छैटौं कोल्मा क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ गते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 स्याङ्जा  

कोल्मामा प्रत्येक वर्ष आयोजना हुने क्रस कन्ट्री दौड प्रतियोगिताको छैटौं संस्करण पुस ८ गते हुने भएको छ ।आयोजक सात सय कोल्मा बाहकोट सम्पर्क मञ्चले मंगलबार पत्रकार सम्मेलन गरि यस बर्ष ६ वटा विद्यामा दौड प्रतियोगिता गरिने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष सुवेदार मेजर दुतप्रसाद गुरुङ्गले आगामी पुष ८ गते कोल्मा बराहचौरमा प्रतियोगिता आयोजना गरिने जानकारी दिए। 

२५ किलोमिटर दूरीको दौड प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेलाई क्रमस ५०, ४० र ३० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। यो विद्याको दौड प्रतियोगिता सहभागि भएका स्थानीय धावकहरु मध्ये उत्कृष्ट एक जनालाई नगद पाँच हजार प्रोत्साहन पुरस्कार समेत प्रदान गरिने गुरुङ्गले जानकारी दिए। 

अध्यक्ष्य गुरुङका अनुसार देशभरबाट सहभागि हुने धावकहरुलाई स्याङ्गजा र तनहुँका काउँले डाँडा स्वारा, नाम्चे, काल्खु, खल्लुबोट, विसौना, खुदी, मड्किना लगायतका गाउँहरु समेटीने गरि दौडाइने छ। 

यस्तै १० किलोमिटरको दुरीमा पुरुष महिलाको छुट्टाछुट्टै  दौड प्रतियोगिता हुनेछ । १० किलोमिटर दुरीमा प्रथम, द्धितीय र तृतीय हुनेले २० हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै विद्यार्थीहरुलाई लक्षित गरि मावि तहमा अध्ययन गर्ने छात्र र छात्रालाई छुट्टाछुट्टै समुहमा सहभागि गराई दौडाइने छ । यो दुरीमा प्रथम द्धितीय र तृतीय हुनेले क्रमस: ८ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा यस बर्ष ३० वर्षमाथिका महिलालाई परम्परागत पोशाक लुङ्गी सहित दौडमा सहभागि गराइने भएको छ । स्थानीय महिलाहरु सहभागि हुने गरि रन फर फन विधामा प्रतिष्पर्धा गराइने आयोजकले जनाएको छ । यो विधामा प्रथम, द्धितीय र तृतीय हुनेहरुले क्रमस ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सुवेदार मेजर जितबहादुर गुरुङ्गले क्रसकन्ट्रि दौडकै कारण कोल्मामा उल्लेख्य विकास हुन थालेको बताए। 

प्रतियोगितासँगै कोल्माबाट देखिने प्राकृतिक दृश्य र सांस्कृतिक प्रदर्शनले पछिल्लो समय पर्यटकहरुको आकर्षण बढ्न थालेको उनको भनाई छ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।