अमरसिद्धले मनायो ७१ औँ वार्षिकोत्सव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा  

पोखरा ३१ पचभैया स्थित अमरसिद्ध नमुना माध्यमिक विद्यालयको ७१ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारामणि घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिक्षकहरूले पुरानो सोच र शैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याए।उनले विद्यालयप्रति अभिभावकको विश्वास अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। 

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर भुजेलले विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक प्रगतिसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गरे । 

कार्यक्रममा अभिभावक, चन्दादाता, स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने शिक्षकहरू निलकण्ठ पाण्डेय, जुनादेवी वास्तोला तथा कर्मचारी बुद्धि गुरुङलाई सम्मान सहित पुरस्कृत गरिएको थियो।

विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो। साथै विद्यालयमा लामो समयसम्म साविक उच्च माध्यमिक तहमा अध्यापन गराउँदै आउनुभएका पूर्व शिक्षक तथा हाल त्रिवेणी इन्टरनेशनल कलेज, तालचोकका क्याम्पस प्रमुख डिल्लीराम पौडेललाई सम्मान तथा विदाइ गरिएको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।