गोरखा, ४ साउन । गोरखाको भीमसेनथापा गाउँपालिकाले अपागंता भएका व्यक्तिको जीविकोपार्जनमा सहयोग पुर्याउन अनुदानमा उन्नतजातका बाख्रा र मौरीसहितको घार वितरण गरेको छ । गाउँपालिकाले अपांगता भएका व्यक्तिको सशक्तिकरण एवं जीविकोपार्जन सहयोग कार्यक्रम अन्तरगत १६ जनालाई अनुदान सहयोग उपलव्ध गराएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
‘‘आवश्यकताका आधारमा अनुदान सहयोगका लागि निवेदन पेश गर्न माग गरिएको थियो, उनले भने, ‘‘मागका आधारमा ९ जना अपांगता भएका व्यक्तिलाई बाख्रा, ४ जनालाई मौरीको घार, १ जनालाई काठ चिर्ने मेसिन, १ जनालाई सिलाई मेसिन र १ जनालाई ‘ड्राइपट’ उपलब्ध गराइएको हो ।’’
आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका लक्षित वर्गलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने उद्देश्यसहित अनुदान सहयोग कार्यक्रम सञ्चालन गरिएको हो । ‘‘ कार्यक्रमबाट अपाङ्गता भएका व्यक्ति र उनिहरुका परिवारलाई आत्मनिर्भर बनाउदै लैजान सकिन्छ, उहाँले भन्नुभयो, ‘‘यसबाट उनीहरूको आर्थिक गतिविधि बढ्नेछ भने समाजमा स्वाभिमानका साथ बाँच्न सहयोग पुग्नेछ ।”
कार्यक्रम अन्तर्गत वितरण गरिएका बाख्रा तथा अन्य आयमूलक सामग्रीले लक्षित वर्गलाई तत्काल आयआर्जन गर्न र दीर्घकालीन रूपमा आफ्नै व्यवसायमा स्थापित हुन पनि सहयोग पुग्ने अध्यक्ष बन्जराको भनाई छ ।