बाग्लुङ ताराखाेलाकाे गाेल्डेन चिया देशकै उत्कृष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१५ बैशाख, काठमाडौं 

३० औँ राष्ट्रिय  चिया दिवसको अवसरमा भएको टि टेस्टङ प्रतियोगितामा गण्डकी प्रदेश, बागलुङ जिल्लामा अवस्थित गोल्डेन टि ईस्टेट प्राली, ताराखोला गाँउपालिका -१ शिरूवारीको २ वटा चियाले प्रथम स्थान हासिल गरेको छ । दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको मुल समारोहमा विजेताहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।

चार श्रेणीमा गरिएको चियाको स्वाद परिक्षण प्रतियोगितामा दुई श्रेणीमा गाेल्डेन चिया प्रथम भएको हो । ग्रिनिस अर्थोडक्स, गोल्डेन टि, ह्वाईट टि र ग्रिन टि क्याटागोरीमा मध्ये ग्रिनिस अर्थोडक्स र गोल्डेन टि प्रथम भएको चिया तथा कफी विकास बाेेर्ड पाेखराका सूचना अधिकारी नगेन्द्र सुवेदीले जानकारी दिए ।

नेपालभरीका ४५ चिया उद्योगका १२० चियाका नमुनाको अर्गानोलेप्टिक टेष्ट गरिएको हाे । भारतका वरिष्ठ टि टेस्टर कौषिक भट्टाचार्य र डेविड जोनसन साथै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका वरिष्ठ चिया प्राविधिक नविन कोइरालले चिया परिक्षण गरेका हुन् ।
स्वाद बाट गरिने चिया परिक्षणमा सुख्खा चियाको रूप, बासना, तातोपानी डुबाइसकेपछिको रूप र बासना र स्वादलाई इन्द्रियहरूको माध्यमबाट अनुभुति गर्ने गरिन्छ ।

समुद्री सतहबाट २२०० देखि २४०० मिटरमा फैलिएको चिया बगानबाट उत्पादित चिया गुणस्तरमा अब्बल सावित भएको हो ।

बोर्डका कार्यकारी निर्देशक फाइन्द्र राज पाण्डेको अध्यक्षतामा सम्मन्न कार्यक्रममा चिया क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, चिया उद्योगी, चिया किसान र चिया पारखीहरू सहभागी भए ।

वि. सं. २०७२ सालमा स्थापित गोल्डेन टि इस्टेट प्रा.लिले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा यसै चिया सिजनबाट व्यवसायिक उत्पादन थालेको हाे ।

गण्डकी प्रदेशकाे चिया उत्कृष्ट हुँदा थप उत्साह र जिम्मेबारी बढेको क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले बताए ।

विविध समस्याहरूको बाबजुद बोर्डको सहयोगमा चिया प्रशोधन शुरू गरी चियाको गुणस्तर अब्बल सावित हुँदा हौसला बढेको गोल्डेन टि इस्टेट प्रालीका अध्यक्ष सरोज दाहालले बताए ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका प्राविधिक नगेन्द्र सुबेदीले पहाडि क्षेत्रमा चिनिया जातको चिया खेति गरिने जसबाट अर्थोडक्स, ग्रिन टि लगायतका चिया प्रशोधन गर्न सकिने बताए । 'उचाइ बढ्दै जाँदा चियाको उत्पादन घट्दै जाने तर गुणस्तर बढ्दै जान्छ,  नेपालमा २२०० मिटर भन्दा माथि विरलै चिया बगानहरू छन्,  उच्च उचाइको चिया उच्च गुणस्तरको हुन्छ' सुवेदीले भने ।

गण्डकी प्रदेशमा बागलुङ सँगै कास्की र लमजुङमा पनि व्यवसायिक चिया खेति रहेको बोर्डकाे तथ्याङ्क छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।