कास्की चापाकोटका ६६ बर्षीय पुण्यप्रसाद पराजुली सधै व्यस्त देखिन्छन् । हरेक दिन घरगोठ र खेतबारीको काममा खटिने पराजुली चापाकोटका स्थानीय अगुवा पनि हुन् । ३३ बर्षको शिक्षण पेशाबाट अवकास लिएपछि पनि पराजुलीको व्यस्तता घटेको छैन, बरू बढेको छ ।
समाजमा पुण्य सरका नामले चिरपरिचित उनी एक उदाहरणीय व्यक्ति हुन्। २०४३ सालमा मात्र पोखराको मालेपाटनमा रहेको बाराही मा.वि.बाट एसएलसी तथा २०४५ सालमा भारतको बनारसबाट प्रविणता प्रमाणपत्र तहको अध्ययन पुरा गरि शिक्षण पेशामा आवद्ध भएका पुण्य सरले कृषिलाई पनि संगै अगाडी बढाईरहे । श्रीमतीलाई रोगले च्याप्न थालेपछि ४ सन्तानको रेखदेख र घरधन्दाको जिम्मेवारी पनि पुण्य सरले कुशलतापूर्वक सम्हाले । जति परिश्रम गर्यो उति जिवनलाई स्वस्थ र आनन्दमय बनाउन सकिन्छ भन्ने ठानेर आफु कहिल्यै कुनैपनि काममा पछि नहटेको उनी बताउँछन् ।
“मैले पढाउन सुरु गर्दा २०५ रुपैया मासिक तलब थियो । अवकाश लिने बखत २०७४ साल जेठ २ गतेसम्म २६ हजार ६ सय बत्तीस रुपैयाँ पुग्यो ।” उनले सुनाए ।
श्रीमान श्रीमती, ४ छोरा, ४ बुहारी ३ नातिनातिनी गरि १३ जनाको परिवारका मुली पुण्यप्रसाद जागिरे छोराबुहारीका लागि समेत अन्न, तरकारीको जोहो गरिदिन्छन् । ३ छोरा र १ बुहारी वैदेशिक रोजगार, १ छोरा र ३ बुहारी नै जागिरमा रहेकोले आम्दानी राम्रै भएपनि उनले आफुले गर्दैआएको कृषि पेशा छाडेका छैनन् । “शिक्षण पेशाबाट त रिटायर्र्ड हुनुभो कृषि पेशाबाट कहिले रिटायर्र्ड हुने बुवा ? भन्ने प्रश्नमा उनी भन्छन् – “देशको अस्थिर राजनितीले स्वदेशमा खासै आसलाग्दो अवस्था छैन, विदेशमा भएपनि कहिले कोभिड जस्ता महामारी त कहिले विभिन्न देशमा हुने युद्धले कतिबेला कहाँ के हुन्छ पत्तो छैन, आफुले सक्ने बेलासम्म खेति बाँझो नराखिदिने हो भने भोली मेरो परिवार खान नपाएर मर्ने अवस्था नआओस भनेर खेतीपाती छोड्न सकेको छैन ।”
अहिलेपनि उनको घरमा हल गोरु र दुहुनो भैँसी छन् । सामाजिक काममा पनि उत्तिकै चासो राख्ने पूण्य सर हाल आफ्नै गाउँको कृषि सहकारी पञ्चकोसी कृषि सहकारीको अध्यक्ष समेत हुन् ।
रोजगारीको शिलशिलामा छोराबुहारी बजार झरेका छन् । बेशीमा नयाँ घर पनि बनेको छ तर पुण्य सरले आफ्नो पुख्र्यौली थलो छोडेका छैनन् । “आफुले दुख गरि जोडेको सम्पती चटक्क छाडेर जान सकिदैंन, जुन दिन हात पाखुराले काम गर्न छाड्छन् उतिबेला जे होला अहिले हामी यहि घरमा नै खुसी छौ, सम्पतीको संरक्षण हुनुका साथै आफ्नै उत्पादन खान पाईएको छ, शरिरलाई अभ्यास पनि भएको छ ।”
यतिवेला पूण्य सरको दम्पतीलाई खेती थन्काउने चटारो छ । आलु लगाउने, दाँइ राख्ने काम बाँकी नै छन् । श्रमलाई सम्मान गर्ने पराजुली बुढाबुढीमा युवा उत्साह देखिन्छ ।