पाेखरा ।
पोखरा महानगरपालिका–३२, स्थित ब्रह्मरुपा माध्यमिक विद्यालयको ४६औँ वार्षिकोत्सव, ६५औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शुक्रबार विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले प्रविधिमा आधारित सीपमूलक शिक्षामार्फत रोजगार सिर्जना गर्नु आजको आवश्यकता भएको बताए। उनले विश्वविद्यालय र विद्यालयबीच सहकार्य गर्दै नयाँ प्रविधि, व्यापार, व्यवसाय, कृषि र नवप्रवर्तनमा अघि बढ्न आग्रह गरे। समुदायको माध्यमबाट शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य बढाउनु गुणस्तरीय शिक्षाको आधार भएको उनको भनाइ थियो। नेपालमै टिक्ने र टिकाउने रोजगारमुखी प्राविधिक, नागरिक तथा संगीत शिक्षामा जोड दिँदै बालबालिकाको चाहना र आकांक्षाअनुसारको शिक्षा नै गुणस्तरीय शिक्षा भएको उनले उल्लेख गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश वाग्लेले विद्यालय संस्कारको मन्दिर, चरित्र निर्माणको पाठशाला र सपनाहरू उडान भर्ने थलो भएको बताए। सीमित स्रोत र साधनका बाबजुद धैर्य र मेहनतका साथ विद्यार्थीलाई उज्यालो भविष्यतर्फ अघि बढाउन विद्यालय निरन्तर क्रियाशील रहेको उनले स्पष्ट पारे। शिक्षालाई व्यवस्थित र गुणस्तरीय बनाउने अभियानमा सबैको साथ र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।
त्यसैगरी विद्यालय शिक्षक–अभिभावक संघका अध्यक्ष भोजराज खनालले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै ब्रह्मरुपा माध्यमिक विद्यालयको शैक्षिक यात्राले अझ नयाँ उचाइ प्राप्त गरोस् भन्ने कामना गरे।
कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष दुर्गालाल पण्डित, टिकाराम पगेनी, वरिष्ठ शिक्षा अधिकृत बद्री सुवेदी, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. प्रेमराज पगेनी, अक्षय कोषदाता जगन्नाथ अधिकारी, नेदरल्याण्ड निवासी ह्यारी एण्ड क्यारी, विद्यालयकी छात्रा लक्ष्मी सुनारलगायतले विद्यालयको शैक्षिक प्रगतिका विषयमा धारणा राखेका थिए।
विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले विद्यालयको प्रगति विवरण तथा भावी योजना प्रस्तुत गरेका थिए भने शैक्षिक सत्रका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।
साथै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्याउने पूर्व शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समिति पदाधिकारी, अभिभावक तथा विद्यार्थीलाई सम्मान गरिएको थियो।
कार्यक्रमका अवसरमा विभिन्न छात्रवृत्ति तथा पुरस्कार— बम हिरा छात्रवृत्ति, विचित्र मोहन स्मृति छात्रवृत्ति, चिरञ्जीवी घिमिरे स्मृति शिक्षा सम्मान, हरिप्रसाद पंगेनी पुरस्कार, लोकनाथ न्यौपाने स्मृति छात्रवृत्ति, गंगाप्रसाद राजभण्डारी स्मृति पुरस्कार, कविराज खनाल कम्प्युटर पुरस्कार, वाटिका अवार्डलगायत प्रदान गरिएको थियो।
२०१८ सालमा स्थापना भएको यस विद्यालयमा हाल ८ सयभन्दा बढी विद्यार्थी तथा ४९ जना शिक्षक–कर्मचारी कार्यरत छन्।
विद्यालयमा कक्षा ६ देखि १० सम्म अंग्रेजी तथा नेपाली माध्यममा अध्ययन अध्यापन हुँदै आएको छ भने प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ अन्तर्गत कक्षा ९ देखि १२ सम्म पठनपाठन भइरहेको छ।
कार्यक्रमको सञ्चालन शिक्षकद्वय विश्वमोहन पौडेल र विष्णु तिमल्सिना तिवारीले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम, पीटी प्रदर्शन प्रस्तुत गर्नुका साथै प्राविधिक धारतर्फका विद्यार्थीहरूले रोबोटिक्स तथा विज्ञान प्रदर्शनीसमेत गरेका थिए।