पोखरा, २४ साउन । कास्की प्रहरीले ६ दशमलब ४ केजी अवैध सुनसहित पोखराबाट ११ जनालाई पक्राउ गरेको छ । पोखरा वडा नं २,३,४ र ९ का एरियाहरुमा अबैध तरिकाले सुनचाँदीको कारोबार गरिरहेको अवस्थामा उनीहरुलाई शुक्रबार बेलुकी पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्याम बाबु ओलियाले जानकारी दिए ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसपी ओलियाले भने- “अबैध सुनको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा हामीले हिजो बेलुकी ४ बजेदेखि पोखराका विभिन्न स्थानमा अपरेसन गरेका थियौं । ‘अपरेसन एलो मेटल’ नाम दिएर गरिएको अपरेसनका क्रममा बेलुकी ८ बजे हामीले ६ दशमलब ४ केजी अवैध सुनसहित ११ जनालाई पक्राउ गर्न सफल भयौ ।”
उनीहरुको साथबाट ५४९ तोला ४० लाल सुन, चाँदी ४४४ तोला ७३ दशमलब ९ लाल सहित नगद रु ५ लाख १४ हजार ६६५ बरामद गरिएको एसपी ओलियाले बताए । हिजो शुक्रबार नेपाली बजारमा सुनको बिकी मूल्य रु १ लाख ९९ हजार ९ सय थियो भने चाँदीको बिक्री मूल्य रु २ हजार ३१५ रहेको सुनचाँदी व्यवसायी संघ कास्कीले जनाएको छ । एसपी ओलियाका अनुसार पक्राउ पर्नेमा १ महिला सहित ११ जना सबै भारतिय नागरिक छन् ।
उनीहरु रोजगारीको शिलशिलामा नेपाल आई लामो समयदेखि पोखरामा रहेर कारीगडको काम गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरु एउटै गाउँका स्थानिय भएको खुलेको छ । भारत घर भइ हाल पोखरा बस्ने भारतीय नागरिकहरु राजेन्द्र रामचन्द्र जगताप, मनिक लाल आदक , सन्दिप ढाव, सोमनाथ पाल , गोविन्दा दिण्डा, तापस सामन्त , सुनिता पवार, प्रोभास माझी, उज्वल भोमिक, असित वर र गोविन्द दिण्डालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
उनीहरु सबैलाई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटबल पठाइने एसपी ओलियाले बताए ।