अवैध कारोबारमा संलग्न ३ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, ११ साउन ।

जिल्ला प्रहरी कार्यालय कास्कीले विदेशी मुद्राको अवैध कारोबारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ७५ लाख ९६ हजार ९ सय रुपैया बरामद गरेको छ । गोप्य सूचनाको आधारमा शनिबार बेलुकी करिब ५ बजे पोखारा १७ पार्दी बिरौटाबाट उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख श्याम बाबु ओलियाले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका ४ घर भइ हाल पोखरा ६ बैदाम बस्ने ४५ वर्षे राजकुमार बुढाथोकी, रुपन्देही सिद्धार्थनगर १३ हाजबजार घर भएका मुहुमुद्धिन अहमद र पोखरा १९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेल रहेका छन् । उनीहरु सुरुमा साथीभाइबाट चिनजान भएको र पछि अवैध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसनधानबाट खुलेको पाइएको छ ।

झापाका बुढाथोकी २० वर्षअघि पोखरा आइ सेन्टर पोइन्ट लेकसाइडमा हिलारी मनि चेम्वर संचालन गर्दै आएको अनुसन्धानबाट खुलेको एसपी ओलियाले बताए । यस्तै रुपन्देहीका अहमदले रुपन्देही र कास्कीमा होटल संचालन गर्दै आएको पाइएको छ भने विगत १४ वर्षदेखि पेशामा लगोका पौडल पोखरा स्ट्रेट नं १७ मा रहेको सगरमाथा मनि चेम्वरका संचालक हुन ।

उनीहरुको साथबाट अमेरिकी डलर १ सय दरको नोट ११६ थान, यूरो ५ सय दरको नोट ३ थान, यूरो २ सय दरको नोट ८ थान, यूरो १ सय दरको १ थान र नेपाली रुपैयाँ १ हजार दरको ४ हजार ३७३ थान , नेपाली रुपैयाँ १ सय दरको नोट ७ थान गरी हालको विदेशी मुद्रा दर अनुसार जम्मा नेपाली रुपैया ७५ लाख ९६ हजार ९ सय बरामद भएको एसपी ओलियाले बताए ।

उनीहरुलाई पक्राउ गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसूरमा जिल्ला आदलत कास्कीबाट ६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।