सबैलाई न्यायाे कपडा दिलाउन दुलेगौंडा आमा समूहकाे कपडा बैंक

सेयर गर्नुहोस

६ पुस, तनहुँ  ।

शुक्लागण्डकी नगरपालिका ४ स्थित दुलेगौंडा आमा समूहले कपडा बैंक सञ्चालनमा ल्याएकाे छ । जाडाेमा विपन्न वर्गका व्यक्तिका लागि न्यायाे कपडा उपलब्ध गराउने उदेश्यले कपडा बैंक सञ्चालन गरिएकाे समूहकी अध्यक्ष मधु शर्माले जानकारी दिइन् ।

कसै संग आवश्यकता भन्दा बढि कपडा थुप्रने, कसैसंग भने जाडाे छेक्ने साधारण कपडा समेत नहुने स्थिति रहेकाले हुने संग लिएर नहुनेलाई दिन कपडा बैंक चलाइएकाे शर्माले बताइन् ।

मंसिरकाे अन्तिम सातादेखि सञ्चालन गरिएकाे कपडा बैंकबाट हालसम्म १३८ जनाले कपडा प्राप्त गरिसकेका छन् । साथै,  ३८ जनाले कपडा सहयाेग गरेकाे समूहले जानकारी दिएकाे छ । 

कपडा आवश्यक पर्ने व्यक्तिले प्रत्येक हप्ताकाे शुक्रबार दिउँसाे ३ बजे देखि ५ बजेसम्म दुलेगौंडा हेल्थपाेष्ट चाेक स्थित समूहकाे भवनबाट कपडा लिएर जान सक्नेछन् । यस्तै, कपडा सहयाेग गर्न चाहनेले समुहकाे भवन वा नजिकै रहेकाे शिवालय मन्दिरमा कपडा ल्याएर छाेड्न सक्ने समूहले जनाएकाे छ । 

सफा, सुकिला र प्रयाेग गर्न मिल्ने याेग्य कपडा मात्रै कपडा बैंकमा राखिने समूहले स्पष्ट पारेकाे छ । 


सेयर गर्नुहोस