फिर्केमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिने

सेयर गर्नुहोस

पोखरा, १९ मंसिर ।

नेपालमा विद्युतीय गाडी आयात गरी बजार विस्तार गरिरहेको सिजी मोटर्सले फास्ट चार्जिङ स्टेसनमा लगानी बढाइरहेको छ । सिजी मोटर्स प्रालि र प्रालि अन्तर्गतको डिलर टिटी ग्लोबल प्रालिले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण गरेको छ । सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार एक कार्यक्रमबीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीलाई चार्जर हस्तान्तरण गरेका हुन् । सोहि अवसरमा बोल्दै प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले सिजी मोटर्सले देशभर २ सय भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिसकेको र अबको एक वर्षभित्र थप २ सय स्थानमा बिस्तार गरिने जानकारी दिए । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्नेमा जोड दिए । चार्जिङ स्टेसन तथा अन्य पूर्वाधार विकासमा सिजी मोटर्स र टिटी ग्लोबल प्रतिबद्ध रहेको टिटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले बताए । टिटि ग्लोबलले केवाइसी, किङलङ, नेटा, रिडारा र अभतारको बिक्री वितरण गर्दै आइरहेको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रवन्ध निर्देशक ज्ञानबहादुर केसीले व्यवसायीहरूको हितमा कम्पनी सक्रिय भएर लागिरहेको बताए । कम्पनीको कार्यालय परिसर सृजनाचोक (फिर्के) मा चार्जिङ स्टेसन स्थापना गरिने छ ।


सेयर गर्नुहोस