पोखरा ।
लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता २१औँ लेखनाथ महोत्सव आयोजना गर्ने भएको छ। महोत्सव पुस ३ देखि १४ गतेसम्म पोखरा–२७, तालचोकमा सञ्चालन हुनेछ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीले महोत्सवको उद्देश्य लेखनाथ क्षेत्रको पहिचान, स्थानीय उत्पादनको प्रवर्द्धन, महिला उद्यमी र कृषि सामग्रीको प्रदर्शन एवं बिक्री गर्न रहेको बताए।
आयोजकका अनुसार यस वर्ष करिब ३३५ स्टल रहनेछन् र करिब २ लाख ५० हजारभन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ। आर्थिक कारोबारको लक्ष्य करिब ९ करोड रुपैयाँ राखिएको छ।
महोत्सवमा औद्योगिक र व्यापार मेला, हस्तकलाका सामान, खाद्यान्न, फर्निचर, शिक्षा, स्वास्थ्य, खेलकुद, फुड फेस्टिवल, अटोमोवाइल, फेशन, पर्यटन प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम, पप कन्सर्ट, लोकदोहोरी तथा हास्यव्याङ्य स्टेज सो, महिला विशेष कार्यक्रम र बाल उद्यान लगायतका आकर्षक कार्यक्रम हुनेछन्।
प्रवेश शुल्क विद्यार्थीका लागि रु ५०, सर्वसाधारणका लागि रु १०० र बेलुका पप कन्सर्ट/सुगम सङ्गीतका लागि रु २०० तोकिएको छ। महोत्सवको बचत रकम नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माण र सामाजिक उत्तरदायित्वमा खर्च गरिने आयोजकले जानकारी दिएका छन्।