वारिस सम्बन्धी व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१४४. वारिस नियुक्त गर्न सक्ने :- (१) मुद्दाको कुनै पक्षले आफ्नो तर्फबाट अदालतमा मुद्दासँग सम्बन्धित कुनै काम गर्न वा यस परिच्छेदमा उल्लिखित खास कामका लागि कुनै व्यक्तिले अर्को कुनै व्यक्तिलाई आफ्नो प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रतिनिधि नियुक्ति भएकोमा वारिस नियुक्त गरिएको मानिनेछ ।
(३) उपदफा (२) बमोजिम वारिस नियुक्त गर्दा लिखत गर्नु पर्नेछ ।
१४५. वारिस हुने व्यक्तिको योग्यता :- देहायको योग्यता पुगेको व्यक्ति वारिस हुन सक्नेछ :-
(क) कानून बमोजिम करार गर्न योग्य,
(ख) फैसला बमोजिम सरकारी बिगो, फैसला कार्यान्वयन गरे बापत अदालतलाई तिर्नु पर्ने कुनै दस्तुर, अदालती शुल्क वा कुनै दण्ड वा जरिबाना तिर्न बाँकी नरहेको,
(ग) कीर्ते, जालसाजी वा भ्रष्टाचार वा नैतिक पतन देखिने कसूरमा सजाय नपाएको ।
तर यस खण्डमा लेखिएको कुनै कुराले एकासगोलको व्यक्तिलाई वारिस नियुक्ति गर्न बाधा पुर्‍याईने छैन ।
४६.वारिसनामाको ढाँचा :- (१) दफा १४४ को उपदफा (३) बमोजिमको लिखत गर्दा अनुसूची–१३ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको वारिसनामाको लिखतमा कारणीले सहीछाप गरी कम्तीमा दुई जना साक्षी र वारिसनामा लेख्ने लेखकको पहिचान समेत उल्लेख गरी निजहरूको समेत सहीछाप गराउनु पर्नेछ । 
१४७. एकभन्दा बढी मुद्दा वा व्यक्तिको वारिस हुन सक्ने :- एउटै व्यक्ति एकैपटक एकभन्दा बढी मुद्दाको वारिस हुन वा एउटै मुद्दामा एकभन्दा बढी व्यक्तिहरूबाट निज वारिस नियुक्त हुन सक्नेछ ।


 तर कुनै मुद्दामा एकै पटक एउटै व्यक्ति पक्ष र विपक्ष दुवैको वारिस नियुक्त हुन सक्ने छैन ।


१४८. पक्ष वारिस हुन सक्ने :- कुनै मुद्दामा एउटै पक्षका दुई वा सोभन्दा बढी व्यक्ति बादी वा प्रतिबादी भएकोमा त्यस्ता व्यक्तिहरूमध्ये कुनै एक व्यक्तिलाई सोही मुद्दामा वारिस नियुक्त गर्न सकिनेछ ।
 

१४९. एकभन्दा बढी अदालतमा वारिस नियुक्त हुन सक्नेः कुनै एक अदालतमा विचाराधीन रहेको मुद्दामा वारिस नियुक्त भएको व्यक्ति अर्को अदालतमा विचाराधीन रहेको अर्को मुद्दामा वारिस नियुक्त हुन सक्नेछ ।
१५०. वारिसको अधिकार  :- वारिसको अधिकार मुद्दाका पक्षले वारिस नियुक्त गर्दाका बखत वारिसनामामा लेखिए बमोजिम हुनेछ ।
१५१. वारिसनामा रीतपूर्वकको हुनु पर्ने :-  (१) अदालतले वारिसनामा दर्ता गर्नु अघि त्यस्तो वारिसनामामा यस परिच्छेद बमोजिम रीत पुगे वा नपुगेको जाँच गरी रीतपूर्वकको देखिएमा दर्ता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जाँच गर्दा वारिसनामा रीत नपुगेको देखिएमा रीत नपुगेको कारण खुलाई रीत
पुर्‍याई ल्याउन तीन दिनको म्याद दिई दरपीठ गरिदिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम दरपीठ गरिएको वारिसनामा म्यादभित्र रीतपुर्‍याई ल्याएमा अदालतले त्यस्तो वारिसनामा दर्ता गर्नु पर्नेछ ।
१५२. वारिस परिवर्तन गर्न वा आफै मुद्दा सकार गर्न सक्ने :- (१) मुद्दाको पक्षले चाहेमा आफुले दिएको वारिसनामामा जुनसुकै बखत बदर गरी अर्को वारिस नियुक्त गर्न वा निवेदन दिई आफैले मुद्दा सकार गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अर्को वारिस नियुक्त भएकोमा वा पक्ष आपैmले मुद्दा सकार गरेमा अदालतले वारिस नियुक्त गरिएको वारिसनामा वा मुद्दा सकार गर्न दिएको निवेदन मिसिल संलग्न राखी त्यसको अभिलेख समेत राख्नु पर्नेछ ।
१५३. अधिकृत वारिस सम्बन्धी व्यवस्था :- (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले आफ्नो तर्फबाट कुनै मुद्दा किटान गरी वा नगरी फिराद गर्न, प्रतिउत्तरपत्र दर्ता गर्न, फिराद दाबी फिर्ता गर्न, मिलापत्र गर्न वा अन्य कानूनी काम कारबाहीका लागि वारिसनामाको कागज लेखी कुनै व्यक्तिलाई अधिकृत वारिस नियुक्त गर्न सक्नेछ ।
 (२) उपदफा (१) बमोजिम कुनै मुद्दा किटान नगरी सामान्य रूपमा अधिकृत वारिस नियुक्त गर्नु परेमा नेपालभित्र भए कुनै जिल्ला अदालतको न्यायाधीश र नेपाल बाहिर भए कुनै नेपाली राजदूत वा महावाणिज्यदूतको रोहबरमा वारिस नियुक्ति गर्ने व्यक्तिले वारिसनामामा सहीछाप गरी सो वारिसनामा निजबाट प्रमाणित गराउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम वारिसनामा प्रमाणित गराउन चाहनेले वारिसनामाको कागजमा आफ्नो र वारिस नियुक्त हुने व्यक्तिको फोटो टाँसी वारिस लिने दिने दुवैको नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रतिलिपि जिल्ला न्यायाधीश वा नेपाली राजदूताबास वा महावाणिज्य दूताबास समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम वारिसनामा प्रमाणित गर्दा पाँच सय रुपैयाँ दस्तुर लाग्नेछ । 
(५) यस दफा बमोजम अधिकृत वारिस नियुक्त भएको व्यक्ति मुद्दाको कारबाही, सुनुवाई र किनारा हुँदा अदालतमा उपस्थित हुन वा त्यस्तो प्रयोजनका लागि निजले अर्को व्यक्तिलाई वारिस नियुक्त गर्न सक्नेछ ।
१५४. अधिकृत वारिस मार्फत अचल सम्पत्तिको हक हस्तान्तरण गर्न सक्ने  :- (१) आफ्नो हक र स्वामित्वको कुनै अचल सम्पत्ति किटान गरी बिक्री वितरण वा सट्टापट्टा गर्न वा हालैको बकसपत्र गरिदिने वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्ने वा कानून बमोजिम रजिष्ट्रेशन गर्नु पर्ने लिखत पारित गराउन कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिले आफु उपस्थित हुन नसक्ने मनासिब कारण खुलाई वारिसनामाद्वारा अधिकृत वारिस नियुक्त गरी त्यस्तो सम्पत्ति बिक्री वितरण वा सट्टापट्टा गर्न वा हालैको बकसपत्र वा अन्य कुनै किसिमबाट हक हस्तान्तरण गर्न वा कुनै किसिमको लिखत रजिष्ट्रेशन पारित गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अधिकृत वारिस नियुक्त गर्दा दफा १५३ को उपदफा (२) र (३) बमोजिमको कार्यविधि पूरा गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम अधिकृत वारिस नियुक्त भएको व्यक्तिले वारिस नियुक्त गर्ने व्यक्तिको तर्फबाट निजलाई दिएको वारिसनामाको शर्तको अधीनमा रही आवश्यक कार्य गर्न सक्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अधिकृत वारिस नियुक्त गरी शेषपछिको बकसपत्र गर्न सकिने छैन ।
(५) यस दफा बमोजिमको अख्तियारनामा प्रमाणित गर्दा तीन पुस्ताको नाताभित्र भएमा दफा १५३ को उपदफा (४) बमोजिम र सो बाहेक अरुलाई सम्पत्ति बिक्री गर्ने वा हक छाडी दिने गरी गरिएको 
वारिसनामा प्रमाणित गर्दा पाँच हजार रुपैयाँ दस्तुर लाग्नेछ ।
१५५. अधिकृत वारिसको हैसियत अन्त्य हुने :- (१) देहायका कुनै अवस्थामा यस परिच्छेद बमोजिमको अधिकृत वारिसको हैसियत स्वतः अन्त्य हुनेछ :-
(क) कुनै निश्चित काम, प्रयोजन र समयावधि किटान गरी दिएको अधिकृत वारिस त्यस्तो काम, प्रयोजन वा अवधि समाप्त वा भुक्तान भएमा,
(ख) कुनै खास घटना वा अवस्था पूरा भएपछि वा त्यस्तो घटना वा अवस्था अन्त्य भएपछि कायम नरहने गरी दिएको अधिकृत वारिस त्यस्तो अवस्था पूरा भएमा वा नरहेमा,
(ग) वारिस नियुक्त गर्ने व्यक्तिले राष्ट्रिय स्तरका कुनै दुई दैनिक समाचारपत्रमा सूचना प्रकाशन गरी वारिस बदर गरेमा,
(घ) वारिसनामा बमोजिमको काम पूरा हुनु अघि नै वारिस दिने वा वारिस लिने व्यक्तिको मृत्यु भएमा,
(ङ) वारिस मार्फत्हक हस्तान्तरण वा सट्टापट्टा गर्ने भनिएको सम्पत्ति सम्बन्धित व्यक्ति नै आफैँ उपस्थित भई हस्तान्तरण वा सट्टापट्टा गरेमा,
(च) वारिसनामा बमोजिमको सम्पत्तिका सम्बन्धमा वारिस नियुक्त गर्ने र वारिस हुने वा निजको एकासगोलको व्यक्ति बीच अदालतमा मुद्दा परेमा,
(छ) अधिकृत वारिसनामा दिने र लिने व्यक्ति बीच अदालतमा कुनै मुद्दा परेमा, 
(ज) अधिकृत वारिस हुने व्यक्तिले त्यस्तो हैसियतमा काम गर्न अनिच्छा प्रकट गरी वारिस नियुक्ति गर्ने व्यक्तिलाई अधिकृत वारिसनामाको सक्कल प्रति सहित लिखित जानकारी दिएमा । 
(२) यस परिच्देछमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता प्रारम्भ हुनु अघि नै तत्काल प्रचलित कानूनको रित पुर्‍याई प्रमाणित भइसकेको अधिकृत वारिसनामालाई यस परिच्छेदका कुनै कुराले असर पारेको मानिने छैन ।

स्रोत : नेपाल कानुन आयोग बाँकी अर्काे हप्ता..........

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।