पोखरा।
पोखरा महानगरपालिका वडा नम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी पुरा भएको छ । कोटिहोमको सोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा मंसिर १७ देखी २७ गतेसम्म कोटिहोम हुन लागेको हो । ढुङगेसाँघु, पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरि भब्य सजावट गरिएको छ ।
कोटिहोम उद्घाटन पहिले बिहान १० बजे पोखरा महानगरपालिका वडानम्बर १५ कार्यालय अगाडीबाट कलश यात्रा सुरु हुने धामका अध्यक्ष मदन गिरीले जानकारी दिए । वडा कार्यालय अगाडीकबाट सुरु हुने कलश यात्रा राधोराधे मन्दिर, रामबजार, घलेचोक, टुटुङगा, नयाँगाउँ, बनक्याम्पस, किन्तपुरचोक, ढुङगेसाँघु चोक, हुदैँ पट्नेरी धाममा पुग्नेछ, गिरीले भने ।
दिउँसो १ बजे प्रदेश प्रमुख भट्टले कोटिहोमको उद्घाटन गर्ने छन् ।
कोटिहोमका प्रमुख बाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल पोखरा आइसकेका छन् । कोटिहोममा १५ भन्दा बढि बाचकलाई निम्ता गरिएको आयोजकले जनाएको छ ।
धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।