गगनकालिका सहकारीकाे स्थापना दिवसमा रक्तदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लेखनाथ । गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं स्थापना दिवसका अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सोमबार आयोजित कार्यक्रममा ४२ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन्।

पोखरा महानगरपालिका वडा नं. ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जस्तो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताए। उनले सहकारीले सामाजिक उत्तरदायित्वमा देखाएको सक्रियताकाे प्रशंसा गरे।

संस्थाका अध्यक्ष किसान परियारले गगनकालिका सहकारीले पोखरा महानगरपालिका वडा नं. २९, ३०, ३१, ३२ र ३३ मा सेवा क्षेत्र विस्तार गरी वित्तीय पहुँच पुर्‍याउँदै आएको जानकारी दिए। कार्यक्रममा संस्थाका संस्थापक सचिव एवं पूर्व अध्यक्ष मेघराज पौडेलले स्थापना कालदेखि हालसम्मका उपलब्धिहरूको विवरण प्रस्तुत गरे।

कार्यक्रम सञ्चालन सचिव गीता थापाले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष कमलबहादुर पुनले राखेका थिए। सदस्य मनमाया पुनले सहकारीका सिद्धान्त वाचन गरेकी थिइन्।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली, संघका सदस्य भरत थापा, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, पूर्व रक्तदाता मोहनकुमार प्रधान, गगन महिला विकास सहकारी संस्थाकी अध्यक्ष निशा पौडेल, गगनगौंडा बचत तथा ऋण सहकारीका अध्यक्ष बसन्तराज पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

हाल गगनकालिका सहकारीमा कुल ७४० जना शेयर सदस्य रहेका छन्। सहकारीको शेयर पुँजी ४ करोड २६ लाख रुपैयाँ पुगेको छ भने कुल कारोबार १५ करोड रुपैयाँभन्दा बढी रहेको छ।

स्थापना दिवसको अवसरमा आयोजित यो रक्तदान कार्यक्रमले सहकारी क्षेत्रको सामाजिक भूमिकालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।