवाद गर्नलाई कुलोको पानी उपयोग गर्न पाउनेछ ।
(४) कुनै व्यक्तिको जग्गा सिंचित भई बढी भएको पानी अर्को व्यक्तिको जग्गामा बगेकोमा सम्बन्धित जग्गाधनीको अनुमति बिना पनि प्रयोग गर्न सकिनेछ र त्यस वापत कुनै दाबी लाग्ने छैन ।
२९२. सहमति बिना कुलो बदल्न नहुने : कुनै व्यक्तिको जग्गामा मात्र बनेको कुलो अन्य व्यक्तिले समेत प्रयोग गर्दै आएको भएमा त्यस्तो कुलो भएको जग्गाधनीले कुलो उपभोग गर्ने व्यक्तिको सहमति बिना साबिकको कुलो अन्य ठाउँमा फेरबदल गर्न पाउने छैन ।
२९३. कुलोमा श्रम वा खर्च नगर्नेले पानी उपयोग गर्न नपाउने : (१) नयाँ कुलो बनाउँदा वा साबिक देखिको पुरानो कुलो मर्मत सम्भार गर्दा त्यस्तो कुलोको पानी उपयोग गर्ने सबै व्यक्तिहरूले आ–आप्mनो जग्गाको अनुपातमा आवश्यक श्रम वा खर्च गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नयाँ कुलो बनाउँदा वा पुरानो कुलो मर्मत सम्भार गर्दा श्रम वा खर्च नव्यहोर्ने व्यक्तिले त्यस्तो कुलोको पानी उपयोग गर्न पाउने छैन ।
२९४. आपसी सहमति बमोजिम कुलो बनाउन वा पानी उपयोग गर्न सकिने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जग्गा आवाद गर्न कुलो बनाउने वा पानी उपयोग गर्ने सम्बन्धमा सम्बन्धित जग्गाधनी वा कुलो बनाउनेवा पानी उपयोग गर्ने बीच छुट्टै सहमति भएमा सोही सहमति बमोजिम कुलो बनाउन वा पानी उपयोग गर्न सकिनेछ ।
२९५. खोलाको साँधको जग्गा आवाद गर्ने : कुनै जग्गाको बीचमा नदी वा खोला पसी वारिपारी जग्गा भएमा वा कुनै जग्गालाई नदी वा खोलाले कटान गरेमा नदी वा खोलाले जग्गा छाडेपछि त्यस्तो जग्गा सम्बन्धित व्यक्तिको नै हुनेछ र निजले आवाद गर्न पाउनेछ ।
२९६. दर्ता गर्न नहुने : कसैले पनि अन्य व्यक्तिको हकको जग्गा आफ्नो नाममा दर्ता गराउन हुँदैन ।
२९७. नामसारी दाखिल खारेज गर्नु पर्ने : (१) कुनै जग्गाको दर्तावाला मरी आप्mनो नाउंँमा जग्गा नामसारी गर्नु परेमा वा कुनै जग्गा कुनै व्यहोराले आप्mनो हक हुन आई दाखिल खारेज गर्नु परेमा सम्बन्धित व्यक्तिले त्यस्तो काम भएको पैँतीस दिनभित्र मालपोत कार्यालयमा निवेदन दिई नामसारी, दाखिल खारेज गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्याद नाघेपछि कुनै व्यक्तिले नामसारी, दाखिल खारेजको लागि निवेदन दिएमा मालपोत कार्यालयले जतिसुकै अवधि व्यतित भए तापनि एकसय रुपैयाँ दस्तुर लिई त्यस्तो जग्गा निवेदकको नाममा नामसारी, दाखिल खारेज गरिदिनु पर्नेछ ।
२९८. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।


परिच्छेद–५
सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्ति सम्बन्धी व्यवस्था


२९९. सरकारी सम्पत्ति मानिने : नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको देहायको सम्पत्ति सरकारी सम्पत्ति मानिनेछ :–
(क) सरकारी घर, भवन वा जग्गा,
(ख) सडक, बाटो वा रेल्वे,
(ग) वन, जङ्गल वा वन जङ्गलमा रहेका रुख, बुट्यान,
(घ) नदी, खोलानाला, ताल, पोखरी तथा त्यसको डिल,
(ङ) नहर, कुलो वा ऐलानी, पर्ती जग्गा,
(च) खनिज वा खनिज पदार्थ,
(छ) हिमाल, भीर, पहरा, डगर, बगर, सार्वजनिक बगैँचा,
(ज) सार्वजनिक, सामुदायिक, गुठी वा कुनै व्यक्तिको नाममा रहेको सम्पत्ति बाहेकको अन्य सम्पत्ति ।
३००. सार्वजनिक सम्पत्ति मानिने : (१) सार्वजनिक प्रयोजनको लागि रहेका देहायको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ ः–
(क) परापूर्वकालदेखि रहेको घर, जग्गा, ढल वा बाटो,
(ख) कुवा, पँधेरो, पानीघाट, इनार, पोखरी तथा त्यसको डील,
(ग) गाईवस्तु निकाल्ने निकास, गौचर, खर्क, अन्त्यष्टीस्थल, चिहान, मसानघाट, समाधिस्थल कब्रिस्थान रहेको जग्गा,
(घ) पाटी, पौवा, देवल, धार्मिक उपासनास्थल, स्मारक, मठ, मन्दिर, चैत्य, गुम्बा, स्तूप, मस्जीद, इदगाह, कब्रगाह, गिर्जाघर, चोक, डबली, चौतारी वा सो रहेको जग्गा,
(ङ) हाट, मेला, सार्वजनिक रूपमा मनोरञ्जन गर्ने वा खेलकुद गर्ने ठाउँ रहेको जग्गा,
(च) सार्वजनिक प्रयोजनको लागि कसैले प्रदान गरेको निजी सम्पत्ति,
(छ) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक सम्पत्ति भनी तोकिदिएको अन्य सम्पत्ति ।
(२) सार्वजनिक सम्पत्तिको स्वामित्व सम्बन्धित सार्वजनिक संस्था वा नेपाल सरकारमा रहनेछ ।
३०१. सामुदायिक सम्पत्ति मानिनेः कुनै समुदायले आफ्नो प्रयोगको लागि राखेको जग्गा, त्यस्तो जग्गामा बनाएको कुनै संरचना वा समुदायको स्वामित्व रहेको अन्य सम्पत्ति सामुदायिक सम्पत्ति मानिनेछ ।
३०२. विवरण अद्यावधिक राख्नु पर्ने : (१) मालपोत कार्यालयले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक सम्पत्तिको सम्बन्धमा देहायका विवरणहरू तयार गरी अद्यावधिक गरी राख्नु पर्नेछ ः–
(क) सरकारी वा सार्वजनिक सम्पत्ति रहेको स्थान वा जग्गा भए कित्ता नम्बर तथा क्षेत्रफल र घर भए त्यसको स्थिति,
(ख) सरकारी वा सार्वजनिक सम्पत्ति कुनै निकाय वा संस्थाको हकभोग वा अधीनमा रहेको भए त्यसको विवरण,
(ग) अन्य आवश्यक कुराहरू ।
(२) उपदफा (१) बमोजिमको विवरण तयार गर्न स्थानीय तहले मालपोत कार्यालयलाई आवश्यक सहयोग गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम विवरण तयार गरिसकेपछि मालपोत कार्यालयले त्यसको एक एक प्रति सम्बन्धित जिल्लास्तरीय प्रशासनिक कार्यालय र स्थानीय तहमा पठाउनु पर्नेछ ।
(४) स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक सम्पत्तिको सम्बन्धमा उपदफा (१) बमोजिमको विवरणहरू सङ्कलन र अद्यावधिक गरी त्यसको एक प्रति सम्बन्धित मालपोत कार्यालयमा पठाउनु पर्नेछ ।
३०३. जग्गाधनी दर्ता प्रमाणपूर्जा उपलब्ध गराउनु पर्ने : (१) सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा कुनै सरकारी जग्गा भएमा मालपोत कार्यालयले त्यस्तो निकायको नाममा त्यस्तो जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा तयार गरी त्यस्तो निकाय वा संस्थालाई उपलब्ध गराउनु पर्नेछ । (२) कुनै समुदायको नाममा कानून बमोजिम कुनै जग्गा प्राप्त भएमा मालपोत कार्यालयले त्यस्तो समुदायको नाममा त्यस्तो जग्गाको जग्गाधनी प्रमाणपूर्जा तयार गरी त्यस्तो समुदायलाई उपलब्ध गराउनु पर्नेछ ।
३०४. सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति संरक्षण गर्ने दायित्व : (१) नेपाल सरकार, सार्वजनिक संस्था वा समुदायले आफ्नो हक, भोग, जिम्मा वा अधीनमा रहेको सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिको संरक्षण आफैँंले गर्नु पर्नेछ । (२) सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सम्बन्धित जिल्लास्तरीय प्रशासनिक कार्यालय र स्थानीय तहको हुनेछ ।
(३) सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सम्बन्धित समुदाय तथा स्थानीय तहको हुनेछ ।
३०५. सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति आफ्नो नाममा दर्ता गर्न नहुनेः (१) कसैले पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति आफ्नो नाममा दर्ता गर्न वा गराउन हुँदैन ।
(२) कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति व्यक्ति विशेषको नाममा दर्ता गरे वा गराएमा त्यस्तो दर्ता स्वतः बदर हुनेछ ।
(३) सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति व्यक्ति विशेषको नाममा दर्ता गरे गराएको सम्बन्धमा कसैको उजुरी परेमा सम्बन्धित मालपोत कार्यालयले त्यस सम्बन्धमा दर्तावाला समेतलाई झिकाई आवश्यक जाँचबुझ गरी उजुरी परेको छ महिनाभित्र आवश्यक निर्णय गर्नु पर्नेछ ।
(४) यस दफा बमोजिम व्यक्ति विशेषको नाममा रहेको कुनै सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति दर्ता बदर हुने भएमा मालपोत अधिकृतले आफ्नो कार्यालयमा रहेको स्रेस्तामा त्यस्तो व्यहोरा अभिलेख गरी त्यसको जानकारी सम्बन्धित जिल्लास्तरीय प्रशासनिक कार्यालय र स्थानीय तहलाई दिनु पर्नेछ ।
(५) यस दफा विपरीत सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा दर्ता गराउनेलाई मालपोत कार्यालयले पच्चीस हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिबाना गर्नु पर्नेछ ।
(६) सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति आफ्नो वा व्यक्ति विशेषको नाममा दर्ता गराउने कार्य प्रचलित कानून बमोजिम पनि कसूर हुनेमा सो बमोजिमको कसूरमा सजाय गर्नको लागि कारबाही चलाउन यस दफामा लेखिएका कुराले कुनै बाधा पर्ने छैन ।
३०६. सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गा कब्जा वा आवाद गर्न नहुने : (१) कसैले पनि सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा च्यापी, मिची, घुसाई वा अन्य कुनै तवरले आफ्नो कब्जामा राख्न हुँदैन ।
(२) कसैले पनि नेपाल सरकार, सम्बन्धित सार्वजनिक संस्था वा समुदायको स्वीकृति नलिई सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा आवाद गर्न वा गराउन हुँदैन ।
(३) उपदफा (१) वा (२) विपरीत कसैले सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा आफ्नो कब्जामा राखेमा वा आवाद गरेमा सरकारी वा सार्वजनिक जग्गा भए सम्बन्धित मालपोत कार्यालयले र सामुदायिक जग्गा भए सम्बन्धित स्थानीय तहले जग्गा छुट्याई र त्यस्तो जग्गाबाट उब्जेको बाली निजबाट लिई जग्गा खाली गराइदिनु पर्नेछ ।
(४) यस दफा विपरीत सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा कब्जा वा आवाद गर्ने व्यक्तिलाई मालपोत कार्यालयले दश हजार रूपैयाँसम्म जरिबाना गर्नेछ ।
३०७. संरचना बनाउन नहुने : (१) कसैले पनि सरकारी, सार्वजनिक वा सामुदायिक जग्गामा निजी वा सार्वजनिक प्रयोजनको लागि कुनै संरचना बनाउन हुँदैन ।
तर सरकारी वा सार्वजनिक जग्गाको हकमा नेपाल सरकारले उचित ठह¥याएको प्रयोजनका लागि र सामुदायिक जग्गाको हकमा सार्वजनिक प्रयोजनका लागि सम्बन्धित समुदायबाट कुनै संरचना बनाउन सकिनेछ ।
(२) उपदफा (१) विपरीत कसैले सरकारी, सार्वजनिक वा सामुदायिक जग्गामा कुनै संरचना बनाउन लागेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा स्थानीय तहले त्यस्तो कार्य तुरुन्त रोक्नु पर्नेछ ।
(३) उपदफा (१) विपरीत कसैले सरकारी, सार्वजनिक वा सामुदायिक जग्गामा कुनै संरचना बनाइसकेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीले त्यस्तो संरचना भत्काउनको लागि संरचना बनाउने मुख्य व्यक्तिलाई पन्ध्र दिनको म्याद दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम दिइएको म्यादभित्र त्यस्तो संरचना बनाउने मुख्य व्यक्तिले आफ्नै खर्चमा संरचना भत्काउनु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम दिइएको म्यादभित्र त्यस्तो संरचना बनाउने मुख्य व्यक्तिले संरचना नभत्काएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले त्यस्तो संरचना आफैँले भत्काउनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम प्रमुख जिल्ला अधिकारीले कुनै संरचना भत्काएकोमा त्यस्तो संरचना भत्काउँदा लागेको खर्च संरचना बनाउने मुख्य व्यक्तिबाट असूल गरी त्यस्तो संरचना बनाए वापत निजलाई पच्चीस हजार रूपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(७) उपदफा (२) बमोजिम कुनै संरचना बनाउन रोक लगाउन वा बनिसकेको संरचना भत्काउने सम्बन्धमा स्थानीय तहले कुनै सहयोग माग गरेमा आवश्यक सहयोग गर्नु सम्बन्धित प्रहरी कार्यालयको कर्तव्य हुनेछ ।
३०८. सरकारी सम्पत्ति हस्तान्तरण गर्न सक्नेः नेपाल सरकारले कुनै निकाय वा संस्थाको हकभोग वा अधीनमा रहेको कुनै सरकारी सम्पत्ति त्यस्तो निकाय वा संस्थाको स्वीकृति लिई अन्य निकाय वा संस्थाको नाममा हस्तान्तरण गर्न सक्नेछ ।
३०९. सामुदायिक सम्पत्ति सार्वजनिक सम्पत्तिमा परिणत हुन सक्ने : (१) कुनै समुदायले राखेको सामुदायिक सम्पत्ति त्यस्तो समुदायले प्रयोग नगरेमा वा कुनै समुदायले सामुदायिक सम्पत्ति
समुदायको काममा प्रयोग गर्न आवश्यक नभएको व्यहोरा जनाई त्यस्तो समुदायका सबै परिवारका मुख्य व्यक्तिले सहीछाप गरी सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिएमा सम्बन्धित मालपोत अधिकृतले त्यस सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यस्तो सम्पत्ति सार्वजनिक सम्पत्तिमा परिणत गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सामुदायिक सम्पत्ति सार्वजनिक सम्पत्तिमा परिणत भएमा सम्बन्धित मालपोत अधिकृतले आफ्नो कार्यालयमा रहेको स्रेस्तामा त्यस्तो व्यहोरा जनाई त्यसको जानकारी सम्बन्धित जिल्लास्तरीय प्रशासनिक कार्यालय र स्थानीय तहलाई दिनु पर्नेछ ।
३१०. उजुरी गर्नेलाई पुरस्कार दिने : (१) कसैले यस परिच्छेद विपरीत सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति दर्ता गरे वा गराएको, त्यस्तो सम्पत्ति अन्तर्गतको जग्गा कब्जा गरी उपयोग वा आवाद गरेको वा त्यस्तो जग्गामा कुनै निर्माण कार्य गरेको विषयमा जुनसुकै व्यक्तिले सम्बन्धित निकायमा उजुर गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको उजुरी जाँचबुझ गर्दा साँचो ठहरिएमा सम्बन्धित निकायले त्यस्तो कार्य गर्ने व्यक्तिलाई यस परिच्छेद बमोजिम भएको जरिबानाको आधा रकम उजुर गर्ने व्यक्तिलाई पुरस्कार वापत उपलब्ध गराउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम दिइएको उजुरी सम्बन्धित निकायले गोप्य राख्न सक्नेछ ।
३११. कारबाही हुने : (१) कुनै कर्मचारीले जानीजानी हेलचेक्र्याइँ वा लापरवाहीसाथ सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति कुनै व्यक्तिको नाममा दर्ता गरे वा गराएमा वा यस परिच्छेद बमोजिम सहयोग गर्नु पर्ने कर्तव्य भएको कर्मचारीले कुनै सहयोग नगरेमा त्यस्तो कर्मचारीलाई निजको सेवा, शर्त सम्बन्धी कानून बमोजिम विभागीय कारबाही हुनेछ । (२) उपदफा (१) बमोजिमको काम गर्ने कर्मचारी उपर उपदफा (१) को कारबाहीको अतिरिक्त कानून बमोजिम फौजदारी कसूरमा कारबाही गर्न बाधा पर्ने छैन ।
३१२. मुद्दा दायर गर्न वा निवेदन वा पुनरावेदन गर्न सरकारी वकिललाई अधिकार हुनेः (१) कुनै निकाय वा अधिकारीले सरकारी वा सार्वजनिक सम्पत्तिमा प्रतिकूल असर पर्ने गरी गरेको
निर्णय उपर कानून बमोजिम मुद्दा गर्न, निवेदन वा पुनरावेदन गर्ने अधिकार सम्बन्धित सरकारी वकिललाई हुनेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा दायर गर्दा वा निवेदन वा पुनरावेदन दिने सम्बन्धमा सम्बन्धित कार्यालय वा अधिकारीले सरकारी वकिललाई आवश्यक पर्ने कागजात उपलब्ध गराउने लगायत अन्य सहयोग गर्नु पर्नेछ ।
३१३. हदम्याद : यस परिच्छेदको दफा ३०५, ३०६ र ३०७ को सम्बन्धमा जहिलेसुकै र अन्य दफा बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ । स्रोतः नेपाल कानून आयोग बांकी अर्काे हप्ता………


सेयर गर्नुहोस