पर्वतीय महोत्सवको चौथो दिन पर्वतारोहीसँग छलफल

सेयर गर्नुहोस

पोखरा, २६ मंसिर ।
नवौँ संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको चौथो दिन अनुभवी पर्वतारोहीसँग पर्वतारोहणका रमाईला क्षण, तयारी, दुःख र भावी सम्भावनाबारे संवाद गरिएको छ । विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने पहिलो महिला एवं नेपाल पर्वतारोहण संघकी द्वितीय उपाध्यक्षसमेत रहेकी दावा याङजुङले पर्वतारोहण क्षेत्रमा पनि महिलालाई अनेक चुनौती रहेको औंल्याइन्। उनले सुनाईन् ‘महिलालाई फरक खाले चुनौती छन् । आर्थिक कठिनाइ पनि उतिकै छ, पथप्रर्दशक भएर काम गर्दा सगरमाथा चढेको छ कि छैन भनी बारम्बार सोधियो, त्यसैले गर्दा आरोहणतिर लागेँ ।’
कान्छा आरोहि निमा रिन्जी शेर्पाले हिमाल आरोहणले आफूलाई जीवनमा जुनसुकै काम गर्न सक्छु भन्ने हिम्मत भरेको सुनाए । उनले आरोहणका क्रममा केही शारीरिक समस्या भोग्नुपरेको भएपनि मानसिक रुपमा पहिल्यै तयार भएकाले आरोहण सहज बनेको प्रतिक्रिया दिए ।
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित महोत्सवको २३ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्‌घाटन गरेका थिए भने २७ गतेसम्म संचालन हुनेछ ।

सङ्ग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि भईरहेको छ । महोत्सवमा बिहीबार अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरबारे छलफल हुँदै छ । सो छलफलमा एक्याप प्रमुख डा रविन कडरिया, नेपाल पर्वतारोहण संघ गण्डकीका निवर्तमान अध्यक्ष शेषकान्त शर्मा, टान गण्डकी निवर्तमान अध्यक्ष धर्मराज पन्थी, अनुसन्धाता रेविका गुरुङबिच छलफल हुनेछ । बुधबारसम्म २५ हजारले महोत्सव अवलोकन गरिसकेको जनाईएको छ । महोत्सवको अवलोकन निःशुल्क रहेको छ । नेपाल पर्वतारोहण सङ्घ र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराले संयुक्त रुपमा महोत्सवको आयोजना गरेका हुन् ।


सेयर गर्नुहोस