पोखरा, २१ मंसिर ।
दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा आउँदाे चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता हुने भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि, राखेपले दशौं राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको थियो ।
गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनमा २०७९ कात्तिक २ गते बसेको राखेपको ११५ औं बोर्ड बैठकले उक्त मितिमा दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।