२६ औं आदर्श कप फुटबल माघ ९ देखि १६ सम्म

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा  

२६ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता आगमी माघ ९ गतेदेखि माघ १६ गतेसम्म सञ्चालन हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. २९, भण्डारढिक खेल मैदानमा प्रतियोगिताका खेलहरु सञ्चालन हुने आयोजक आदर्श युवा क्लबले जानकार दिएको छ ।

शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक ओमप्रकाश गुरुङले आदर्श कपमा गण्डकी प्रदेशका विभिन्न जिल्ला र विभागीय टोलीसहित ८ टोली सहभागी हुने जानकारी दिए । प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की जिल्ला फुटबल सङ्घ, तनहुँ जिल्ला फुटबल सङ्घ, नेपाल प्रहरी गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी, म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब पर्वत र होराइजन क्लब स्याङ्जा सहभागी हुने क्लबले जनाएको छ । 

प्रतियोगिताको उपाधि विजेताले ४ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले नगद २ लाख ११ हजार १ सय ११ रुपैयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने पत्रकार समेलनमा जानकारी दिईयो ।

यस्तै, प्रतियोगितामा  उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई नगद २५ हजार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने छ ।

प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले ५ हजार रुपियाँ र ट्रफी पाउने छन् भने अनुशासित टोलीलाई पनि ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ। 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।