आँबुखैरेनी । मित्रता अपाङ्गता समावेशी विद्यालयको औपचारिक शुभारम्भ गरिएकाे छ । शिक्षा सबैका लागि भन्ने मूल मन्त्र लाई आत्मसात् गर्दै विशेषगरी अपाङ्गता भएका बालबालिकाको आवश्यकता अनुरूप समावेशी कक्षा शुरू गरिएकाे विद्यालयले जनाएकाे छ ।
शुभारम्भ कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिक्षामा समानता र सहअस्तित्व स्थापित गर्ने अपाङ्गतामैत्री समावेशी विद्यालयलाई नमुना विद्यालयकाे रूपमा विकास गरिने बताए ।
विद्यालयका अध्यक्ष केपी अधिकारीकाे अध्यक्षतामा भएकाे शुभारम्भ कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, अभिभावक, शिक्षाविद् डा. बाबुराम ढुंगाना, काठमाडौँ विश्वविद्यालयका समावेशी शिक्षाका प्राध्यापक, तथा राष्ट्रिय अपाङ्गता महासंघ नेपाल गण्डकी प्रदेश समिति अध्यक्ष गंगा देवी घर्ती मगरको लगायतको उपस्थिति रहेको थियो।
विद्यालयले फरक क्षमता भएका बालबालिकालाई एउटै कक्षा कोठामा समावेशी सिकाइ विधि मार्फत शिक्षा दिन सुरु गरेको छ। विद्यालयमा हाल २५ जना बालबालिका भर्ना भइसकेका छन् भने यही महिना भित्र ४० जना पुग्ने अपेक्षा गरिएको छ। हालको भौतिक संरचनाका कारण सम्पर्कमा आएका सबैलाई भर्ना गर्न नसकिएको भए पनि नयाँ भवन निर्माणसँगै थप बालबालिकालाई समेट्ने तयारी भइरहेको विद्यालयले जनाएकाे छ ।
यो विद्यालय अपाङ्गता भएका बालबालिकामात्र नभई जटिल र फरक प्रकृतिकाे आवश्यकता भएका विद्यार्थीहरूको लागि पनि सिकाइको साझा थलो हो। यहाँ शिक्षकहरूलाई समावेशी शिक्षा सम्बन्धी विशेष तालिम प्रदान गरिनेछ, जसले शिक्षा क्षेत्रमा कार्यरत मानव स्रोतलाई समावेशी शिक्षाको अनुभव र दक्षता प्रदान गर्नेछ।
विद्यालयले शिक्षा मात्र होइन, थेरापी सेवा, मनोपरामर्श सेवा, तथा आधारभूत स्वास्थ्य उपचार सेवा समेत एउटै छानामुनि प्रदान गर्दैछ। यसले अपाङ्गता भएका बालबालिकाका लागि आवश्यक सम्पूर्ण सेवा एकीकृत रूपमा उपलब्ध गराउनेछ।
विद्यालयले विशेषगरी न्यून आय भएका परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्य राखिएको छ। विद्यालय कुनै निजी पहल नभई सार्वजनिक–सामुदायिक साझेदारीमा आधारित संस्था हो जसले शिक्षालाई हकको रूपमा व्यवहार गर्छ । विद्यालयले केवल सिकाइ होइन, जीवन बदल्ने अवसरहरू प्रदान गर्ने सराेकारवालाले बताएका छन् ।