आयुर्वेदिक औषधी विदेश निर्यात गर्न मिल्ने मापदण्ड स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधी तथा परम्परागत चिकित्सा  उत्पादनलाई निर्यात गर्न मिल्ने गरी मापदण्ड स्वीकृत गरेका छन् ।


विभिन्न कम्पनीहरुले आयुर्वेदिकसहितका परम्परागत चिकित्सा प्रणालीका औषधी उत्पादन गर्दै आएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र दिने अभ्यास थिएन ।


औषधी विदेश निर्यात गर्न अति आवश्यक मानिने कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्ड प्रमाण आवश्यक भए पनि नेपालमा हालसम्म यो दिने गरिएको छैन ।
यस समस्यालाई सम्बोधन गर्न मन्त्री पौडेलले औषधी उत्पादन कुशल अभ्यास दोश्रो संहिता स्वीकृत गरेका हुन्। यसका लागि उत्पादकले पूरा गर्नुपर्ने प्रक्रिया, भण्डारण, आधुनिक विधि लगायत समग्र विषयको मापदण्ड पालना गर्नुपर्नेछ ।


संहिता अन्र्तगतको मापदण्ड पालना भएमा नेपाली आयुर्वेदसहितका परम्परागत उत्पादकले औषधी व्यवस्था विभागबाट निर्यातका लागि आवश्यक पर्ने जिएमपी मापदण्डको प्रमाण प्राप्त गर्नेछन् । यसले नेपाली आर्युर्वेद, होमियोप्याथीसहितका औषधी उत्पादनमा संलग्नलाई आफ्ना स्तरीय उत्पादनको निर्यातबाट लाभ लिने बाटो खुला भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।


हाल एलोप्याथिक औषधीले यस्तो प्रमाण पाए पनि परम्परागत औषधीले नपाउँदा वैधानिक निर्यात गर्न सकेका थिएनन् । अब यो समस्या हट्नेछ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।