पोखरा ।
पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना अन्तर्गत पश्चिम खण्डको पोखरा २६ स्थित विजयपुर खोलामा पुल निर्माण कार्यलाई तिब्रता दिइएको छ। निर्माणाधीन पुलको भौतिक प्रगति ७० प्रतिशत भन्दा बढि पुगेको छ ।
सडक योजना पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार आगामी २ महिनाभित्र पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको छ ।
हाल पुलमा ‘गिर्डर लन्चिङ’ कार्य भइरहेको छ । गएको शनिबार देखि आजसम्म १० वटा गिर्डर लन्चिङ भइसकेको उनले जानकारी दिए। अब ५ वटा गिर्डर लञ्चिङ गर्न बाँकी रहेको प्रमुख कुँवरले बताए । गिर्डर लन्चिङपछि पुलको स्लाब र दुवैतर्फको सडक ढलान हुनेछ। बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक बन्द गरेर ‘गिर्डर लन्चिङ’ को काम गरिएको हो । ‘गिर्डर लन्चिङ’ को काम शनिबार सकिने बताइएको छ ।
एसियाली विकास बैंकको सहयोगमा चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पृथ्वी राजमार्गको मुग्लिन देखि पोखरा सम्मको सडक २ खण्डमा विभाजन गरेर विस्तार एवं स्तरोन्नतिको काम भइरहेको छ ।
आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) मा ११ पुल बनिसकेका छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला १, फेदीखोला २, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो ।
पश्चिम खण्डमा विजयपुर खोला र सेती नदी पुल गरी २ वटा पुल निर्माणको चरणमा छन् ।